तनहुँ- केही दिनदेखि परेको वर्षाका कारण तनहुँका १८ घरमा क्षति पुगेको छ । वर्षाका कारण घरहरू भत्किएका छन् भने कतिपय घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् ।
म्याग्दे गाउँपालिका-२ जामुनेमा अविरल वर्षाका कारण बगरसहितको लेदो बस्तीमा खसेर स्थानीय खिमादेवी विकको दुईतले पक्की घरमा क्षति पुगेको छ । आज बिहान घरमाथिको बारीबाट आएको लेदोले घरमा क्षति पुर्याएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जोखिमलाई मध्यनजर गर्दै खिमा देवीसहित परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । घिरिङ गाउँपालिका-१ पुट्टारस्थित गुहिया खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा स्थानीयको घरमा पानी पसेको छ । आज बिहान आएको बाढीले भुमलाल दरैको घरसहित अन्य चार वटा ढुङ्गा-माटोले बनेका कच्ची घरको तल्लो तलामा पानी पसेको हो ।
घरहरू जोखिममा परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पुट्टारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले जोखिममा रहेका घरका परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । घटनामा मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।
यस्तै ऋषिङ गाउँपालिका-१ धोक्लोमा पहिरोले दुई वटा कच्ची घरमा क्षति पुर्याएको छ । आज बिहान ६ः३० बजे घरभन्दा करिब एक सय मिटर माथिबाट लेदो, माटोसहितको पहिरो खस्दा भित्री सडकको नाला थुनिएर लेदोमाटो र पानी घरभित्र पसेको हो ।
पहिरोका कारण जितबहादुर राना र डम्बरबहादुर रानाको ढुङ्गा माटोले बनेको एकतले कच्ची घरमा क्षति पुगेको छ । घरमा रहेका सामान तथा लत्ताकपडा क्षति भए पनि मानवीय तथा पशुचौपाय क्षति नभएको प्रहरीले जनाएको छ । घटनापछि घरमा बसोबास गर्ने परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोस्ट झापुटारबाट प्रहरी टोली खटिएको छ ।
बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गास्थित नीरज श्रेष्ठको एकतले कच्ची घरको पछाडिको भाग पहिरोले क्षति पुगेको छ । घरमा बसोबास गर्ने परिवारका सदस्यलाई सुरक्षित स्थानतर्फ सारिएको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका-१४ कैजलेमा दुई घरमा पहिरोले क्षति पुगेको छ । स्थानीय दलबहादुर परियार र सोविता परियारको घरमा क्षति पुगेको छ । उनीहरुको सामग्री प्रहरीले सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
भानु नगरपालिका-२ शिवालय टोलमा लेदोसहितको पहिरोले दुई घरमा क्षति पुर्याएको छ । स्थानीय ४८ वर्षीय विक्रम परियारको ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको एकतर्फी गाह्रो भत्किएको छ । सोही स्थानका २१ वर्षीय राजन सुनारको एकतले कच्ची घरसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।
भानु नगरपालिका–१३ ठूलढुङ्गामा पहिरोले एक भान्साघर पूर्ण रूपमा क्षति पुर्याएको छ । हस्तमाया गुरुङको जस्तापाताको छाना र ढुङ्गा माटोले बनेको भान्साघरमा आँगनबाट पहिरो खसेको हो । पहिरोले भान्साघर पूर्ण रूपमा क्षति हुँदा घरभित्र रहेका अन्नपात तथा भाँडावर्तनसमेत पुरिएर क्षति भएको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका-१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ । स्थानीय तिलबहादुर विकको इँटाले बनेको एकतले कच्ची घरभन्दा करिब ३० मिटर माथिबाट पहिरो खसेर घर पूर्ण रूपमा बगाएको उहाँले बताउनुभयो । पहिरोले घरमा रहेका अन्नपात, सरसामान, गरगहना तथा नगदसमेत बगाएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
पहिरोका कारण डिहीगाउँ-बैरेनी भित्री सडकखण्डमा समेत क्षति पुगेको छ भने सोही स्थानमा रहेका सुकबहादुर दरैको पक्की घर र विष्णुबहादुर दरैको कच्ची घर पहिरोको जोखिममा रहेका छन् ।
व्यास नगरपालिका-५ चापाघाटमा पहिरो खस्दा पेट्रोलपम्पमा क्षति पुगेको छ । तनहुँ आयल डिस्ट्रीब्युटरको पूर्वतर्फबाट करिब ५० मिटर तल खसेको पहिरोले पेट्रोलपम्पको एक डिजेल ट्याङ्कीसमेत बगाएको छ । पेट्रोलपम्पका दुईवटा एकतले कच्ची भवनसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।