गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मङ्गलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरी राखेको लु१ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई अचानक ठक्कर दिएको थियो ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि गए राति नै बुटवलस्थित चौराहा हस्पिटल लगिएको थियो । विकको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।