कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट चरेस सहित विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी डोकेबजारबाट खटिएको पाँच जनाको पैदल गस्ती टोलीले भदौ २८ गते साँझ करिब ४ः३० बजे सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा एउटा झोला फेला पारेको थियो।
शङ्का लागेर झोला चेकजाँच गर्दा चाउचाउको कार्टुनभित्र लुकाएर राखिएको चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको शुद्ध तौल ३ किलो ८५० ग्राम रहेको छ।
झोलाभित्र ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय आधार कार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सोही राज्यको सवारी साधन दर्ता प्रमाणपत्र तथा नेपाली सिमकार्ड लगायतका सामग्रीसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद पदार्थ तथा अन्य सामग्री आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी पचगडियामा बुझाइएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद पदार्थको थप परीक्षणलगायत विषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियाले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी रमेश कुमार पाण्डेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
