काठमाडौं- आज १८ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९३४- सोभियत संघ लिग अफ नेसन्समा सम्मिलित
तत्कालीन सोभियत संघ आजकै दिन लिग अफ नेसन्समा सहभागी भएको थियो। फिनल्यान्डमाथि हस्तक्षेपको केही वर्षपछि सोभियत संघले लिग अफ नेसन्समा सहभागी हुने निर्णय गरेको थियो।
– सन् १९५९- भान्गार्ड-३ पृथ्वीको कक्षमा प्रक्षेपित
आजकै दिन जियो सेन्ट्रिक स्याटेलाइट भान्गार्ड-३ लाई पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको थियो। यसको निर्माण ग्लेन एल. मार्टिन कम्पनीले गरेको थियो। यस कम्पनीलाई लकहिड-मार्टिन नामले पनि चिनिन्छ।
– सन् १९६१- राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डको निधन
संयुक्त राष्ट्रसंघका दोस्रो महासचिव ड्याग ह्यामरसोल्डको आजकै दिन निधन भएको थियो। अप्रिल १९५३ मा ४७ वर्षको उमेरमा उनी राष्ट्रसंघको महासचिव बनेका थिए। १९ जुलाई १९०५ मा जन्मेका उनको हालको जाम्बियामा पर्ने नर्दन रोडेसियामा भएको जहाज दुर्घटनामा निधन भएको हो। उनी युद्धग्रस्त कंगोको युद्धविराम अनुगमनका लागि त्यहाँ पुगेका थिए। उनी स्विडेनका कूटनीतिज्ञ, अर्थशास्त्री र लेखक थिए।
– सन् १९७३- तत्कालीन पश्चिम जर्मनीले अनुसरण गर्यो डच मार्क
तत्कालीन पश्चिम जर्मनीको यो निर्णयबाट तत्कालीन पूर्वी जर्मनीको मार्क प्रतिस्थापन भएको थियो। यसबाट पश्चिम र पूर्वी जर्मनीबीच आर्थिक पुनर्मिलनका लागि मार्ग प्रशस्त भएको थियो।
– सन् १९७६- फुटबलर रोनाल्डोको जन्मदिन
विश्व विख्यात ब्राजिली फुटबलर रोनाल्डोको जन्मदिन हो आज। उनको खास नाम रोनाल्डो लुइस नाजारियो डे लिमा हो। हाल उनी ब्राजिलका व्यवसायी पनि हुन्। सेगुन्डा डिभिजन क्लबका अध्यक्ष छन् अहिले। उनलाई सदाबहार महान खेलाडीको उपमा दिइएको छ।
– सन् १९९८- आईसीएएनएनको स्थापना
‘इन्टरनेट कर्पोरेसन फर असाइन्स नेम्स एन्ड नम्बर्स (आईसीएएनएन)’ को स्थापना आजकै दिन भएको हो। लेखिका एस्थर डायसन यस गैर-नाफामुलक संगठनको पहिलो अध्यक्ष थिइन्। यो संगठन शुरुमा अमेरिकी वाणिज्य विभागको निगरानीमा थियो। सन् २००९ मा वाणिज्य विभागले संगठनमाथि आफ्नो नियन्त्रण छाडिदियो। इन्टरनेटमा डोमेन नाम प्रणाली शुरु गराउनमा यो संगठनको मुख्य भूमिका छ।
– सन् २०१५- २३८ रोजगारीमा २३ लाखको आवेदन
भारतको उत्तरप्रदेश राज्यमा आजकै दिन बेरोजगारीको एक अनौठो घटना सार्वजनिक भएको थियो। स-साना सरकारी नोकरीका लागि खुलाइएको २३८ पदको भ्याकेन्सीमा २३ लाख जनाले आवेदन दिएका थिए।
– सन् २०२०- साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
साउदी अरेबियाको मरुभूमिमा १ लाख २० हजार वर्षअघि मानिसको बसोबास रहेको प्रमाण वैज्ञानिकहरूले संकलन गरेका थिए। नेफुद नामक मरुभूमि इलाकामा फेला परेको मानव जीवाश्मको खुट्टाको निशानबाट उक्त तथ्य पुष्टि भएको थियो। त्यही नै त्यस क्षेत्रमा मानव उपस्थितिको सबैभन्दा पुरानो प्रमाण हो।
– सन् २०२४- वाकीटकी बम विष्फोटमा मारिए २०
सन् २०२४ मा आजकै दिन लेबनानमा सशस्त्र समूहले हिजबुल्लाहले वाकीटकीमा जडित बम विष्फोट गराएको थियो। त्यसमा परी २० जनाको ज्यान गएको थियो भने अन्य ४५० भन्दा बढी घाइते भएका थिए। त्यसविरुद्ध इजरायली रक्षा मन्त्रीले युद्धको नयाँ चरण शुरु भएको घोषणा गरेका थिए।