काठमाडौं- नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयका अनुसार भेटका क्रममा जलवायु परिवर्तन, पर्वतीय मुद्दाहरू, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, हिमनदी अनुगमन, कृषि र पुनर्निर्माणलगायतका क्षेत्रमा नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भयो।
सो अवसरमा मन्त्री चौधरीले नेपाल र पाकिस्तान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनको असर, हिमनदी र विपद् जोखिमलगायतका साझा चुनौतीहरूको सामना गर्न सूचना, तथ्याङ्क, प्रविधि र अनुभवको आदानप्रदान महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले आगामी दिनमा कृषि तथा अन्य सम्भावित क्षेत्रहरूमा द्विपक्षीय सहकार्यलाई अझ विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरिन्।
राजदूत खानले हालैका विपद्पछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक र ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए र जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान गर्न सकिने धारणा राखे।
उनले विपद्पछिको पुनर्निर्माण र जलवायु-अनुकूल प्रविधिहरूका सम्बन्धमा पाकिस्तानले गरेका प्रयास तथा अनुभवहरू नेपालसँग साटासाट गर्न तयार रहेको बताए। भेटमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा पर्वतीय मुद्दा र जलवायुसम्बन्धी विषयहरूलाई अघि बढाउन दुई देशबीच कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे पनि छलफल भयो।
राजदूत खानले नेपालमा हालै गएको विपद्प्रति पाकिस्तानी प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेको उल्लेख गर्दै पुनर्निर्माण र विपद्पछिको सहयोगमा पाकिस्तान तयार रहेको जानकारी दिए। साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार र आर्थिक सहकार्यका सम्भावनाहरूबारे पनि छलफल गरियो।