१) आफू अल्गोरिदमको शिकार बन्दै गरेको पत्तो नपाउने
– रंगीचंगी, घृणा-आक्रोशयुक्त वा तमाशायुक्त भिडियोबाट तत्काल प्रभावित हुने,
– त्यस्तो भिडियो सेयर गरेर अरूलाई पनि तुरुन्त प्रभावित तुल्याउन खोज्ने,
– सबै पत्रकार नेपाली सबै नेपाली पत्रकारजस्तो तारतम्य गर्ने,
२) छिटो परिणामको अस्वस्थ अपेक्षा
– दीर्घकालीन सुधारको धैर्य नदेखाउने,
– तुरुन्त समाधान नभए प्रणाली असफल ठान्ने,
– लोकतान्त्रिक प्रक्रियाको समयलाई कमजोरी ठान्ने,
३) आफूले नजानेको विषयमा विद्वता प्रदर्शन गर्ने
– पत्रकारलाई राय दिन तम्तयार रहने,
– पत्रकार नपाए आफैं सामाजिक सञ्जालमा भिडियो जारी गर्ने,
– जे विषयमा पनि अन्टसन्ट बोलेर बाठो बन्न खोज्ने
४) निजी क्षेत्रको महत्त्वबारे वकालत गर्ने, मौका पाउँदा निर्लज्ज रूपमा लुट्न खोज्ने
– नाफा गुम्ने भएपछि मुलुकभरका पेट्रोल पम्पहरू बन्द गर्ने,
– सार्वजनिक सेवा वा सडक अवरुद्ध गरेर दबाब सिर्जना गर्ने,
– छोटो विषयमा पनि चरम आन्दोलनको रणनीति अपनाउने,
५) हिंसात्मक भाषालाई राजनीतिक अभिव्यक्ति ठान्ने
– सत्तोसराप गर्ने, पहाडमा मकैको भात खान नपाएर मधेश झरेको सम्म भन्ने,
– एउटा पार्टीबाट मन्त्री भएपछि पार्टी टुक्र्याएर मन्त्री खाने, पुनः अघिल्लै पार्टीमा फर्कने,
– महिला तुजुक देखाउने (पहिला पुरुष तुजुक देखाएर कपडा खोल्ने प्रवृत्ति पनि थियो)
६) अरूले नियम मिचेर असर परेपछि “राज्य कहाँ छ” भनी प्रश्न गर्ने
– आफूले नियम नमान्दा सामान्य मान्ने, निजी अधिकार ठान्ने,
– अर्काले उही काम गर्दा राज्यको कमजोरी खोज्ने,
– नियम पालनामा दोहोरो मापदण्ड अपनाउने,
७) अफवाहलाई संसदीय बहस बनाउने
– तथ्य जाँच नगरी संसदमा बोल्ने, आरोप लगाउने,
– डिजिटल भीडतन्त्रलाई लोकतन्त्र ठान्ने,
– सोसल मिडियालाई अन्तिम सत्य मान्ने,
८) पश्चिमा लोकतन्त्रलाई हुबहु पालना नभएकोमा चिन्ता प्रकट गर्ने
– संविधानलाई गीता, बाइबल वा कुरान जत्तिकै असंशोधनीय ठान्ने,
– लोकतन्त्रको (आफूखुशी) मापदण्ड हातमा लिएर बस्ने,
– नतिजा नचाहिने प्रकृयाको मात्र चिन्ता गर्ने
९) जे मा पनि सरकारलाई दोष दिने
– ‘म यो देशको नागरिक हुँ’ भन्ने तर ‘डन’को पारा देखाउने,
– निहुँ खोज्ने, नियम पालना गर्न नसक्ने कारण प्रस्तुत गर्ने (excuse खोज्ने), – घर, टोल, समुदायको समस्या पनि सरकारबाट मात्र समाधान हुनुपर्ने अपेक्षा गर्ने,
१०) जे मा पनि अधिकार खोज्ने
– सरकारी कार्यालयहरूमा न्यूनतम तयारी नगरी जाने र कर्मचारीलाई बित्थामा दोष थोपर्ने,
– चर्को स्वर गरेर मिडियाको ध्यान आकर्षित गर्ने,
– लाइन मिच्ने, निर्लज्ज रूपमा प्रस्तुत हुने,
११) मनपरी गर्नुलाई लोकतान्त्रिक अधिकार ठान्ने
– ट्राफिक नियम उल्लंघनलाई स्वतन्त्रता सम्झिने,
– सरकारी जग्गा हडप्नुलाई व्यक्तिगत अधिकारको रूपमा प्रस्तुत गर्ने,
– कर, दस्तुर वा प्रक्रियाबाट बच्न खोज्ने,
१२) सार्वजनिक सम्पत्तिप्रति उदासीन हुने
– सडक, पार्क, सार्वजनिक भवनलाई “सरकारको” मात्र सम्पत्ति ठान्ने,
– फोहोर व्यवस्थापनमा व्यक्तिगत जिम्मेवारी नलिने,
– सार्वजनिक पूर्वाधारको संरक्षणमा चासो नदिने,
१३) नीतिभन्दा नेता ठूलो मान्ने, देवत्वकरण गर्ने
– मतको बदलामा व्यक्तिगत सुविधा खोज्ने,
– उम्मेदवारबाट निजी काम गराउने अपेक्षा,
– निर्वाचनलाई सेवा होइन, लाभको माध्यम ठान्ने
१४) आलोचना धेरै, सहभागिता कम
– स्थानीय सभा, सार्वजनिक सुनुवाइमा सहभागी नहुने,
– स्वयंसेवा वा सामुदायिक काममा रुचि कम,
– समाधानभन्दा टिप्पणीमा बढी सक्रिय हुने,
१५) कानूनलाई सिफारिसले बदल्न खोज्ने
– व्यक्तिगत पहुँच प्रयोग गरेर नियम छल्ने,
– समान कानूनी व्यवहारलाई कमजोर बनाउने,
– संस्थागत प्रक्रियाभन्दा चिनजानमा भर पर्ने,
१६) जबर्जस्ती गर्ने, आफ्नो जिम्मेवारी अरूमाथि थोपर्ने
– परिवारको समस्या विद्यालयलाई थोपर्ने,
– विद्यालयको समस्या सरकारलाई थोपर्ने,
– समुदायको समस्या प्रशासनलाई मात्र थोपर्ने,
१७) राजनीतिक पक्षधरतालाई नै नैतिकता मान्ने
– “मेरो समूहले गरे ठीक, अरूले गरे गलत” भन्ने,
– नीतिभन्दा दलगत समर्थनलाई प्राथमिकता दिने,
– गल्तीको निष्पक्ष मूल्यांकन नगर्ने,
१८) अनुशासनलाई अधिनायकवाद ठान्ने
– कडा नियमको विरोध गर्ने,
– समय पालनलाई अनावश्यक कठोरता ठान्ने,
– संस्थागत नियन्त्रणलाई स्वतन्त्रतामाथिको आक्रमण भनेर बुझ्ने,
१९) कानूनी कारवाहीलाई ‘राजनीतिक प्रतिशोध’को बिल्ला भिराउने
– भ्रष्टाचार, तस्करी वा अपराधमा संलग्न आफ्ना नेता, कार्यकर्ता वा नातागोता पक्राउ पर्दा कानूनी राज्यको उपहास गर्दै सडक आन्दोलन गर्ने
– त्यसलाई राजनीतिक प्रतिशोधको नारा दिने,
२०) भीडतन्त्र (Mobocracy) लाई न्यायको पर्याय मान्ने
– अदालत र कानूनी प्रक्रियालाई पर्खनुको साटो सडकमै भीड जम्मा गरेर आफैं फैसला गर्ने,
– तोडफोड गर्ने र भीडको बलमा कानूनलाई हातमा लिने,
२१) सजाय र अनुशासनविहीनताको खोजी
– शिक्षण संस्था, सरकारी कार्यालय वा निजी क्षेत्रमा समेत कुनै पनि प्रकारको अनुशासन वा मर्यादामा बस्न अस्वीकार गर्ने,
– अनुशासन कायम गर्न खोज्ने निकायलाई “तानाशाह”को संज्ञा दिने,
निष्कर्ष
गौतम बुद्धलाई ‘विष के हो ?’ भनेर कुनै एउटा शिष्यले प्रश्न गर्यो। बुद्धले ‘जुन वस्तु आवश्यकताभन्दा बढी छ वा हुन्छ त्यो विष हो’ भनी जवाफ दिए। कतै यो प्रसंग हाम्रो परिवेशमा लागू हुने त होइन ? शंका पैदा भएको छ।
लोकतन्त्र आफैंमा समस्या होइन, बरु समस्याको समाधान हो। समस्या चाहीं अनियन्त्रित स्वतन्त्रता, कमजोर अनुशासन र कर्तव्यहीन अधिकार चेतना हो। अधिकार र स्वतन्त्रता जति आवश्यक छन्, त्यत्तिकै आवश्यक छन् नियम पालन, उत्तरदायित्व, अनुशासन र सार्वजनिक हितप्रतिको प्रतिबद्धता। नेपाली समाजले लोकतन्त्रलाई केवल “जे मन लाग्यो त्यही गर्ने छुट” होइन, “कानूनभित्र रहेर स्वतन्त्र रूपमा बाँच्ने प्रणाली”का रूपमा बुझ्न सके मात्र लोकतन्त्रले अपेक्षित परिणाम दिन सक्छ।