• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

प्रहरी तालिम केन्द्रका भीआईपी बन्दी !


शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

माधवकुमार नेपालले एमालेको कार्यवाहक महासचिवको जिम्मा दिएका झलनाथ खनालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले भन्यो, ‘राजाको कदम प्रतिगामी छ, त्यसविरुद्धमा मोर्चा कस्‍नुपर्छ। र, अब हाम्रो गन्तव्य पूर्ण लोकतन्त्र हो।’ मुलुकमा पूर्ण लोकतन्त्र अर्थात गणतन्त्रको प्रस्थान विन्दु त्यही थियो।

Advertisement

 

१९ माघ ०६१। हामीले एकाबिहानै रेडियोमा ‘११ बजे राजा ज्ञानेन्द्रको देशवासीका नाममा सम्बोधन’ गर्ने समाचार सुन्यौं। यसभन्दा पहिले पनि राजाले शासन आफ्नो हातमा लिने गाइँगुइँ हल्ला नसुनिएको होइन। के सम्बोधन आउँछ भन्‍ने अनुमान शुरु भयो।

त्यसबेला एमाले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा समावेश थियो। त्यो सरकारमा जान हुन्थ्यो कि हुँदैनथ्यो भनेर पार्टीमा ठूलै बहस भएको थियो। हामी कांग्रेसहितका सात दलको संयुक्त सडक आन्दोलनमा थियौं। सडक आन्दोलनका पक्षमा भएका एमाले नेताहरूको भनाइ सरकारमा जानुहुँदैन भन्‍ने थियो।

सडकको अवस्था पनि अनौठो थियो। कांग्रेस र हाम्राबीचमा नारा मिलिरहेको थिएन। त्यही भएर कांग्रेस र हामीबीचमा आन्दोलन पनि लामो समयसम्म टिक्छ भनिहाल्ने अवस्था थिएन। त्यतिबेला कांग्रेस र हामीबीच खासगरी शेरबहादुर देउवालाई हेर्ने दृष्‍टिकोण केही फरक थियो। शेरबहादुरको अलग पार्टी थियो, कांग्रेस प्रजातान्त्रिक। हामीले कांग्रेस प्रजातन्त्रिकलाई पनि सँगै ल्याएर आन्दोलन गरौं भनिरहेका थियौं। कांग्रेस खासगरी गिरिजाप्रसाद कोइरालाले मानिरहनुभएको थिएन। त्यहीबीचमा राजा ज्ञानेन्द्रले शेरबहादुरलाई प्रधानमन्त्री नियुक्ति गरे। प्रधानमन्त्री नियुक्त गर्नेबेला एमाले, कांग्रेससहित दलहरूसँगको छलफलबाट गरिएको बुझेका थियौं, हामीले।

पछि कांग्रेसले तत्काल समर्थन गरेन। एमाले भने प्रतिगमन आधा सच्चियो भन्‍ने एउटा सिद्धान्त बनाएर सरकारमा गयो। र, त्यो सरकारमा जानुहुन्‍न भन्‍ने हाम्रो र कार्यकर्ताको धारणा थियो। त्यसका बावजुद पार्टी केन्द्रीय कमिटीमा लगभग सर्वसम्मत ढंगले सरकारमा जाने निर्णय भयो । एमालेको इतिहासमा त्यो एउटा गम्भीर भुल थियो। गलत निर्णय थियो, जान हुँदैनथ्यो। यस निर्णयले एमालेलाई कमजोर बनायो। एमालेको चरित्रमा धक्का लाग्यो। जे भए पनि हामीले सडकमै बस्‍नुपर्थ्यो।

हामी राजासँग लडिरहेका थियौं। तर पनि, सरकारमा गइहाल्यौं। राजाले कुनै पनि दिन त्यो सरकारलाई हटाउँछन् भन्‍ने हल्ला चलिरहेको थियो। त्यहीबीचमा १५ भदौ ०६१ मा इराकमा १२ जना नेपालीको हत्या भएको भिडियो क्लिप सार्वजनिक भयो। त्यसको भोलिपल्ट त्यस घटनाविरुद्ध काठमाडौंमा ठूलो तोडफोड भयो। त्यसरी तोडफोडमा उत्रिनेमा सिभिल ड्रेसका प्रहरी, सैनिक थिए भन्‍ने बुझाइ रह्यो, सबैको। र, राजा ज्ञानेन्द्रले नै तोडफोड गर्न लगाएका हुन् भन्‍ने बुझिएको थियो। त्यस दिन अधिकांश म्यानपावर कम्पनीहरू तोडफोडको निशानामा परे। राजाले त्यही दिन शेरबहादुरलाई सरकारबाट हटाउँदै छन् भन्‍ने हल्ला पनि थियो। तर, त्यो दिन किन हटाएनन् थाहा भएन।

देशभर एकप्रकारको उत्पात मच्चिइरहेको थियो। राजा र सरकारको कुरा मिल्ने भएन। ज्ञानेन्द्र एक ढंगले जान खोजेका थिए। एमाले अब माओवादीलाई पनि शान्ति वार्तामा बोलाउनुपर्छ भनेर हिँडिरहेको थियो। राजालाई उक्त कुरा मन परिरहेको थिएन। विदेशी शक्तिहरू राजा, कांग्रेस, एमालेजस्ता दलहरू मिलेर माओवादीलाई एक्ल्याउनुपर्छ भन्‍ने पक्षमा देखिएका थिए। त्यसमा नेपाली राजनीतिमा प्रभाव पार्ने विदेशी शक्तिहरू थिए। यस कुरामा एमालेको सहमति थिएन। एमालेले भनेको थियो, ‘माओवादीका क्रियाकलाप आतंकवादी छन् तर उद्देश्यचाहीं राजनीतिक छ। त्यसैले उनीहरूलाई शान्तिवार्तामा ल्याउनुपर्छ। जनधनको धेरै क्षति हुन दिनुहुँदैन।’ त्यहीअनुसार एमालेको नेतृत्व कहिले सिलिगुडी त कहिले लखनऊतिर माओवादी नेताहरूलाई भेट्न गइरहेको थियो। कहिले वामदेव गौतमलाई एमालेले रोल्पातिर पठाइरहेको थियो। यस्तै क्रमहरू चलिरहेका थिए।

पहिलो जेल यात्राः हिरासतमा निर्मम कुटाइ, कारागारमा ‘मिठा खसी’को संज्ञा

१९ माघ ०६१ बिहान ११ बजे राजा ज्ञानेन्द्रको सम्बोधन आयो। हामी प्रायः सधैं पार्टी कार्यालय बल्खु जान्थ्यौं। पार्टी कार्यालयको माथिल्लो तलामा पुस्तकालय थियो। त्यही पुस्तकालयमा ठूलो स्क्रिन भएको टेलिभिजन राखिएको थियो। त्यहीं गएर राजाको सम्बोधन हेरौं भन्‍ने सल्लाह भयो। र, साथमा अरू साथीहरू सहित म पार्टी कार्यालयको पुस्तकालयमा पुगें।

राजाले सरकारलाई अपदस्थ गर्ने र शासन आफ्नो हातमा लिने गाइँगुइँ हल्ला चलिरहेकै थियो। भयो पनि त्यस्तै। सम्बोधनका क्रममा सरकारलाई अपदस्थ गरेको, सबै अधिकार आफ्नो हातमा लिएको र आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेको घोषणा गरे, राजा ज्ञानेन्द्रले।

राजाले शासन हातमा लिए, अब के गर्ने? पार्टी कार्यालयको पुस्तकालयमा भानुभक्त ढकाल, रुपनारायण श्रेष्‍ठ, पार्टी कार्यालयका कर्मचारीलगायत साथीहरू थियौं। अब के गर्ने भन्‍ने भो, हामी अगुवा पनि भइयो। त्यतिबेला म काठमाडौं उपत्यकाको पार्टी सचिव थिएँ। नेताहरूलाई फोन गर्नुपर्‍यो भन्‍ने सल्लाह भयो। त्यतिबेला भर्खर-भर्खर मोबाइल आएको थियो। ल्यान्डलाइनबाट फोन गर्‍यौं तर फोन काटिसकेको रहेछ। मोबाइलहरू पनि काटिएको, टेलिभिजन पनि काटिसकेको थाहा पायौं। पुस्तकालयबाट हामी तल झर्‍यौं। पार्टी कार्यालय प्रहरीले घेरिसकेको रहेछ। रुपनारायण श्रेष्‍ठको धेरै प्रहरीसँग चिनजान थियो। उनले चिनेका डीएसपीको कमान्डमा प्रहरीको टोली आएको रहेछ। रुपनारायण ‘ओ डिएसपी साप’ भनेर उनीतिर लम्किएका मात्र थिए, चिनेकै डीएसपीले ‘उहाँलाई गाडीमा राख’ भनेर प्रहरी टोलीलाई आदेश दिए।

त्यसपछि हामीलाई पनि समात्‍ने रहेछ भनेर हामी पछाडिको ढोकाबाट पर्खाल नाघेर बल्खु खोलापट्टि निस्कियौं। त्यत्तिकैमा झलनाथ खनाल पार्टी कार्यालयको मुलगेटमा आएको खबर पायौं। पार्टी कार्यालयका कर्मचारीमार्फत यता आउँदै नआउनूस् भनेर गेटबाटै फर्किन लगायौं।

त्यसपछि पार्टी कार्यालय नजिकै रहेको भानुभक्त ढकालजीको घरतिर गयौं। साथमा राजेन्द्र गौतम पनि हुनुहुन्थ्यो। भानुभक्तजीको घरमा पुगेर अब के गर्ने भनेर सल्लाह गर्‍यौं। कसैसँग सम्पर्क हुँदैनथ्यो। किनकि, देशभरको टेलिफोन नेटवर्क सरकारले काटिसकेको थियो। वामदेव गौतमलगायत केही नेतालाई गिरफ्तार गरेर महाराजगञ्‍ज पुर्‍याइसकेको जानकारी पायौं। केपी ओली, माधवकुमार नेपाल, अमृत बोहरालाई होम एरेस्ट गरिसकेको जानकारी पायौं। झलनाथ खनालको घर स्वयम्भूमा थियो। उहाँको खबर थाहा पाउने प्रयास गर्‍यौं।

त्यतिबेला उहाँ पार्टीको अंग्रपंक्तिभन्दा अलि पछाडि नै हुनुहुन्थ्यो। माधवकुमार नेपाल महासचिव हुनुहुन्थ्यो। केपी ओली र वामदेव गौतम अग्रपंक्तिका नेता हुनुहुन्थ्यो। झलनाथजीलाई होम एरेस्ट नगरेको हुनसक्छ भनेर उहाँको घरमा केही साथीहरूलाई पठायौं। उहाँ घरमै हुनुहुँदो रहेछ। र, उहाँलाई तुरुन्तै घर छोड्न भन्यौं। त्यही राति उहाँलाई ललितपुर च्यासल पुर्‍याएर राख्यौं। च्यासलमा गल्लीहरू धेरै भएकाले प्रहरीलाई उहाँको बारेमा जानकारी पाउन सजिलो थिएन। पञ्‍चायतकालमा भूमिगत छँदा पनि उहाँ त्यतै बस्‍नुभएको थियो।

अरू नेता घरमै नजरबन्दमा भएकाले कुनै न कुनै ठूलो नेता आवश्यक थियो। पार्टीका विज्ञप्ति निकाल्न पनि जिम्मेजार नेता आवश्यक हुन्थ्यो। भानुभक्तजी आफ्नै घरमा बस्‍नुभयो। म त्यतिबेला वागबजारमा डेरामा बस्थें। बल्खुबाट गाडी चढेर म र राजेन्द्र गौतम रत्‍नपार्कमा उत्रियौं। सडक सुनसान थिए, मानिस चुपचाप। कोही केही बोल्दैनन्। त्यत्रो घटना भएको छ, मुलुकमा। मानिसलाई थाहा नभएझैं शून्य भएर हिँडिरहेका छन्।

त्यतिबेला एमाले केन्द्रीय कार्यालय सचिव युवराज कार्की हुनुहुन्थ्यो। उहाँ अनामनगर बस्‍नुहुन्थ्यो। उहाँकोमा गएर ‘सबै नेताहरू होम अरेस्टमा छन्, तपाईं कार्यालय सचिव हुनुहुन्छ केही विज्ञप्ति निकाल्नुपर्‍यो’ भन्यौं। भीम रावल घट्टेकुलो बस्‍नुहुन्थ्यो। उहाँसँग पनि समन्वय गर्नुपर्‍यो भन्यौं । र, अरू नेता नजरबन्दमा भए पनि झलनाथ खनाल सुरक्षित रहेको बतायौं। सुवास नेम्बाङ पनि हाल नोबेल मेडिकल कलेजका सञ्‍चालक सुनिल शर्माको घरमा तीन तलामाथि बस्‍नुहुन्थ्यो। पक्राउ नपरेका सबै नेताहरूलाई भेट्दै गयौं।

हामीलाई पनि प्रहरीले खोजिरहेको सूचना पायौं। र, हामी पनि जोगिएर हिँड्न थाल्यौं। डेरा-घर छोडेर साथीकहाँ गएर बस्थ्यौं । म बानेश्‍वरमा गणेश पहाडीको डेरामा गएर बस्थे। त्यसको २-३ दिनपछि पार्टीको बैठक त गर्नुपर्‍यो, आपतकालीन अवस्था आयो भन्‍ने सोच्यौं। र, झलनाथ खनाललाई पार्टीको संयोजक बनाएर बैठक गर्ने निधो गर्‍यौं। माधवकुमार नेपालले पनि कुनै व्यक्तिमार्फत झलनाथ खनाललाई कार्यवाहक महासचिवजस्तो बनाएर पत्र पठाए। त्यसको दुई दिनपछि ललितपुर च्यासलमा महत्त्वपूर्ण बैठक भयो।

त्यस बैठकले महत्त्वपूर्ण निर्णय गर्‍यो। पहिलो- राजाको यो कदम प्रतिगामी छ, त्यसविरुद्धमा मोर्चा कस्‍नुपर्छ। दोस्रो- अब हाम्रो गन्तव्य पूर्ण लोकतन्त्र भएको निर्णय गर्‍यौं। प्रकारान्तरले त्यो भनेको गणतन्त्र नै थियो। तर, गणतन्त्र शब्द प्रयोग भने गरिएन। राजासँग सल्लाह र वार्ता हुँदैन। राजासँग निषेधको अवस्था भयो र हाम्रो पूर्ण गन्तव्य नै लोकतन्त्र हो भन्‍नुको तात्पर्य गणतन्त्र नै थियो। यसमा कांग्रेसलाई पनि आह्वान गरिएको थियो। हामी अब सँगै एउटै मोर्चा बनाएर राजाविरुद्ध जानुपर्छ भनेका थियौं। माओवादीलाई पनि हत्या हिंसा छोडेर शान्तिवार्तामा आउन अपिल गरिएको थियो। देशभरका कार्यकर्तालाई यसविरुद्ध सडकमा निस्कन आह्वान गरियो।

त्यसपछि कांग्रेससहितको मोर्चा बन्यो। त्यो मोर्चाले विभिन्‍न आन्दोलन अगाडि बढायो। प्रमुख शक्ति एमाले थियो र अरू पनि थिए। मधेशकेन्द्रित दल सदभावना, जनमोर्चा, नारायणकाजी श्रेष्‍ठको अलग्गै पार्टी थियो। यसरी सातवटा दलहरू मिलेर आन्दोलन अगाडि बढाएका थियौं। विस्तारै माओवादीसँग पनि संवाद अगाडि बढिरहेको थियो।

जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

एमालेका नेताहरू विभिन्‍न तरिकाले माओवादीको सम्पर्कमा जानुभयो। कसरी मिलाउने त? माओवादीले संविधानसभा भनिरहेको छ। कांग्रेसले त्यसलाई मानिरहेको थिएन। अब यसको बीचको बाटो निकाल्नुपर्‍यो। कांग्रेसले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भनिरहेको थियो। पछि एमालेले नै प्रतिनिधिसभा पुनःस्थापनाको ढोकाबाट पस्‍ने र संविधानसभाको ढोकाबाट निस्किने बाटो तय गर्‍यो। यसमा सबै दल सहमत भए। प्रतिनिधिसभाको पुनःस्थापना गर्ने र संविधानसभाबाट नयाँ संविधान बनाएर निस्किने बाटो तय भयो। कांग्रेस र माओवादी दुवैको माग सम्बोधन पनि भयो।

हामीले नयाँ बानेश्‍वरमा त्यही नारा लगायौं। झलनाथ खनालले त्यस नाराको विस्तृत व्याख्या गर्नुभयो। आन्दोलन अगाडि बढेपछि नेताहरूलाई नजरबन्दबाट मुक्त गर्दै लग्यो, शाही सरकारले। त्यसका लागि राजामाथि बाह्य दबाब पनि सिर्जना भयो। राजामाथि निरन्तर दबाबपछि वातावरण केही सहज बन्दै गयो। त्यसबीचमा सानातिना जुलुसहरू कार्यकर्ता, युवा, विद्यार्थीहरूबाट निकाल्यौं। नागरिक समाज पनि आन्दोलनमा सडकमा आए। पत्रकार, बार एसोसिएसन, प्रध्यापक संघलगायत संघसंस्था सम्मिलित पापडले पनि आन्दोलन गरिरहेको थियो। त्यसपछि माओवादीसँग १२ मंसिर ०६२ मा १२ बुँदे सम्झौता दिल्लीमा भयो। त्यसले आन्दोलनको एउटा उभार ल्यायो। माओवादी पनि शान्तिपूर्ण आन्दोलनमा अघोषित ढंगबाट सामेल भयो। त्यसरी नै हाम्रो आन्दोलनले उचाइ पायो। आन्दोलनमा शाही सरकारले दमन गर्न थाल्यो।

एक दिन बानेश्‍वरमा हामीले राजाको घोषणा जलाउने कार्यक्रम आयोजना गर्‍यौं। उक्त कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले मलाई त्यहीँ समात्यो। अहिलेको संघीय संसदको पश्चिम गेटको बाहिरपट्टि कार्यक्रम थियो। त्यहीं मलाई प्रहरीले नियन्त्रणमा लियो। त्यहाँबाट समातेर तीनकुनेको प्रहरी चौकीमा लगेर थुन्यो। त्यहाँबाट ५०-६० जनालाई समातेको थियो। ४-५ दिन हामीलाई त्यहीँ हिरासतमा राख्यो। त्यतिबेला विद्यार्थी नेतालगायत थुप्रै थियौं। पछि हामीलाई महाराजगञ्‍जस्थित प्रहरी तालिम केन्द्रमा लगेर थुन्यो। त्यतिबेला पञ्‍चायत कालको जस्तो कारागारहरूमा लगेर राखेन। पक्राउ, थुनुवा पूर्जी सबै दियो तर प्रहरी तालिम केन्द्रमा लगेर राख्यो।

त्यहाँ सबैजसो राजनीतिक दलका मानिस थियौं। ५० जनाजति राजनीतिक व्यक्तिहरू थियौं। पक्राउ परेका प्रायः कांग्रेस र एमालेका थियौं। त्यहाँ करिब एक महिना राख्यो। पछि बाहिरी दबाब बढ्दै गएपछि हामीलाई छाड्यो।

प्रहरी तालिम केन्द्रमा बन्दी रहेकै बेला मेरा जेठा दाजु भवानीप्रसाद भट्टराईको निधन भयो। उहाँ बिरामी भएर उपचार गर्न काठमाडौं आउनुभएको थियो। वीर अस्पतालमा उपचार हुँदाहुँदै उहाँको निधन भयो। म थुनामा छु, यता वीर अस्पतालमा दाइ बित्‍नुभयो। त्यसपछि मैले प्रहरीलाई दाइको मलामी र अन्तिम संस्कारमा जान दिन अनुरोध गरें। दाइको मलामी त जान पाउनुपर्‍यो भनेपछि ८-१० जना प्रहरीलाई खटाएर वीर अस्पताल र पशुपति आर्यघाटसम्म आउन दिए। बेलुकी तालिम केन्द्रमै फर्किने शर्तमा बाहिर आउन पाएको थिएँ।

मेरो दाइ गाउँमा सामाजिक काम र खेती किसानी काम गर्नुहुन्थ्यो। उमेर पनि ७० नाघ्न लाग्‍नुभएको थियो। उहाँ उमेर बढेसँगै बिरामी पनि हुनुहुन्थ्यो। मेरो राजनीतिक जीवनमा दाइहरूको पनि ठूलो सहयोग छ। उहाँहरूको सहयोगकै कारणले म राजनीतिक आन्दोलनमा होमिएको थिएँ। उहाँहरूले घर, परिवार सम्हालेर स्वतन्त्र रूपमा राजनीतिमा लाग्‍ने वातावरण बनाइदिनुभएको हो। प्रहरी घेरामै म वीर अस्पताल आइपुगें। र, आर्यघाट लगेर दाइको अन्तिम संस्कार गरियो।

प्रहरी तालिम केन्द्रमा हामीलाई केही सहज थियो। यातना दिने काम प्रहरीबाट भएन। प्रहरीकै मेसमा खाना खानुपर्थ्यो। ठूलो क्षेत्र भएकाले मर्निङ वाक गर्न दिन्थ्यो। एकापट्टि हामी थियौं, अर्कोतिर वामदेव गौतम, रुपनारायण श्रेष्‍ठ, डा. मथुराप्रसाद श्रेष्‍ठलगायतलाई राखिएको थियो। उहाँहरूसँग भेट गर्न भने दिन्थेन। हामीसँग पदमरत्‍न तुलाधर पनि सँगै थुनिनुभएको थियो। एक हिसाबले हामी प्रहरी तालिम केन्द्रका भीआईपी कैदी थियौं।

त्यसबेला प्रहरीहरू आन्दोलनमा किन लाठीचार्ज गर्छन्? प्रहरी किन रिसाउँछन् भन्‍ने अनुभव लिन पाएँ। हामी प्रहरी नियन्त्रणमा भए पनि बाहिर नेपाल बन्द, जुलुस, आन्दोलन भइरहेकै थिए। आन्दोलनमा दमनका लागि पठाइने प्रहरी टोलीलाई बिहान ५ बजे नै ड्युटीमा खटाउने रहेछ। ती प्रहरीहरू राति ३ बजेतिर हातमुख धोई बिहान ४ बजे खाना खाएर ५ बजे ड्युटीमा पुगिसक्दा रहेछन्। दिनभरि सडकमा खटिन्छिन्। सडकमा तैनाथ रहँदा खाना, पानी चाहियो। पानी पर्दा ओत लाग्‍ने ठाउँ हुँदैन। घाम चर्कियो भने शीतलमा बस्‍न पाउँदैनन्। खाजा खान पाउँदैनन्। राति एकैपटक ९-१० बजेतिर फर्किन्छन्। शरीर थाकेको हुन्छ, दिनभरि भोकै, प्यासै खटिएका। आन्दोलनमा खटिँदा उनीहरूलाई हामीलाई दु:ख दिने यिनै आन्दोलनकारी हुन् भन्‍ने लाग्दो रहेछ। अनि आन्दोलनकारी देख्यो कि लाठीचार्ज गर्न अगाडि सर्ने रहेछन्।

मेसमा खाना खाँदा प्रहरीलाई मैले सोधें, ‘कतिबेला जानुहुन्छ?’ प्रहरीले जवाफमा बिहानको ४ बजे खाना खाएर निस्किने बताए। मेसमा पनि तात्तातै र हतारमा खाना खाएर निस्किनुपर्ने। ‘घाम, पानी, झरी केही भन्‍न पाउँदैनौं, यसरी ड्युटी गर्छौं सर। अनि हामीलाई रिस उठेपछि ठोक्छौं’ भने ती प्रहरीले।

त्यतिबेला नेपालमा संयुक्त राष्‍ट्रसंघ मातहतको संस्था आइसकेको थियो। पछि त्यसैलाई अनमिन नाम दिइयो। त्यतिबेला अर्कै नाम थियो। त्यसमा एकजना पाकिस्तानी नागरिक थिए। संस्थाको अगुवा इयान मार्टिन थिए। उनीसँग हामीले जेल नपर्दै कुराकानी गरिसकेका थियौं। उनको अफिस ताहचलभन्दा माथिपट्टि थियो। त्यहीं भेटेर आन्दोलनका कार्यक्रम, खाका, उद्देश्यका साथ यूएन मिसनले नेपालमा राजाको ज्यादती नहोस्, माओवादीको ज्यादति नहोस् भन्‍नका लागि मनिटर गर्न भन्दै ज्ञापनपत्र बुझाउन हामी गएका थियौं। संस्थाका पाकिस्तानी कर्मचारीको नाम याद छैन। तर, उनी हक्की स्वभावका थिए। उनी हामीलाई थुनेको ठाउँमा गएर अनुगमन गथें। बन्दीहरूलाई खान, बस्‍न, पढ्न, औषधि उपचारको व्यवस्था, आफन्तले भेट्न पाएको, नपाएको सबै अनुगमन गर्थे। र, प्रहरीलाई थर्काउँथे। बन्दीहरूलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर प्रहरीलाई गाली गर्थे। त्यही भएर पनि हामीमाथि धेरै ज्यादति गर्न पाएन, शाही सरकारले। बन्दी बनाइएका नेताहरू सबै आम जनतामा घुलमिल भइसकेका थिए। अनि प्रहरीहरूले पनि नचिन्‍ने कुरा भएन।

एक हिसाबले एमालेको तर्फबाट आन्दोलन कमान्डर नै थिएँ। त्यतिबेला अर्को व्यक्तिलाई सम्झिन्छु, तत्कालीन इन्स्पेक्टर विनोद शर्मा घिमिरे (हाल एसपी)। उनी विराटनगरको महेन्द्र क्याम्पसमा नेविसंघबाट स्ववियूको सचिव जितेका मानिस रहेछन्। तालिम केन्द्रनजिकको गणमा बनाइएको बंकरमा पनि हामीलाई करिब १० दिन थुनेको थियो। इन्स्पेक्टर विनोदले हामीलाई एकदमै मानसिक यातना दिए। पछि हामीले उनले त्यस्तो गरे भनेर बुझ्यौं। उनी कांग्रेसको सोर्स लगाएर इन्स्पेक्टर बनेका रहेछन्। तर, सरुवा, बढुवामा कसैको साथ सहयोग पाएनछन्। त्यसका कारण उनलाई राजनीतिप्रति वितृष्‍णा भएको रहेछ।

उनमा कांग्रेस, कम्युनिस्ट दुवैप्रति एक किसिमको वितृष्‍णा देखिन्थ्यो। अझ बढी कांग्रेसप्रति नकारात्मक थिए। हामीप्रति दुई नम्बर गणमा उनको व्यवहार राम्रो थिएन। छाडा बोल्ने, अभद्र व्यवहार गर्ने गर्थे। भेट्न आउने मान्छेलाई पनि भेट्न नदिई दुःख दिने गर्थे। पछि उनको मनोविज्ञान बुझ्दा आफूलाई कांग्रेससँग आफूलाई निकट ठाने तर त्यसअनुसार सरुवा, बढुवामा प्राथमिकता पाएनन् होला। त्यसैले कांग्रेस र कम्युनिस्ट दुवैप्रति रिस थियो।

तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

प्रहरीको नियन्त्रणमा पर्नुअघिको अर्को रमाइलो घटना पनि छ। म बिहान-बिहान मर्निङ वाक गर्थें। वागबजारको डेरामा बस्‍न छोडिसकेको थिएँ। डेरामा प्रहरी आएर सबै हेरिसकेको थियो। म डेरा गरी बस्‍ने घरको छेउमा ल्यान्डलाइन फोन थियो। म त्यो फोनमा म्याडमसँग कुरा गर्नुछ भनेर फोन गर्थे। तर, त्यो पसले तपाईंको के छ त्यस्तो, जहिल्यै तपाईंको मान्छेलाई बोलाउनुपर्ने के छ र भन्दै रुखो व्यवहार गर्दोरहेछ। पछि म्याडमले मलाई भनेपछि मैले फोन गर्न छोडिदिएँ। मान्छे कति अमानवीय हुँदा रहेछन् भनेर त्यहींबाट बुझें। त्यतिबेला हामीलाई जहाँ भेट्यो, त्यहीं समात्‍ने सरकारको निर्देशन थियो। मोटरसाइकलमा हिँड्दा पनि हेलमेट, कालो चश्मा लगाएर हिड्थें। त्यसकारण मलाई हत्तपत्त चिनिहाल्दैनथे।

यस्तै, बानेश्‍वरमा गणेश पहाडीसँग बस्दै गर्दा पनि मर्निङ वाक छाडिनँ। त्यहाँबाट पशुपति क्षेत्रमा जान्थें, मर्निङ वाकमा। मर्निङ वाकमा एक दिन गौशाला चौकीको बाटो पशुपति मृगस्थलीतिर लम्किँदै थिएँ। एकजना मान्छे मेरो पछाडि आएर कोट्यायो। समाउन आयो कि भन्‍ने लाग्यो। अनि मैले, ‘के भो भाइ, के हो’ भनें। यसो हेर्दा पुलिस कट काटेको मान्छे छ। सिभिलमा छ। ‘हैन सर, सरलाई त समाउने आदेश छ। यो एरियामा हामीले देख्यौं भने समाउनुपर्छ। सर यो एरियामा मर्निङ वाक गर्नुहुन्छ भन्‍ने माथि रिपोर्ट भइसक्यो। माथि हाकिम सा’बले यतातिर मर्निङवाक नगर्नु भन है भनेर खबर पठाउनुभएकाले म खबर गर्न आएको हुँ’ भन्यो। उनलाई त्यतिबेलाका भ्याली डीआईजीले म नसमातिऔं भनेर खबर पठाएका रहेछन्। त्यसपछि पशुपति क्षेत्रको मर्निङ वाक बन्द भयो। तर, बानी लागिसकेको मर्निङ वाक किन पो छाडिन्थ्यो र ! त्यसपछि पशुपतिबाट मर्निङ वाक गन्तव्य मोडियो कोटेश्‍वर महादेवस्थान र यूएन पार्कतिर।

८ वैशाख ०६३। आन्दोलन अझ चर्किंदै गयो। १२ मंसिर ०६२ मा माओवादीसँग बाह्रबुँदे सम्झौता भएपछि आन्दोलनले झनै उचाइ हासिल गर्‍यो। हजारौं मानिस काठमाडौं आउने क्रम जारी रह्यो। काठमाडौंबाहिर पनि आन्दोलन चर्किएको थियो। त्यसक्रममा चक्रपथ घेराउ गर्‍यौं हामीले। त्यसलाई सफल बनाउन धेरै मानिस आन्दोलनमा सहभागी भए। रेडियो खुकुलो भइसकेको थियो। एफएम प्रशस्त खुलेका थिए। विभिन्‍न अभियान चलाइएको थियो। ठाउँ-ठाउँमा कमिटी गठन भएका थिए। कुनै दिन बेलुकी सबैले छतमा गएर थाल ठटाउने कार्यक्रम राख्यौं। सारा उपत्यका थर्काउँदै थाल ठटाइयो। ब्ल्याक आउट गर्ने भनेपछि पूरै उपत्यका अँध्यारो हुन्थ्यो। यो अन्तिम आन्दोलन हो भनेर जनताको अभूतपूर्व साथ थियो।

सेनाले पनि राजालाई अब दमन गरेर हुँदैन भनिसकेको थियो। त्यहीबेला भारतका विशेषदूत करन सिंह आएका थिए। उनको सुझाव र आर्मीको पनि सुझाव भएकाले ८ वैशाखमा राजाको वक्तव्य आयो। तर, त्यसमा पनि उनले विघटित संसद पुनःस्थापनाको कुरा गरेनन्। दलहरू मिलेर शासन सत्ता चलाऊ भन्‍ने ढंगको मात्र वक्तव्य थियो त्यो। राजाले भनेको मान्‍ने कि नमान्‍ने भन्‍ने भ्रम त्यसबाट सिर्जना भयो। राजा एक किसिमले पछाडि हटेका थिए।

तर, त्यसले आन्दोलनको सम्बोधन भएन भन्‍ने हिसाबले त्यस बिहान हामी फेरि बल्खु पुग्यौं। त्यहाँ पुग्दा सबै नेता छुटेर आइसकेका थिए। माधव नेपाल, वामदेव, केपी ओली, अमृत बोहरालगायत नेताहरू थिए। हामीले यो वक्तव्य मान्‍नु हुँदैन भन्यौं। त्यसपछि माधव नेपाललाई सबैले ‘तपाईं गिरिजाप्रसाद कोइरालासँग कुरा गर्नुहोस्’ भन्यौं। माधव नेपाल गिरिजाप्रसादलाई भेट्न जानुभयो। उहाँले गिरिजाप्रसादसँग यो मान्‍नुहुँदैन भन्‍नुभएछ। गिरिजाप्रसाद पनि माइन्ड मेकअप गरेर बस्‍नुभएको रहेछ। अनि राजाको वक्तव्य अमान्य घोषित भयो।

त्यसपछि आन्दोलन झन् चर्कियो। १०औं लाख मानिस चक्रपथभित्र प्रवेश गरे। चक्रपथभित्र कर्फ्यू थियो। तर, कर्फ्यू तोडेर लाखौं मानिस शहरमा प्रवेश गरे। त्यसपछि त्यो भिड थामिनसक्नु हुन्छ भनेर राजाले ११ वैशाखमा अर्को एउटा वक्तव्य जारी गरे। उनले आफ्ना मुख्यसचिव पशुपतिभक्त महर्जनमार्फत त्यो वक्तव्य पठाए। उनले वक्तव्य बल्खुमा लिएर आएका थिए। त्यो वक्तव्य अस्ति हाम्रो अध्यक्षले मैले ड्राफ्ट गरेको भन्‍नुभयो। त्यो वक्तव्य उहाँले ड्राफ्ट गरे-नगरेको मलाई थाहा छैन। तर, त्यो वक्तव्यको सम्पादन दलहरूले गरेका हुन्। एमाले नेताहरूले गरेको हो। पछि गिरिजाप्रसाद कोइरालालाई देखाउँदा उहाँले पनि ठीक छ भन्‍नुभएको हो। खासमा, दलहरूले तयार पारेको वक्तव्य नै राजाले वाचन गरेका हुन्। त्यसमा राजाको वाक्यांश ‘पशुपतिनाथले सबैको रक्षा गरुन्’ भन्‍ने मात्र हो।

११ वैशाखमा विघटित संसद पुनःस्थापनालगायत सबै घोषणा भयो। अनि आन्दोलन स्थगित भयो। पुनःस्थापना भएको संसदले ४ जेठमा एक किसिमको गणतन्त्र घोषणा गर्‍यो। त्यसले अन्तरिम व्यवस्थापिका संसद पनि घोषणा गर्‍यो। अन्तरिम व्यवस्थापिका संसदमा माओवादी पनि आयो। त्यही संसदले अन्तरिम संविधान बनायो। त्यही प्रस्थान विन्दुबाट आजसम्मको घटनाक्रम विकसित भएको हो।

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.