काठमाडौं- आज २५ अगस्ट। विश्व इतिहासका अनगिन्ती घटनाले संसारभर आजको दिनको सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८३५- ‘चन्द्रमामा सभ्यता’ शृंखला प्रकाशित
सन् १८३५ मा आजकै दिन ‘चन्द्रमामा सभ्यता’ शीर्षकको शृंखला प्रकाशन शुरु भएको थियो। न्युयोर्कको अखबार ‘द सन’ले आजकै दिनदेखि उक्त शृंखला प्रकाशन थालेको थियो। उक्त शृंखलाअन्तर्गत चन्द्रमामा सभ्यताको आविष्कारसम्बन्धी लेख, रचना निरन्तर प्रकाशित गरिएको थियो।
– सन् २००६- विश्वकै अग्लो रुखको खोजी
सन् २००६ मा आजकै दिन विश्वकै ज्ञात जीवित रुख फेला परेको घोषणा गरिएको थियो। अमेरिकाको क्यालिफोर्नियामा ‘हाइपिरियन’ नाम दिइएको रुख फेला परेको थियो, जसको उचाइ ११५.९२ मिटर छ। उक्त रुख रेड उड प्रजातिको हो। प्रकृतिवादी क्रिस एटकिन्स र माइकल टेलरले त्यसको खोजी गरेका थिए।
– सन् २०१२- इन्टरस्टेलर स्पेसमा प्रवेश गर्ने पहिलो अन्तरिक्ष यान
सन् २०१२ मा आजकै दिन ‘भोएजर-१’ले इन्टरस्टेलर स्पेस (बाह्य अन्तरिक्ष)मा प्रवेश गर्ने धर्तिको पहिलो अन्तरिक्ष यानको रेकर्ड राखेको थियो। उक्त यान ५ सेप्टेम्बर १९७७ मा प्रक्षेपण गरिएको थियो। त्यसको ३५ वर्षपछि हिलियोस्फियर नाघेर उक्त यान बाहिर निस्किएको थियो। हिलियोस्फियर भनेको हाम्रो सूर्यबाट प्रभावित क्षेत्र हो। ‘भोएजर-१’ले फेब्रुअरी १९९० मा हाम्रो सौर्य मण्डलको पहिलो बिहंगम तस्बिर खिची धर्तिमा पठाएको थियो। यो अन्तरिक्षमा धर्तिबाट पठाएर सबैभन्दा टाढा पुगेको यान हो।
– सन् २०१८- अफगानिस्तानमा मारिए आईएसका आतंकवादी नेता
सन् २०१८ मा आजकै दिन अफगानिस्तानमा अन्तर्राष्ट्रीय आतंकवादी सञ्जाल इस्लामिक स्टेट (आईएस)का नेता अबु साद मारिएका थिए। नानगरहार प्रान्तमा भएको हवाई सैन्य कारवाहीमा सादसहित १० जना आतंकवादी मारिएका थिए।
– सन् २०२४- सुडानको त्यो विनाशकारी बाढी
सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक सुडानमा मुसलधारे वर्षापछि विनाशकारी बाढी आएको थियो। बाढीले बगाएका ३० जनाको मात्र शव फेला पर्यो, अन्य सयौंको शव कहिल्यै फेला परेन। खासगरी, सुडानको उत्तर-पश्चिमी रेड सी राज्यस्थित अर्बाट बाँध भत्किएपछि सबैभन्दा बढी विनाश भएको थियो।
– सन् २०२५- सरकार-विपक्षी भिडन्तमा भत्कियो म्यानमारको पुल
सन् २०२५ मा आजकै दिन सरकारी सेना र सैन्य शासनविरोधी समूहबीच भएको भिडन्तमा म्यानमारको ऐतिहासिक पुल भत्किएको थियो। दुई पक्षबीचको गोली हानाहान र विष्फोटक पदार्थ फालाफालका क्रममा उक्त पुल भत्किएको थियो। पुल भत्किनुमा दुवै पक्षले एकअर्कालाई दोष दिएका थिए।
– सन् २०२५- एरिजोनामा ‘जिरो भिजिबिलिटी’
सन् २०२५ मा आजकै दिन अमेरिकाको एरिजोना राज्यस्थित फोनिक्समा हबुब नाम दिइएको आँधीले मरुभूमिको धुलो फैलाउँदा शून्य भिजिबिलिटीको समस्या निम्त्याएको थियो। त्यसका कारण अन्य नोक्सानीभन्दा पनि लामो समय बिजुली कटौती गर्नुपरेको थियो।
– सन् २०२५- इन्डोनेसियामा हजारौंको प्रदर्शन
सन् २०२५ मा आजकै दिन इन्डोनेसियाको जाकार्तामा सांसदहरूलाई हाउजिङ भत्ता उपलब्ध गराउने सरकारी निर्णयविरुद्ध हजारौं मानिस सडकमा आएर प्रदर्शन गरेका थिए। उनीहरू संसद भवनको गेट बाहिर विशाल प्रदर्शन गरेका थिए।