कैलाली । सुदूरपश्चिम प्रदेशको मौलिक तथा परम्परागत पर्व ओल्के आज भाद्र सङ्क्रान्तिका अवसरमा विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा पुस्तौँदेखि मनाउँदै आएको ओल्के पर्वलाई सामाजिक सद्भाव, आपसी भाइचारा र ठूलाबडाप्रतिको सम्मानको पर्वका रूपमा लिइन्छ।
सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व ओल्के मनाउन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
‘ओल्के’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। पर्वका अवसरमा आफूभन्दा ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात (गाभा), फलफूल, सागपात, अन्न, दूध, दही, घिउलगायतका सामग्री कोसेलीका रूपमा दिने चलन छ। यस क्रममा आफन्त तथा छरछिमेकीबीच भेटघाट गर्दै शुभकामना र आशीर्वाद आदानप्रदान गरिन्छ।
ओल्के पर्वलाई साउने झरी र वर्षायामका विभिन्न जोखिमबाट बचेको खुसीयालीसँग जोडेर हेर्ने गरिन्छ। विगतमा वर्षायाममा विभिन्न रोग तथा प्राकृतिक विपत्तिको जोखिम हुने भएकाले त्यसबाट सुरक्षित भइएको खुसीमा ओल्के मनाउने परम्परा विकास भएको संस्कृतिविद्हरूको भनाइ छ। त्यसैले यो पर्वलाई ‘बाँचेको खुसी बाँड्ने पर्व’ का रूपमा समेत बुझ्ने गरिन्छ।
ओल्के पर्वका अवसरमा घरघरमा विभिन्न परम्परागत परिकार बनाउने चलन छ। डोटेली खानाका फाँणो भात, गतानी डुब्का, भक्के रोटो, बावर, पुरी, माणा, निसौसे लगायतका परिकार तयार गरी परिवार तथा आफन्तसँग बसेर खाने गरिन्छ। विवाहिता छोरीलाई माइतीघरमा बोलाएर मिठामिठा परिकार खुवाउने र ज्वाइँ–छोरीलाई स्वागत गर्ने परम्परा पनि कतिपय समुदायमा अझै कायम छ।
ओल्केसँगै विभिन्न ठाउँमा पिङ खेल्ने, डेउडा तथा स्थानीय सांस्कृतिक गतिविधि गर्ने परम्परा पनि जोडिएको छ। कतिपय स्थानमा गाउँको चौबाटोमा सल्लाको लिङ्गो गाडेर ‘बूढी हाल्ने’ र पछि ‘बूढी पोल्ने’ परम्परा पनि रहेको पाइन्छ। यी गतिविधिले पर्वलाई धार्मिकभन्दा बढी सामाजिक तथा सांस्कृतिक उत्सवका रूपमा जीवन्त बनाएका छन्।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, अछामलगायतका पहाडी जिल्लामा ओल्के विशेष महत्वका साथ मनाइन्छ। जिल्लाअनुसार मनाउने शैली र स्थानीय परम्परामा केही भिन्नता भए पनि यसको मूल भावना भने ठूलालाई सम्मान, सानालाई माया, आफन्तबीच भेटघाट र आपसी सद्भाव कायम गर्नु नै रहेको संस्कृतिसम्बन्धी सामग्रीहरूमा उल्लेख छ।
सुदूरपश्चिमेली समाजको मौलिक पहिचान बोकेको ओल्के पर्वले बदलिँदो समयसँगै पनि आफ्नो सांस्कृतिक महत्व कायम राखेको छ। आधुनिक जीवनशैलीका कारण कतिपय पुराना परम्परा ओझेलमा पर्दै गए पनि नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने अवसरका रूपमा ओल्के पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिन्छ।
ओल्केको मुख्य सन्देश उपहारको आदानप्रदानमा मात्र सीमित छैन। यसले सम्बन्धलाई नजिक बनाउने, मान्यजनप्रति सम्मान व्यक्त गर्ने र समाजमा सद्भाव तथा भाइचाराको भावना बलियो बनाउने सन्देश बोकेको छ।
त्यस्तै, आजकै दिन सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि छ । गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ ।
साँझ सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम गर्दा अनिष्ट नआउने लोक विश्वास रहि आएकोछ ।
