काठमाडौं- आज २१ सेप्टेम्बर। विभिन्न विश्व घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९४२- बोइङ बी-२९ सुपरफोर्ट्रेसको पहिलो उडान
बोइङ कम्पनीले निर्माण गरेको बम्बर जहाज बी-२९ सुपरफोर्ट्रेसको पहिलो उडान आजकै दिन भएको थियो। यो जहाज दोस्रो विश्वयुद्ध र कोरियाली युद्धमा व्यापक प्रयोग भएको थियो। यही मोडलका ‘इनोला गे’ र ‘बोस्कार’ नाम दिइएका दुई जहाजले जापानका क्रमशः हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेका थिए।
– सन् १९६१- बोइङ सीएच-१७ चिनुकको पहिलो उडान
अमेरिकामा निर्मित हेलिकोप्टर बोइङ सीएच-१७ चिनुकले आजकै दिन पहिलो उडान भरेको थियो। विभिन्न सशस्त्र द्वन्द्व क्षेत्रमा यो हेलिकोप्टर सैन्य सामग्री ओसारपसारमा विख्यात बनेको छ। खासगरी, अमेरिकी सेनाले यसको प्रयोग बढी गर्ने गर्छ। अफगानिस्तान र इराकको युद्धमा यो हेलिकोप्टरको व्यापक प्रयोग भएको थियो।
– सन् १९६४- ब्रिटेनबाट माल्टा स्वतन्त्र
आजकै दिन दक्षिण युरोपको भूमध्यसागरीय मुलुक माल्टा ब्रिटेनको पञ्जाबाट स्वतन्त्र भएको थियो। उक्त मुलुक सन् १८१४ मा पेरिस सन्धिमार्फत ब्रिटेनको कब्जामा परेको थियो। केही वर्ष क्विन अफ इंग्ल्यान्डमातहत रहेर माल्टाले १३ डिसेम्बर १९७४ मा पूर्ण स्वतन्त्रता घोषणा गरेको थियो।
– सन् २०१३- नैरोबीको मलमा आतंकवादी आक्रमण
अफ्रिकी मुलुक केन्याको राजधानी नैरोबीस्थित वेस्टगेट मलमा आजकै दिन आतंकवादी आक्रमण भएको थियो। आतंकवादी समूह अल-सबाबले गरेको आक्रमणमा ६३ जना पसले मारिएका थिए। केन्याको सुरक्षा फौजले गरेको जवाफी कारवाहीमा चारजना आतंककारी मारिएका थिए। सोमालियामा केन्याको सशस्त्र सुरक्षा फौज उपस्थित गराइएको विरोधमा उक्त आक्रमण गरेको अल-सबाबले बताएको थियो।
– सन् २०१६- सबै गैर-अफ्रिकी ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट
सन् २०१६ मा आजकै दिन वैज्ञानिकहरूले हाल अफ्रिका महादेशभन्दा बाहिर रहेका मानिस ५० हजारदेखि ८० हजार वर्षअघि अफ्रिकाबाटै हिँडेका मानिसका वंशज भएको खुलासा गरेका थिए। ‘नेचर’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार तीनवटा आनुवंशिक अध्ययनहरूबाट उक्त निष्कर्ष निकालिएको थियो।
– सन् २०१६- ६०० सवार डुंगाका १६३ यात्रु मात्र बचे
सन् २०१६ मा आजकै दिन आप्रवासी सवार डुंगा इजिप्टको सीमास्थित समुद्री तटमा डुबेको थियो। उक्त डुंगामा ४५० देखि ६०० जना आप्रवासी सवार रहेको अनुमान छ। तीमध्ये १६३ जनालाई मात्र जीवितै उद्धार गरिएको थियो।
– सन् २०२२- युक्रेन युद्धमा मारिएका सैनिक संख्या रुसले ढाँट्यो
सन् २०२२ मा आजकै दिन रुसले युक्रेन युद्धका क्रममा हालसम्म आफ्ना ५ हजार ३९७ जना सैनिक मारिएको दाबी गरेको थियो। तर, त्यो संख्या ८० हजारसम्म हुन सक्ने न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा उल्लेख थियो।
– सन् २०२२- ट्रम्पविरुद्ध ठगी मुद्दा
सन् २०२२ मा आजकै दिन अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कका महान्यायाधीवक्ता लेटिटिया जेम्सले ठगी गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन्। ट्रम्प र उनका ३ सन्तानले अर्बौं डलर सम्पत्ति बढाउन व्यापक ठगी गरेको उनको आरोप थियो।
– सन् २०२४- इरानी कोइला खानीमा मारिए ५०
सन् २०२४ मा आजकै दिन इरानको कोइला खानीमा भएको विष्फोटमा ५० जना मारिएका थिए। इरानको पूर्वी क्षेत्रस्थित तबासमा भएको उक्त घटनामा खानीमा खटिएका मजदूर जमिनभित्रै फसेका थिए।
– सन् २०२५- ४ मुलुकले दिए प्यालेस्टिनलाई मान्यता
सन् २०२५ मा आजकै दिन ४ वटा मुलुकले प्यालेस्टिनलाई अलग देशको मान्यता दिएका थिए। त्यसरी मान्यता दिने देशहरूमा अस्ट्रेलिया, बेलायत, क्यानाडा र पोर्चुगल थिए।