काठमाडौं । विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीजीको १८औँ पुण्यतिथिको पावन अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा देशभर सञ्चालन गरिएको रक्तदान अभियानमा ८ हजार ६९४ पिन्ट रगत संकलन भएको छ।
मानव सेवा र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले भाद्र ७, ८ र ९ गते आयोजना गरिएको रक्तदान अभियानमा देशका विभिन्न शहर तथा स्थानबाट उत्साहजनक सहभागिता जनाइएको हो। रक्तदानमार्फत जीवन बचाउने अभियानमा सर्वसाधारण, युवा, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
जसमा, काठमाडौं क्षेत्रबाट ३ हजार २६४ पिन्ट, विराटनगरबाट १ हजार ८५३ पिन्ट, जनकपुरबाट ९९६ पिन्ट, नारायणगढबाट ६५८ पिन्ट, बुटवलबाट ४३३ पिन्ट, नेपालगञ्जबाट ४९१ पिन्ट, राजविराजबाट २७६ पिन्ट, पोखराबाट १११ पिन्ट, वीरगञ्जबाट १८५ पिन्ट, हेटौंडाबाट १५५ पिन्ट, भैरहवाबाट १५५ पिन्ट, कैलालीबाट १४४ पिन्ट, डडेल्धुराबाट ६० पिन्ट र पाल्पाबाट १३ पिन्ट रगत संकलन भएको उल्लेख छ।
रक्तदान कार्यक्रमले ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई थप बलियो बनाउँदै समाजमा मानवीय सेवा र परोपकारको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। संकलित रगत आवश्यकता परेका बिरामीको उपचारमा उपयोग हुने भएकाले यस्तो अभियानले रक्त अभाव न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
विश्व बन्धुत्व दिवस तथा दादी प्रकाशमणीजीको पुण्यतिथिको अवसरलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस अभियानले धर्म, जात, क्षेत्र र समुदायभन्दा माथि उठेर मानवताको सेवामा एकजुट हुनुपर्ने सन्देशसमेत दिएको छ।
