३१ जेठ ०२९ मा ललितपुर जावलाखेलमा जन्मेका जितजंग बस्नेत तरुण दलका केन्द्रीय अध्यक्ष हुन्। कांग्रेसको १४ औँ महाधिवेशनमा उनी केन्द्रीय समिति सदस्यको उम्मेदवार बनेका छन्। उनको उम्मेदवारी किन? यही सेरोफेरोमा आधारित भएर नेपाली हेडलाइनले बस्नेतसँग गरेको कुराकानी :
कांग्रेसमा तपाईंको योगदान के हो?
भारतमा स्नातक पढ्दा त्यहाँ नेपाल स्टुडेन्ट एसोसिएसन भन्ने थियो, जुन सबै नेपालीहरूको साझा संगठन थियो। स्नातक तेस्रो वर्षमा पढ्दा पढ्दै ०४८ सालतिर म त्यो संगठनको सभापति भएँ। सभापतिको कार्यकाल दुई वर्षको हुन्थ्यो, जुन पूरा गरेँ। त्यसपछि नेपाल फर्किएँ। मेरो पारिवारिक पृष्ठभूमि कांग्रेस नै थियो। त्रिवि केन्द्रीय क्याम्पसमा स्नातकोत्तर पढ्दै गर्दा ०५३ सालमा म स्ववियु सदस्य भएँ, नेविसंघबाट। ०५७ सालमा नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्ष भएँ। ०६३ सालसम्म मेरो कार्यकाल रह्यो।
प्रदीप पौडेल अध्यक्ष छँदा म नेविसंघको महामन्त्री थिएँ। ०६४ देखि ०६७ सालसम्म हाम्रो कार्यकाल रह्यो। अहिले नेपाल तरुण दलको अध्यक्ष छु। कांग्रेसको ११ औँ, १२ औँ, १३ औँ र १४ औँ महाधिवेशनमा निरन्तर महाधिवेशन प्रतिनिधि छु।
कांग्रेस केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन? तरुण दलमै तपाईंको आवश्यकता थियो कि?
तरुण दलको नेतृत्व एकपटक लिइसकेपछि दोहोरिने भन्ने हुँदैन। नेविसंघ र तरुण दलमा आफूले दिनुपर्ने योगदान दिइसकेपछि पार्टीमा योगदान दिनका लागि केन्द्रीय सदस्य बन्ने निर्णय लिएको हुँ। तरुण दलमा मेरो कार्यकालमै सातवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्यौँ। पार्टीले निर्वाचनमा पराजय बेहोरेको अवस्थामा कांग्रेसलाई जागरुक बनाउने अभियान चलायौँ। सातै प्रदेशमा आन्दोलनका कार्यक्रम गर्यौँ। काठमाडौंमा हजारौँको संख्यामा प्रदर्शन गर्यौँ।
यसबीचमा सबै प्रदेशमा प्रदेश समितिहरू बनायौँ। ७७ वटै जिल्लामा तरुण दलको संगठन सुदृढ बनायौँ। सबै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठन गर्यौँ। पालिकास्तरदेखि वडा एकाइसम्म पुगेको छ, आज तरुण दल। यी सबै सांगठनिक आधारहरू नयाँ पुस्तालाई हस्तान्तरण गरेर पार्टीमा सक्रिय बन्न खोजेको हुँ। महाधिवेशन पार्टीको प्लेटफर्ममा जाने मौका पनि हो।
देशभरबाट महाधिवेशन प्रतिनिधिका रूपमा युवा साथीहरू आउनुभएको छ। उहाँहरूको भावना, विचार, ऊर्जालाई पार्टीमा लगाउन सकिन्छ भनेर म केन्द्रीय समितिमा जान खोजेको हुँ।
१४ औँ महाधिवेशनपछिको कांग्रेस कस्तो होस् भन्ने चाहनुहुन्छ?
कांग्रेसको यो महाधिवेशनलाई एकताको महाधिवेशन भन्नु उपयुक्त हुन्छ। त्यो यस मानेमा कि ०७४ सालको निर्वाचनपछि नेपाली कांग्रेस पीडाबाट गुज्रिँदै आएको छ। केपी ओलीको सरकारले देशलाई नै पीडा दियो, अन्याय, अत्याचार, विकृति, विसंगति र भ्रष्टाचारमा लिप्त भयो। एकतन्त्रीय शासन व्यवस्था लागू गर्न खोजियो, संविधान च्यात्न, मिच्न खोजियो। त्यसपछिको महाधिवेशन हो यो, कांग्रेसको।
ओलीको सत्ता ढलेपछि र हामी सत्तामा गइसकेपछिको महाधिवेशन हो यो। नेपाली कांग्रेस कमजोर हुँदा के हुँदो रहेछ भन्ने देखियो, केपी ओलीको सत्तापछि। त्यसैले यो लोकतान्त्रिक विचारधाराको एकताको महाधिवेशन हो। लोकतन्त्रमा हारजित स्वाभाविक हो। कुनै व्यक्तिले हार्ला, कसैले जित्ला। तर, जित्नेले हार्नेको भावनाको कदर गर्नुपर्यो र हार्नेले मुटु दिनुपर्यो। जित्नेले हार्नेको पनि मुटु जित्नुपर्यो। एकअर्कामा माया, ममता र प्रेम लिनदिन सक्नुपर्यो।
महाधिवेशमा जित-हारको ऊर्जा लिएर तीन तहका निर्वाचनमा होमिनुपर्यो। तीन तहकै चुनाव जितेर देशमा नेपाली कांग्रेसका एजेन्डा, अवधारणा र सिद्धान्तलाई अगाडि बढाएर सबै जातजाति, भाषाभाषीको देश हो, गरिबको पनि देश हो, धनीको पनि देश हो, गरिबलाई हामीले धनी बनाउने हो भन्ने चाहनाअनुरूप सबैलाई एकताबद्ध ढंगले लैजान सक्नुपर्छ। त्यो ऊर्जा यही महाधिवेशनबाट प्राप्त हुनुपर्छ।
अब कांग्रेसको नेतृत्वमा युवा पुगून् भन्ने चाहना आम कार्यकर्ता र शुभेच्छुकहरूको देखिन्छ। यो महाधिवेशनबाट युवा नेताहरू नेतृत्व तहमा पुग्ने सम्भावना देख्नुहुन्छ?
कांग्रेसको तेह्रौँ महाधिवेशनबाट पनि युवा नेताहरू केन्द्रीय समितिमा पुग्नुभएको थियो, नपुगेको होइन। अहिले पनि युवा नेताहरू पदाधिकारीसहित केन्द्रीय सदस्यमा उम्मेदवार बन्दै हुनुहुन्छ। यसपालिको केन्द्रीय समितिमा ६० प्रतिशतभन्दा बढी युवा नेताहरू पुग्ने सम्भावना छ। त्यसो त, युवाको परिभाषा पनि खोतल्नुपर्छ। जोसँग जोश र जाँगर छ, त्यो युवा हो। जोसँग उमेर छ तर जोश र जाँगर छैन, त्यो युवा होइन। कांग्रेसमा लामो इतिहासका साथ खारिएर आएका नेताहरू हुनुहुन्छ। र, अहिलेको नयाँ पुस्ता पनि जबर्जस्त ढंगबाट आएको छ। नयाँ पुस्ताको ऊर्जा र भावनालाई बोकेर पुरानो पुस्ता अगाडि बढ्न सक्नुपर्छ। नेपाली कांग्रेस त्यसरी मात्र अगाडि बढ्न सक्छ।
करिब वर्षदिनभित्र मुलुकले तीनवटै तहका निर्वाचन सम्पन्न गर्नुपर्नेछ। कम्युनिस्ट पार्टीहरूका जबर्जस्त एजेन्डाहरूलाई माथ गर्ने गरी कांग्रेसले आफूलाई गतिशील पनि बनाउनु छ। यो महाधिवेशन त्यो गतिशीलताको प्रस्थानविन्दु बन्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ?
हामीले दुई तिहाइ बहुमतनजिकको केपी ओलीको शासनकाल देखिसकेका छौँ। यसबीचमा कांग्रेसका केही कमी कमजोरी रहे होलान्। हामीले ०७२ सालको आर्थिक नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेनौँ। त्यसको लाभ कम्युनिस्टहरू त्यसमा पनि केपी ओलीले लिए। अब हामीले ती कमी कमजोरीलाई सुधार्दै ओली सरकारका पालामा देशमा देखिएका विकृति, अन्याय, भ्रष्टाचार, संविधानमाथि थिचोमिचो अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि बन्द भएको छ। यसलाई नै हामीले निरन्तरता दिने हो।
कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्ति सम्पन्न भए। संविधान पनि दुई-दुईपटक कांग्रेसकै नेतृत्वमा आए। अब हामीले आफूलाई आर्थिक पाटोमा केन्द्रित गर्नुपर्यो। सामाजिक रूपान्तरणमा ध्यान दिनुपर्यो। सामाजिक-आर्थिक रूपान्तरणको दिशामा देशलाई अगाडि लैजान सक्यो भने मात्र नेपाली कांग्रेस पनि अगाडि बढ्न सक्छ। त्यो ऊर्जा यो महाधिवेशनले कांग्रेसमा भित्र्याउने छ।

तपाईं कुन प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दै हुनुहुन्छ?
म प्रष्ट छु, पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछु।
पार्टीभित्र नेतृत्व परिवर्तनको विषय पनि उठिरहेको छ नि?
कांग्रेसलाई अहिले शेरबहादुर देउवाको खाँचो छ। हिजोसम्म सबैले गाली गरेको नेता शेरबहादुर देउवालाई केपी ओलीको सरकारलाई विदा गर्न उहाँ नै चाहियो भनेर सत्तामा पुर्याए। त्यसैले उहाँलाई एकपटक मौका दिनुपर्छ। उहाँको व्यक्तित्वले नै यो देश बनाउन सक्छ र नेपाली कांग्रेसलाई पनि मजबुत ढंगले अगाडि बढाउन सक्छ भनेर उहाँको प्यानलबाट उम्मेदवारी घोषणा गरेको हुँ।
तपाईंका मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिहरूलाई के सन्देश दिनुहुन्छ?
तपाईंहरूले मत दिनुअघि एकपटक आँखा चिम्लिनु होला। विगतजस्तै मेरो साथी, मेरो दाइभाइ भनेर मत नदिनु होला। अन्तर्राष्ट्रियस्तरका फुटबलर र क्रिकेटरको नाम आयो भने उसको तीनपुस्ते जानकारी हुने तर आफूले मतदान गर्न लागेको नेताले कति योगदान गरेको छ भन्ने थाहा नहुने।
नेविसंघ त्रिवि समितिको अध्यक्ष छँदा मैले संगठन अगाडि बढाउन के योगदान दिएँ, महामन्त्री हुँदा संगठनलाई कसरी हाँकेँ र केन्द्रीय अध्यक्षका रूपमा तरुण दललाई कसरी चलाइरहेको छु भन्ने हेरेर मलाई मत दिनु होला। मैले साँच्चीकै इमानदारितापूर्वक काम गरेको छु र योगदान दिएको छु भन्ने लाग्छ भने मत दिनु होला।
मैले आफ्नो जीवन नै राजनीतिमा समर्पण गरेको छु। मेरो सबैभन्दा ठूलो अस्त्र भनेको इमानदारिता नै हो। मैले संगठनलाई आफ्नो जीवन दिएको छु। र, आम कार्यकर्ता र युवाको भावना र विचारलाई पुर्याउन म केन्द्रीय समितिमा जान लागेको हुँ। अब नेता र पार्टीलाई गाली गर्ने प्रवृत्ति रोक्नुपर्यो। गाली गर्नुपरे बन्द कोठाभित्र गरौँ, बाहिर होइन। तर, अहिले बन्द कोठाभित्र नेताको चाकडी गर्छौँ, बाहिर भने गाली गर्छौँ। त्यसैले नेताका कमी कमजोरीहरू बन्द कोठाभित्र भन्नुपर्यो। बाहिर पार्टीलाई माया, प्रेम गर्नुपर्यो। जुम्लाको एउटा साथीको टाउको फुट्दा काठमाडौंको साथीले आफ्नो टाउको फुटेको महसुस गर्नुपर्यो। त्यो भातृत्व र प्रेम भएको संगठन चाहिएको छ, कांग्रेसमा। त्यसमा ऊर्जा थप्न म केन्द्रीय समितिमा जान लागेको हुँ।