ए हो गाउँका मान्छे हो
आज मेरो बोली भारी छ
ढोल बजाउने हातहरू
आज शोकले काँपिरहेका छन् !
Advertisement
यो बाढीले खेत मात्रै बगाएन
हाम्रो पुस्ताको पसिना बगायो
कसैकी आमा खोस्यो
कसैको बाबुको सहारा लग्यो
चौतारो रोइरहेको छ
बुढो बरको रुख निःशब्द उभिएको छ
जहाँ हाँसो गुन्जन्थ्यो साँझपख
त्यहीं आज पीडा उम्रिएको छ !
म बड्का भलमन्सा भएर पनि
सबैका आँसु रोक्न सकिनँ
गाउँको चिहान गन्दै
आकाशसँग प्रश्न गर्न सकिनँ
तर, सुन है छोराछोरी
नदीले घर बगाए पनि
हाम्रो हिम्मत नबगाओस्
हामी फेरि उठ्नेछौं
माटो समेटेर
मन जोडेर
नेपाललाई फेरि मुस्कुराउने बनाउनेछौं !