काठमाडौं- अमेरिकासहित पश्चिमा मुलुकलाई लल्कार्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई कब्जामा लिएका छन्।
त्यससम्बन्धी दस्तावेजमा उनले शुक्रबार हस्ताक्षर गरेका हुन्। त्यससम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले युक्रेनका चार क्षेत्रलाई औपचारिक रूपमा रुसमा गाभ्ने प्रक्रिया शुरु भएको बताए।
यसअघि सन् २०१४ मा पुटिनले यसरी नै युक्रेनको क्रिमियालाई कब्जामा लिएका थिए। शुक्रबार आयोजित समारोहमा ती क्षेत्रलाई रुसमा गाभ्ने तिनै क्षेत्रका बासिन्दाको इच्छा भएको दाबी गरे।
युक्रेनका दोनेत्स्क, लुहान्स्क, खेरसोन र जेपोर्जिया इलाकालाई पुटिनले रुसमा गाभिएको घोषणा गरेका हुन्।
तर, उनको घोषणालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले अवैध बताएका छन्। पुटिनले भने युक्रेनलाई सैन्य अभियान रोकेर वार्तामा आउन आग्रह गरेका छन्। रुसमा गाभिएका इलाकाहरूको बारेमा भने वार्ता नहुने उनको भनाइ छ।
युक्रेनले रुसले कब्जामा लिएका इलाकालाई मुक्त गराउन संघर्ष जारी रहने बताएको छ। पुटिनले ती इलाकाको रक्षा गर्न सुरक्षास्थिति अझ मजबुत बनाउने बताएका छन्।
आफ्नो मुलुकका चारवटा क्षेत्रलाई रुसमा गाभिएको घोषणालगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोको सदस्यता तत्काल दिन आग्रह गरेका छन्। त्यसलगत्तै जारी गरेको सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले पहिले नै नेटो गठबन्धनका मानकमा आफ्नो अनुकुलता सावित गरिसकेको छ। हामी नेटोको सदस्यता शीघ्र प्राप्त गर्ने निवेदनमा हस्ताक्षर गर्ने निर्णय गर्दैछौं।’
गत फेब्रुअरीदेखि युक्रेनका ती इलाका आफूमा गाभ्न रुसी राष्ट्रपति पुटिनले अत्याचारपूर्ण युद्ध शुरु गरेका थिए। त्यसअघि युक्रेनलाई नेटोमा सामेल हुने प्रक्रिया रोक्न आग्रह गरेका थिए। नेटो अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो।