काठमाडौँ- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप रु एक/एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
महासङ्घले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्ततपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु एक लाख उपलब्ध गराउने भएको हो । पत्रकार थामीको आजै कुशको शव बनाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
यस्तै, परिवार तथा घरबाससमेत गुमाउनुभएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासङ्घका सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्याङ्क विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोहीअनुसार सहायता वितरण गरिने जनाइएको छ ।