काठमाडौं- झापाका चारजना नेता अहिले केन्द्रीय राजनीतिमा छन्। उनीहरूको कार्यशैली फरक–फरक छ। तर, उपचारको सन्दर्भमा दुईजनाले सरकारी अस्पताललाई रोजेका छन् भने दुईजनाले निजीलाई।
प्रधानमन्त्री रहेकै समयमा एमाले अध्यक्ष केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण भयो। उनले सुविधासम्पन्न निजी अस्पताल रोजेनन्। त्रिवि शिक्षण अस्पतालमा जीवनकै कठिन शल्यक्रिया गराए। २१ फागुन ०७६ मा त्रिवि शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
उनको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीसहितको टोलीले गरेको थियो। उनी प्रधानमन्त्रीका रूपमा जुनसुकै मुलुकका सुविधासम्पन्न अस्पतालमा जान सक्थे। तर, ओलीले त्यसो गरेनन्। उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका तीनजना भारतीय चिकित्सक पनि दोस्रो प्रत्यारोपणका लागि काठमाडौं आएका थिए।
उनी त्यसअघि ‘प्लाज्माफेरेसिस’ गरिएको सिंगापुरको अस्पताल गएर पनि मिर्गौला प्रत्यारोपण गराउन सक्थे। तर, उनले त्यसो गरेनन्, त्रिवि शिक्षण अस्पतालमै उनको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरियो। र, उनी तन्दुरुस्त भएर अहिले राजनीतिमा सक्रिय छन्।
पछिल्लो समय कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको मिर्गौलामा पत्थरी देखियो। शर्माले पनि विदेशका अस्पताल र महँगो उपचार पद्दतितिर रुचि देखाएनन्। त्रिवि शिक्षण अस्पतालमै २६ भदौमा उनको मिर्गौलाबाट १५ एमएमको पत्थरी शल्यक्रियामार्फत सफलतापूर्वक निकालियो।
संयोगवस, एमाले अध्यक्ष ओलीकै मिर्गौला प्रत्यारोपण गर्ने डा. प्रेमराज ज्ञवालीसहितका चिकित्सकको टोलीले नै कांग्रेस महामन्त्री शर्माको पत्थरीको शल्यक्रिया गरेको थियो।
झापा विद्रोहयताको लामो राजनीतिक इतिहास बनाएका एमाले अध्यक्ष ओलीले मात्र होइन, कांग्रेस महामन्त्रीका रूपमा केन्द्रीय राजनीतिको निर्णायक भूमिकामा जम्दै गरेका शर्माले पनि सरकारी अस्पताललाई नै भरोसा गरेको देखियो। भलै उनीहरूबीच वैचारिक मिलन विन्दु भेटिँदैन। शर्मा एमाले अध्यक्ष ओलीका कटु आलोचक कांग्रेस नेताका रूपमा परिचित छन्। तर, सरकारी अस्पताल रोज्ने सवालमा यी दुई नेताबीच मिलन विन्दु भेटिएको छ।
संयोगवस, कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारी अस्पताललाई भरोसा गर्न सकेनन्। उनीहरूले आफ्नो शल्यक्रियाका लागि निजी अस्पताल रोजे। कांग्रेस नेता सिटौलाको दुईपटक मुटुको शल्यक्रिया भयो। पहिलोपटक नर्भिक र दोस्रोपटक ह्याम्स अस्पतालमा।
यस्तै, राप्रपा अध्यक्ष लिङ्देनलाई गृहजिल्ला झापामै छँदा मंसिर ०७७ मा कोरोना संक्रमण भयो। उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो र मेडिसिटी अस्पतालमा भर्ना गरियो। उनी करिब १२ दिन मेडिसिटीमा बसेर स्वस्थ बने। तर, उनले पनि त्यतिबेला सरकारी अस्पताल रोजेनन्। तथापि, हेलिकोप्टर र उपचारको खर्च उनी आफैंले बेहोरे। सरकार र संसदबाट पाउने सुविधा लिएनन्।
निजी अस्पताल रोज्ने सिटौला र लिङ्देन दुवै झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका प्रत्यासी हुन्। उनीहरूबीच लामो राजनीतिक टकराव छ। खासगरी, ०४६ सालको ‘मेची काण्ड’देखि नै उनीहरूको सम्बन्ध नदीका दुई किनारझैं छ। उक्त काण्डमा शहीद राम थापाको हत्या भएको थियो। उक्त हत्याकाण्डका मुख्य नाइकेका रूपमा कांग्रेस नेता–कार्यकर्ताले लिङ्देनमाथि दोषारोपण गर्दै आएका छन्। लिङ्देनले लगातार आरोप अस्वीकार गर्दै आएका छन्। संयोगवस, दुई नेताबीच निजी अस्पतालमा उपचारको हकमा भने मिलन विन्दु भेटिएको छ।