चितवन- पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका थिए ।
मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।
सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभिरको सडक दुईतर्फी रुपमा खुलेपछि सेवा दिन सहज भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदैआएको थिएँ ।” थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्काे माइक्रोबसमा राखेर काठमाडौँसम्म यात्रु पु¥याउने कार्य गर्दैआउनुभएको थियो ।
काठमाडौँबाट नारायणगढ आइपुग्नुभएका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गर्नुभयो । आफू काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उहाँले बताउनुभयो । हेटौँडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उहाँको भनाइ छ । थारुले भन्नुभयो, “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”
अर्काे ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आउनुभएको छ । भैरहवा जान आउनुभएका पठानले सडक बनेपछि सहज भएको बताउनुभयो । हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उहाँले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताउनुभयो । सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकामा उहाँले धन्यवाद दिनुभयो ।
भैरहवाबाट काठमाडौँ जाँदै गर्नुभएका बसका चालक आशिष क्षेत्री सडक बनेपछि आफूहरुलाई सहज भएको बताउनुहुन्छ । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको भन्दै उहाँले जामका कारण दुई दिन समय लागेको बताउनुभयो । हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।
उहाँले भन्नुभयो, “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।” काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो ।
पर्साको ठोरीबाट काठमाडौँ आवतजावत गर्ने बसका चालक रुपेश परियार कृष्णभिरको पहिरोपछि आफूले बस चलाउन छाडेको बताउनुहुन्छ । वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा बस थन्क्याउनुपरेको र अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो “हेटौँडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो ।”
कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताउनुभयो । आज बिहानदेखि सहज रुपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उहाँले जानकारी दिनुभयो ।
कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो । नियमित रुपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् ।