काठमाडौं- आज २९ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८३१- माइकल फराडेको इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन
सन् १८३१ मा आजकै दिन ब्रिटिस वैज्ञानिक माइकल फराडेले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन आविष्कार गरेका थिए। एक परिवर्तित चुम्बकीय क्षेत्रले एक कन्डक्टरमा भोल्टेज उत्पन्न गराउन सक्ने उनले प्रयोगमार्फत प्रष्ट्याएका थिए। उक्त आविष्कारबाट इलेक्ट्रिक जेनेरेटर, ट्रान्सफर्मर र इन्डक्सन चुलोसम्मको निर्माणमा मद्दत पुर्याएको छ।
– सन् १८४२- हङकङ ब्रिटेनलाई बुझाउने सन्धि
१८४ वर्षअघि सन् १८४२ मा आजकै दिन हङकङ बेलायतको जिम्मा लगाउनेसम्बन्धी सन्धि भएको थियो, जसलाई ‘ट्रिटी अफ नान्जिङ’ नाम दिइएको थियो। १ जुलाई १९९७ देखि हङकङ पुनः चीनको नियन्त्रणमा आएको हो।
– सन् १९४९- सोभियत संघको पहिलो परमाणु बम परीक्षण
सन् १९४९ मा आजकै दिन तत्कालीन सोभियत संघले पहिलोपटक परमाणु बम परीक्षण गरेको थियो। कोड नाम ‘इज्डेलिए-५०१’ रहेको उक्त बम कजाखस्तानको सेमिपलाटिन्स्कमा परीक्षण गरिएको थियो। अमेरिकाले जापानको नागासाकीमा खसालेको परमाणु बम ‘फ्याट म्यान’को प्रतिकृतिका रूपमा सोभियत संघले ‘इज्डेलिए-५०१’ तयार पारेको थियो। अमेरिकाले सोभियत संघको उक्त बमलाई ‘जो-१’ नाम दिएको थियो।
– सन् १९८२- मिटनेरियमलाई पहिलोपटक गरियो संश्लेषित
सन् १९८२ मा आजकै दिन मिटनेरियमलाई संश्लेषित गरिएको थियो। १०९ को परमाणु संख्या तथा सिम्बोल एमटीका साथ रेडियोधर्मी सिन्थेटिक तत्त्व पहिलोपटक जर्मनीको डार्मस्टेडस्थित जीएसआई हेल्महोल्ट्ज सेन्टर फर हेभी आयन रिसर्चमा बनाइएको थियो। अस्ट्रियाका भौतिकशास्त्री तथा परमाणु विखण्डनका खोजकर्ता लिसे मिटनरको नाममा राखिएको यो तत्त्व प्राकृतिक रूपमा उपलब्ध छैन। यसको खोजी पिटर आर्मब्रस्टर र गोटफ्राइड मुनजेनबर्गले गरेका हुन्।
– सन् १९८८- अन्तरिक्षमा पुग्ने पहिलो अफगानी
सन् १९८८ मा आजकै दिन अब्दुल मोहम्मदले अन्तरिक्षमा पुग्ने पहिलो अफगानी नागरिकको रेकर्ड राखेका थिए। अफगानिस्तानका एयरफोर्स पाइलट उनी तत्कालीन सोभियत संघको ‘सोयुज टीएम-६’ यानमार्फत अन्तरिक्षमा पुगेका थिए। उनले मिर अन्तरिक्ष स्टेसनमा ९ दिन बिताएका थिए।
– सन् १९९७- नेटफ्लिक्सको स्थापना
ओटीटी प्लेटफर्म नेटफ्लिक्सको स्थापना सन् १९९७ मा आजकै दिन भएको हो। अमेरिकी व्यवसायी रिट हेस्टिङ्स र मार्क रान्डोल्फले यसको स्थापना गरेका हुन्। शुरुमा यसलाई भिडियो-रेन्टल कम्पनीका रूपमा स्थापना गरिएको थियो। पछि भिडियो स्ट्रिमिङ र उत्पादनमा विस्तार गरियो। खासगरी, कोभिड-१९ महामारीपछि यसले संसारभर व्यापकता पाएको हो।
– सन् २००५- अमेरिकामा कट्रिनाले लियो १८ सयको ज्यान
सन् २००५ मा आजकै दिन अमेरिकामा आएको कट्रिना नाम दिइएको समुद्री तुफानले १ हजार ८३६ जनाको ज्यान लिएको थियो। लुजियानादेखि फ्लोरिडासम्म उक्त तुफानले विनाशलीला मच्चाएको थियो। र, १ खर्ब १५ अर्ब अमेरिकी डलरबराबरको भौतिक सम्पत्ति नष्ट गरेको थियो।
– सन् २०२२- सिया नेताले राजनीति छाड्दा ३० मारिए
सन् २०२२ मा आजकै दिन इराकी सिया नेता मुक्तादा अल-सदरले राजनीतिबाट संन्यास लिएको घोषणा गरेलगत्तै राजधानी बगदादमा हिंसा भड्किएको थियो। घटनामा ३० को मृत्यु भएको थियो भने ७०० घाइते भएका थिए।
– सन् २०२३- मानव मस्तिष्कमा भेटियो जीवित जुका
सन् २०२३ मा आजकै दिन एक बिरामी महिलाको मस्तिष्कमा जीवित जुका फेला परेको थियो। अस्ट्रेलियाको क्यानबेराकी ती महिला लामो समयदेखि बिरामी थिइन्।
– सन् २०२५- प्रहरीको गाडीले युवकलाई कुल्चिँदा इन्डोनेसियामा तनाव
सन् २०२५ मा आजकै दिन एक २१ वर्षे युवकलाई इन्डोनेसियाको राजधानी जाकार्तामा प्रहरीको भ्यानले कुल्चिएर मृत्यु भएको थियो। त्यसविरुद्ध देशभर हिंसा भड्किएको थियो। ती हिंसाहरूमा कम्तिमा ३ जना मारिएका थिए।