टाढा भएकाले आमा जेलमा भेट्न आउने सम्भावना थिएन। छोरो जेलमा परेको थाहा पाएकी आमाले दशैंमा घर जाँदा भन्नुभयो, ‘तँ जेल परिस् भन्ने सुन्याथें। डराउनु हुँदैन, हिम्मत लिनुपर्छ। जेमा लागेको छस्, राम्ररी लाग्, मार्नचैं नमारे हुन्थ्यो।’
२०४३-०४४ सालतिर मेघालयबाट नेपालीहरू लखेटिए। त्यसविरुद्ध हामीले भारत सरकार र भारतीयविरुद्ध देशव्यापी आन्दोलन गर्यौं। जुलुस निकाल्यौं, भारतविरुद्ध नारा लगायौं। त्यसविरुद्ध त्रिचन्द्र कलेजमा अनेरास्ववियूले सभा आयोजना गरेको थियो। त्यही सभामा सहभागी हुन जाँदै थिएँ। एक झोला पर्चा बोकेको थिएँ।
सभामा सहभागी हुन आउनले विभिन्न कलेजका विद्यार्थीहरूलाई ती पर्चा दिनु थियो। कलेज-कलेजमा ती पर्चा पुर्याउनु थियो। त्यतिबेला म अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीमा थिएँ। त्यही भएर मलाई पर्चा सबै कलेजमा पुर्याउने जिम्मेवारी थियो।
विश्वज्योति हलतिरबाट म त्रिचन्द्र कलेज प्रवेश गर्दै थिएँ। म सुइँसुइँ हिँड्दै थिएँ। कलेजको गेटबाट भित्र पस्नै लाग्दा मलाई सादा पोशाकका व्यक्तिले समाते। मैले प्रतिकार गर्न खोजें। तर, पोशाक लगाएका सुरक्षाकर्मीले घेरा हाले। त्यसपछि मात्र थाहा भयो, सादा पोशाकका व्यक्ति पनि सुरक्षाकर्मी नै रहेछन्। शायद उनीहरूले मलाई अलि टाढैदेखि पछ्याइरहेका थिए। आफूलाई पछ्याइरहेको मलाई ध्यान थिएन।
मलाई समातेर प्रहरीको भ्यानमा राखे। त्यतिबेला विशालबजारमा प्रहरीको जनसेवा एकाइको अफिस थियो। धेरै कुट्नु पर्यो भने जनसेवा लगिन्थ्यो। त्यहाँ नलगे हुन्थ्यो भन्ने हामीलाई लाग्थ्यो। तर, यसपटक मलाई जनसेवा नै पुर्यायो। शुरुमा म एक्लै थिएँ। पछि विभिन्न ठाउँबाट समातेका अरू साथीहरूलाई पनि जनसेवामै ल्यायो। र, हामी धेरैजना भयौं। हामीलाई सामान्य कुटपिट गरी हिरासतबाट चार दिनपछि छोड्यो।
त्यही बेला झापाको माइखोलामा विद्यार्थी नेता लक्ष्मी पाण्डेको हत्या भएको थियो। शहीद पाण्डे पनि मेघालयबाट नेपालीहरू लखेटिएको विरोधमै आन्दोलनमा हुनुहुन्थ्यो। उहाँको हत्यापछि त झन् देशभर आन्दोलन चर्कियो।
शहीद लक्ष्मी पाण्डेको हत्याविरुद्ध हामी पनि आन्दोलित भयौं। त्यसक्रममा जुलुस लगाउँदा म असनबाट समातिएँ। शंकर पोखरेल, म, डा. बाबुराम भट्टराई, राजन भट्टराई, शक्ति लम्साललगायत समातिएका थियौं। त्यतिबेला पनि हामीलाई जनसेवामै लगियो।
प्रहरीको त्यस एकाइको नाम जनसेवा भए पनि काम भने मानिसलाई कुट्ने थियो। त्यहाँ प्रायः सई, इन्स्पेक्टर हुन्थे। १-२ दिन जनसेवामा राखेर हामीलाई हनुमान ढोका लगियो। हनुमान ढोकामा १५-२० दिन बस्यौं। फेरि सार्वजनिक अपराध र शान्ति सुरक्षासम्बन्धी पूर्जी थमायो। शान्ति सुरक्षाको कुरा के हुन्थ्यो भने त्यसबेला सीडीओको आदेशमा ९० दिन थुन्न पाइन्थ्यो। त्यसपछि सीडीओको आदेशबाट भद्रगोल जेलमा गयौं। यो केन्द्रीय कारागारसँग जोडिएको पल्लो जेल हो।
पहिलो जेल यात्राः हिरासतमा निर्मम कुटाइ, कारागारमा ‘मिठा खसी’को संज्ञा
भद्रगोललाई केन्द्रीय कारागारभन्दा राम्रो मानिन्थ्यो। प्रशासनको व्यवहार खुकुलो र बढी राजनीतिक व्यक्तिहरूको बसाई भएको मानिन्थ्यो भद्रगोल जेललाई। केन्द्रीय कारागारमा आपराधिक पृष्ठभूमिका मानिसलाई बढी राखिएको हुन्थ्यो। भद्रगोलमा पुग्दा पनि पहिले चिनेकै नेता थिए- केपी ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीलगायत। यसपटक भने जेल पुगेकामा केही नयाँ र अनौठो लागेन।
सीडीओले पुनः ९० दिन थुन्न पाउँथे। फेरि ९० दिन थुन्दा ६ महिना बित्थ्यो। त्यसपछि भने थुनुवा अवधि थप्न अदालत पुर्याउनुपर्थ्यो। हामीलाई ६ महिना भद्रगोल जेलमा बसेपछि हामीलाई जिल्ला अदालत लगियो। जिल्ला अदालतको रोहवरमा हामीलाई छोड्ने कागजमा साइन गरियो। तर, बाहिर निस्कनेबित्तिकै फेरि समात्यो।
एक रात फेरि हनुमान ढोकामा लगेर राख्यो। भोलिपल्ट सीडीओले पुर्जी दियो अनि भद्रगोल नै पुर्यायो। त्यतिबेला हामीलाई भद्रगोलबाट निकालेर अदालत लैजाने क्रममा लुगाकपडा लिएर आऊ भनेको थिएन। किनकि, पञ्चायती प्रशासनको योजना हामीलाई छाडेर पुनः समात्ने रहेछ। फेरि ६ महिना भद्रगोल जेलमा बसियो। यसपटक नौ महिना बसिएन, हामीलाई बीचमै छोडियो। किन छोडे भन्ने हामीले थाहा पाएनौं।
भद्रगोलमा केन्द्रीय कारागारको तुलनामा केही सुबिस्ता भए पनि बाहिरबाट किताब कसैले ल्याइदिन पाउने सम्भावना थिएन। घर टाढा भएकाले आमा भेट्न आउने सम्भावना पनि थिएन। उहाँलाई छोरो जेलमा छ भन्ने थाहा हुन्थ्यो। दशैंमा घर जाँदा आमाले भन्नुभयो, ‘तँ जेल परिस् भन्ने सुन्याथें। डराउनु हुँदैन, हिम्मत लिनुपर्छ। जेमा लागेको छस्, राम्ररी लाग्, मार्नचैं नमारे हुन्थ्यो तँलाई।’ जेलमा परेको छोरोलाई आमाले उल्टै हौसला पो दिनुभयो। किनकि, मेरो दाजु शिक्षित व्यक्तित्व हुनु हुन्थ्यो। उहाँले सबै कुरा आमालाई बुझाउनु हुन्थ्यो। त्यसैले आमाले उल्टै मलाई पञ्चायती व्यवस्थाविरुद्ध डटिरहन हौसला दिनुभयो।
बाहिरबाट पुस्तकहरू प्राप्त हुने सम्भावना नभए पनि भद्रगोल जेलमै लाइब्रेरी थियो। त्यही लाइब्रेरीमा गएर किताब पढ्दै दिन बिताउँथ्यौं। जेलमा बन्दीहरूलाई वर्षमा दुईपटक लुगा दिन्थे। रमाइलो कुरा के थियो भने त्यहीं लुगा बुन्ने, सिउने मेसिन थिए। बन्दीहरूले नै लुगा बनाउँथे। कतिपयले त्यहीं काम गर्थे। काम गरेवापत पारिश्रमिक पाउँथे। त्यतिबेला पारिश्रमिक कम थियो, अहिले बढी दिन्छन् होला। बन्दीहरूले बनाएका कपडा बन्दीलाई नै दिइन्छ। एक जनालाई कति मिटर दिने भन्ने नियम हुन्छ। प्रायः एकै खालको कपडा हुन्छ, नेपाली कपडा।
त्यसको कमिज र सुरुवाल सिलाउँथ्यौं। कपडा राम्रै हुन्थ्यो। सामान्य खालको कपडा थियो। सिलाई खर्च आफ्नै हुन्थ्यो। भित्र पसल पनि हुन्छ। मसला, चिनी किन्न पाइन्छ। धेरै तरकारी, मासु किन्न भने बाहिरबाट मगाउनुपर्थ्यो। हामी विद्यार्थी भएकाले बाहिर विद्यार्थीसँगै सम्पर्क हुन्थ्यो। साथीहरूले सातामा, दुई सातामा खानेकुरा ल्याइदिन्थे। सामान्यतया बिरामी हुँदा सामान्य औषधि जेलमै पाइन्थ्यो। तर, जाँच गर्नु परे अस्पताल लग्थ्यो। अस्पताल लैजाँदा हतकडी लगाएरै लैजान्थ्यो। धेरैजनाले सानो उमेरमा हतकडी लगाएको छ, के हो भनेर छक्क पर्थे। मोहनचन्द्र अधिकारीलाई धेरै अस्पताल लगिन्थ्यो। हामी जेलबाहिर हुँदा पनि उहाँलाई अस्पतालमा भेट्न गइरहन्थ्यौं। उहाँ धेरै रोगहरूबाट ग्रसित हुनुहुन्थ्यो। त्यसरी नै बिताइयो, दोस्रोपटकको कारावास।