गज्जब छ संसदमा नयाँ विद्यार्थीको चाला
जे नगर भन्यो त्यही गर्छन्
जे नबोल भन्यो त्यही बोल्छन् !
मनिटरले सम्झाउँदा पनि
हामी त नयाँ विद्यार्थी हौं भन्दै
आफ्नै तालमा डुल्छन् !
शौचालय पनि आफूखुशी जान्छन्
युनिफर्म लगाउन मन लाग्दैन
कक्षामा बस्न मन लाग्दैन
मनिटरको कुरा सुन्ने त
झन् संस्कारमै छैन जस्तो छ !
हेडमास्टरले सम्झाउँदै भने-
कालो चश्मा नलगाऊ बाबु
विद्यार्थीको अनुशासन देखिनुपर्छ !
तर, विद्यार्थीको जवाफ गज्जबको-
चश्मा हाम्रो, आँखा हाम्रो
तिमीलाई के मतलब ?
हेडमास्टरले टाउको समाते !
मनिटरले हाजिरी खोजे
पुराना विद्यार्थीले किताब खोले
नयाँ विद्यार्थीले भने-
पहिले व्यवस्था बदलौं
पढाइ त पछि पनि हुन्छ !
कक्षाकोठामा पढाइ कम
तमाशा बढी हुन थाल्यो
कोही बेञ्चमाथि उभिएर भाषण गर्छन्
कोही पछाडिबाट ताली बजाउँछन्
कोही मोबाइल निकालेर
कक्षा नै लाइभ गर्छन् !
बडका भलमन्सा छेउमै बसेर
मुस्कुराउँदै भने-
हेडमास्टर साहेब
यी नयाँ विद्यार्थी हुन्
यिनलाई धेरै अनुशासन सिकाउन खोजे
विद्यालय नै नयाँ खोल्ने घोषणा गर्लान् !
हेडमास्टर झन् रिसाए-
विद्यालय मेरो हो कि यिनको
भलमन्साले चश्मा मिलाउँदै भने-
विद्यालय त तपाईंको होला साहेब
तर, तमाशा भने विद्यार्थीको हो
मनिटर चुप, हेडमास्टर चुप,
पुराना विद्यार्थी चुप
नयाँ विद्यार्थी
फेरि अर्को नियम बनाउन लागे !
हामीलाई जे नगर भनिन्छ
पहिले त्यही गरेर देखाउने
संसदको कक्षा चलिरह्यो
पढाइ कहाँ पुग्यो
कसैलाई थाहा भएन
तर, जनतालाई भने
खास्सा रमाइलो छ !