तुम्लिङटार-टीएमजे-ओलाङचुङगोला या बीपी-मदन भण्डारी राजमार्ग-तम्मोर करिडोर। दुवै रुटबाट संखुवासभा र ताप्लेजुङलाई जोड्दै बृहत्तर पर्यटकीय गन्तव्य तयार हुन सक्छ।
एउटा नयाँ गन्तव्य पहिल्याउनु थियो। त्यसैले १८ फागुनमा म काठमाडौंबाट संखुवासभाको तुम्लिङटार विमानस्थलका लागि उडेँ। सोही दिन खाँदबारीमा एमाले, संखुवासभा र प्रेस चौतारीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका थिए। त्यस दिन खाँदबारीमै बास बसेर भोलिपल्ट ताप्लेजुङतर्फ लागेँ। संखुवासभा पुगेर ताप्लेजुङतिरको यात्रा ? अनौठो लाग्न सक्छ। खासमा, यो नयाँ यात्रा गन्तव्य हो।
तुम्लिङटारमा उत्रेर म गाडीमा चैनपुर हुँदै संखुवासभाको धर्मदेवी नगरपालिका र त्यहाँबाट तेह्रथुम हुँदै ताप्लेजुङ निस्किएँ। म ताप्लेजुङको साँघुमा जन्मे-हुर्केको भए पनि हाल संखुवासभाको मादी नगरपालिकास्थित मादी माविमा पढेको हुँ। एसएलसी सोही विद्यालयबाट उत्तीर्ण गरेको हुँ। संयोगवस, त्यतिबेला एसएलसी परीक्षाको केन्द्र पनि सोही विद्यालयमा थियो।
म जन्मे-हुर्केको ठाउँ अर्थात् मेरो गाउँ ताप्लेजुङको साँघु जिल्लाको पश्चिमी भेगमा पर्छ। र, त्यहाँबाट संखुवासभा र तेह्रथुम नजिक पर्छन्। संखुवासभाको धर्मदेवी र मादी नगरपालिकानजिक पर्छन्, मेरो गाउँबाट। त्यसैले हामी ताप्लेजुङको पश्चिमी भेगका बासिन्दाका लागि अरुण नदीको किनारमा पर्ने तुम्लिङटार विमानस्थल पनि उपयुक्त हुन सक्छ। किनकि, हामी ताप्लेजुङ जाँदा या त भद्रपुर विमानस्थल, या विराटनगर विराटनगर विमानस्थलमा उत्रिनुपर्छ। गाडीबाट जाँदा पनि झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम र त्यहाँबाट पश्चिमतर्फ जानुपर्छ। विराटनगर र भद्रपुरका विमास्थल र सडकमार्ग सबै हाम्रा लागि लामो दूरी पर्छन्।

गुफा पोखरी
यदि तुम्लिङटार विमानस्थलबाट ताप्लेजुङसम्म गाडीको सुविधा हुने हो भने हामी एकै दिनमा साँघु पुग्न सक्छौँ। तुम्लिङटारबाट सभाखोला तरेर चैनपुर, माम्लिङ, मुढे शनिश्चरे र टुटे देउराली पुग्न सकिन्छ, त्यो पनि करिब दुई घण्टामा। टुटेबाट गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजलेको रमणीय दृश्यमा रमाउँदै साँघु पुगेको पत्तै हुँदैन। तीनजुरे, मिल्के, जलजले इलाकामा संसारमै सबैभन्दा बढी ३२ प्रजातिका गुराँस पाइन्छन्। अहिले त धरान, धनकुटा, विराटनगर, झापालगायत स्थानमा आन्तरिक पर्यटक बिदाको मौका मिल्नासाथ तीनजुरे, मिल्के, जलजले क्षेत्रमा रमाउन पुग्छन्। गुराँस फुलेको सिजनमा यहाँ आन्तरिक पर्यटक ठूलो भीडभाड हुन्छ।
त्यो रुट मैले बालखैदेखि हिँडिरहेको बाटो हो। खासगरी, काठमाडौंमा कलेज पढ्न आउँदा कतिपटक यो रुटमा हिँडियो भन्ने कुनै हिसाब छैन। त्यसैले यस रुटका कुनाकाप्चा, कुन ठाउँ कस्तो छ भनेर सबै जानकारी छ। त्यो रुटमा हिँड्दा बसेको, खाजा खाएको, सुतेको, दही चिउरा खाएको सम्झना ताजै छ मन मस्तिष्कमा। त्यस रुटमा पर्ने बजार र बस्तीका मानिससँगको चिनजान धेरै पुरानो हो।
हामी ताप्लेजुङको साँघुस्थित घरबाट मिल्के उक्लिन्थ्यौं। मिल्के उक्लिँदा हामीलाई करिब ४ घण्टा लाग्थ्यो। ठाडो उकालो। त्यसपछि हामी मिल्केबाट गुफा आउँथ्यौँ। जंगलको बीचमा गुफापोखरी बजार रमणीय छ। गुफापोखरी संखुवासभा र तेह्रथुमको सिमाना बजार हो। त्यसपछि इलमपोखरी भन्ने ठाउँमा पुगिन्छ। त्यसपछि मंगलबारे भन्ने ठाउँ आउँछ। मंगलबारे पनि संखुवासभा र तेह्रथुमको सिमानामा पर्छ। संखुवासभा र तेह्रथुमको सिमाना हुँदै हुँदै तीनजुरे उक्लिछौं। त्यो रुटको सबभन्दा उचाइ रहेको भनेको तीनजुरे हो। सम्भवतः यो करिब १३ सय फिट उचाइमा छ। त्यसपछि हामी टुटे देउराली हुँदै तल झरेपछि वसन्तपुर बजार आउँछ। त्यो हाम्रो बास बस्ने ठाउँ हो।
हाम्रो घरबाट बिहानै ४-५ बजे नै बाटो लाग्यौं भने बेलुकीको बास बस्न वसन्तपुर आइपुगिन्छ। भोलिपल्ट बिहानै हिँडेर हिलेबाट गाडी चढ्ने र कहिले धनकुटाबाट गाडी चढ्ने गथ्र्यौं त्यतिबेला। किनकि, हामी कलेज पढ्न आउँदा वसन्तपुरसम्म पनि गाडी पुगेको थिएन। कतिसम्म भने १-२ पटक त धनकुटासम्म आउँदा पनि गाडी नपाएर हिँडेरै धरान पुगेको सम्झना छ। त्यही भएर त्यो रुटको अपनत्व छ मलाई।
‘गुराँस’को राजधानी तीनजुरे-मिल्के-जलजले क्षेत्रमा तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के इलाका पर्छन्। यिनै इलाकालाई समेटेर ‘टीएमजे संरक्षित क्षेत्र’ बनाइएको छ। तीन जिल्लाको संगम भएर मात्र होइन, गुराँसलगायत वनस्पतिको उद्यानका रूपमा पनि विकास गर्न खोजिएको छ, यहाँ। यस संरक्षित क्षेत्रका उच्चस्थानमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघुजस्ता साना-ठूला बस्ती छन्।
यो क्षेत्र समुद्री सतहदेखि एक हजार ७०० देखि पाँच हजार मिटरसम्मको उचाइमा पर्छ। यस संरक्षित क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिखम्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुरलगायत जडीबुटी पाइन्छन्। र, हिमाली भेगमा बस्ने वन्यजन्तु पनि प्रशस्त छन्। यस क्षेत्रमा मात्र ३३ भन्दा बढी पोखरी छन्। तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँचपोखरीको चर्चा बढी छ।
त्यसैले तुम्लिङटारबाट ताप्लेजुङ जान छोटो हुन्छ, हामीलाई। किनभने, अहिले त ठूला जहाज पनि उडान, अवतरण गर्न सक्ने भएको छ, तुम्लिङटार विमानस्थल। जुनसुकै मौसममा पनि यो विमानस्थलबाट उडान, अवतरण हुन सक्छ। तुम्लिङटारबाट गाडी लियौं भने ठ्याक्कै टुटे देउराली करिब दुई घण्टामा पुग्छौं। विराटनगरबाट टुडे देउराली पुग्न करिब ४ घण्टा लाग्छ। तुम्लिङटारबाट जाँदा दुई घण्टा समय बचत हुन्छ। त्यहाँबाट अर्को करिब दुई घण्टामा घर नै पुग्छौं। विराटनगरबाट टुटे पुग्ने समयमा हामी तुम्लिङटारबाट घरै पुगिसक्छौँ। अहिले टुटेबाट साँघुसम्मको बाटो कच्ची छ। बहुवर्षीय बनाएर कालोपत्रे गर्ने योजना सरकारलाई दिएका छौँ। टुटेबाट करिब ५० किलोमिटरमा साँघु पुगिन्छ। यो संखुवासभा र तेह्रथुमसँग जोडिएको गाउँ हो। स्वर्गीय मदन भण्डारी जन्मिनुभएको गाउँ पनि यही हो। त्यहाँबाट सदरमुकाम फुङलिङ पुग्न गाडीमा दुई घण्टा लाग्छ।
विगतमा विदेशीहरूको ट्रेकिङ रुट पनि हो यो। यहाँबाट अरुण उपत्यका र कञ्चनजंघा आधारशिविरतिर पनि जान्थे, विदेशी पर्यटक। अहिले पनि भर्जिन ट्रेकिङ रुट हो। यसलाई प्रबर्द्धन गर्न आवश्यक छ। अब त कतिपय ट्रेकिङ रुट पुराना भइसके। त्यसैले नयाँ गन्तव्यहरू पहिल्याउन आवश्यक छ, आन्तरिक-बाह्य पर्यटन प्रबर्द्धनका लागि। भविष्यमा त्यस्ता नयाँ पर्यटकीय रुटले नेपालको पर्यटन प्रबर्द्धनमा ठूलो योगदान दिन सक्ने छन्।
यस्ता रुटमा प्राकृतिक सौन्दर्य मासिएको छैन। मानवीय हस्तक्षेप बढेको छैन। सरकारले तीनजुरे, मिल्के, जलजलेलाई गुराँस संरक्षित क्षेत्र बनाएको छ। त्यसलाई म पर्यटन मन्त्री हुँदा गुराँस उद्यान बनाउने भनेर केही बजेट पनि छुट्याएको छु, तीनवटै जिल्लाले काम गर्ने गरी।

गुफापोखरीका आफ्नै ऐतिहासिक कथनहरू छन्। त्यहाँ महाभारतकालीन पात्र भीमसेनले ढुंगा फालेको जनविश्वास रहिआएको छ। त्यसभन्दा माथि मेनछेम भन्ने किराँत धर्मावलम्बीकी देवीको मन्दिर छ। त्यसभन्दा उता जाँदा सभापोखरी पुगिन्छ। पाँच पोखरी पनि यही क्षेत्रमा पर्छ। पोखरी नै पोखरी छन्, यस क्षेत्रमा। ताप्लेजुङभन्दा माथि दुई सयभन्दा बढी हिमताल छन्। त्यसैले त्यहाँ पानी धेरै पर्छ। ठूल-ठूला पोखरी छन्। ताप्लेजुङको माथिल्लो भेगमा सोधुपोखरी, तिम्बुङ पोखरी छन्। तिम्बुङ पोखरी झण्डै फेवाताल जत्रै ठूलो छ।
उत्तर-दक्षिण लोकमार्गको अवधारणा एमालेको सरकारको पालामा आएको हो। चीनबाट नेपाल हुँदै भारतका बिहार र पश्चिमबंगाल जोड्ने सबैभन्दा छोटो रुट पनि ताप्लेजुङमै पर्छ। उत्तर-दक्षिण लोकमार्गको यो सबैभन्दा छोटो रुट हो। धनकुटाको मुलघाटबाट तम्मोर करिडोर हुँदै ओलाङचुङगोलाबाट टिप्ताला भञ्ज्याङ पुग्न सकिन्छ। किमाथांकाबाट जोगवनी, रसुवागढीबाट वीरगञ्ज, तातोपानीबाट वीरगञ्ज, मुस्ताङको कोरलाबाट भैरहवा र हुम्लाको लिमीबाट नेपालगञ्जको दूरी धेरै पर्छ। ती सबैभन्दा छोटो दूरीमा छ, टिप्ताला भञ्ज्याङ। तर, यो भञ्ज्याङको एक मात्र समस्या यहाँ हिउँदका केही महिना हिउँ जम्छ। तर, तुम्लिङटारबाट संखुवासभाको चीन सीमावर्ती किमाथांका जाँदा त्यो रुट भने बाह्रैमास चल्छ। किनकि, किमाथांकामा हिउँ जमेर बस्दैन।
नेपालसँग तिब्बत, चीनको व्यापार हुने शहर सिगात्से हो। सिगात्सेबाट सबैभन्दा छोटो बोर्डर भनेको यही टिप्ताला हो। सिगात्सेबाट दुई सय किलोमिटर होला, टिप्ताला भञ्ज्याङ। सिगात्सेबाटै हो, तातोपानी, रसुवागढी र किमाथांकासम्म सामान ढुवानी हुने पनि।
ताप्लेजुङ, चीनको तिब्बत र सिक्किम जोडिने विन्दुसम्म पुग्न सकिन्छ, तीनजुरे-मिल्के-जलजले क्षेत्र हुँदै। सीमापारि सिक्किमतर्फ पनि पनि ठूलो निकुञ्ज छ। ताप्लेजुङमा कञ्चनजंघा राष्ट्रिय निकुञ्ज छ। तिब्बततर्फ पनि निकुञ्ज छ। यी तीनवटै एकअर्कासँग जोडिन्छन्। कञ्चनजंघा राष्ट्रिय निकुञ्जका रेडपाण्डा र हिउँ चितुवाहरू सिक्किम र तिब्बततिर घुम्न जान्छन्। तिब्बतका वन्यजन्तु पनि ताप्लेजुङ आउँछन्। सिक्किमका वन्यजन्तु पनि नेपाल र तिब्बततर्फ पुगिरहेका हुन्छन्। कतिपय त भुटानसम्म पनि आउजाउ गर्छन्। डब्लूडब्लूएफले पनि कञ्चनजंघालाई रोमान्टिक निकुञ्जका रूपमा मानेको छ।
अहिले शिकारका लगि कञ्चनजंघा निकुञ्ज खुला छैन। अब शिकारका लागि पनि खोल्नुपर्छ भनेको छु। बागलुङको ढोरपाटन शिकार आरक्षभन्दा धेरै आकर्षक शिकार एरिया हुन सक्छ, कञ्चनजंघा। किनभने यहाँ घोरल, नाउरलगायत वन्यजन्तु प्रशस्त पाइन्छन्, कञ्चनजंघामा।
तम्मोर करिडोरले हामीलाई धनकुटा मूलघाटबाट सुनसरीको चतारामा मदन भण्डारी राजमार्गसँग जोड्छ। लामो यात्रा गर्न रुचाउने पर्यटकका लागि काठमाडौंबाट ताप्लेजुङ जानुपर्दा बीपी राजमार्ग समाउने, त्यहाँबाट भिमान सिन्धुली पुग्ने, त्यहाँबाट मदन भण्डारी राजमार्ग पस्ने र चतारा निस्कने अनि चताराबाट मूलघाट निस्कने। त्यहाँबाट तम्मोर करिडोर हुँदै सीधै ओलाङचुङगोला र टिप्ताला भञ्ज्याङ पुग्न सकिन्छ। तम्मोर करिडोर सडक जोडिन अब थोरै मात्र बाँकी छ। चीनको सहयोगमा उताबाट टिप्ताला भञ्ज्याङभन्दा तलसम्म सडक आइसकेको छ। यताबाट ओलाङचुङगोला पुग्न तीन किलोमिटर बाँकी छ।
नेपालका गुम्बाहरूमध्ये सबैभन्दा पुरानो डिक्की छोलिङ गुम्बा ओलाङचुङगोलामै पर्छ। यो विभिन्न कारणले जीर्ण भभएको छ। म पर्यटन मन्त्री भएका बेला करिब १० करोड रुपैयाँ बजेट छुट्याएको थिएँ। अहिले यो गुम्बाको जिर्णोद्धार भइरहेको छ। अहिले त्यहाँका बहुमूल्य सामानलाई थन्क्याउने काम भइरहेको छ। त्यसलाई पुरानै शैलीमा कायम राख्ने छौं।
चीनमा सन् १९४९ मा क्रान्ति भभएको केही समयपछि दलाई लामा तिब्बतबाट भागेर भारत पुगे। उनी भागेर तिब्बतबाट भारतको धर्मशालामा गएर बसे। तिब्बतबाट भारत जाँदा उनले प्रयोग गरेको रुट यही हो भन्ने गरिन्छ। मैले कुनै किताबमा पढेको थिएँ, टिप्ताला क्षेत्रमा तैनाथ चिनियाँ सेनाले दलाई लामा भागेर नेपालतर्फ पसेको रिपोर्टिङ आफ्नो हेडक्वार्टरमा गरेका थिए। हेडक्वार्टरबाट भाग्न देऊ भनेर जवाफ दिइएको त्यो पुस्तकमा उल्लेख छ।

अर्को महत्त्वपूर्ण रुट पनि छ यस क्षेत्रमा, गुरु पद्मसम्भव हिँडेको रुट। मैले मन्त्री भएको बेलामा पद्मसम्भव रुट खोल्नुपर्छ भनेर डा. रमेश ढुंगेल, डा. सन्दुक रुइतसहितका विज्ञहरूको टिम बनाएर काम गर्न भनेको थिएँ। त्यसमा पछिल्लो सरकारले के गरिरहेको छ भन्ने जानकारी छैन। गुरु पद्मसम्भव हाल पाकिस्तानमा तक्षशीलामा पढाउँथे। त्यहाँबाट उनी नेपाल आए। मैले सुनेअनुसार तक्षशीलाबाट नेपाल आएर चोभारमा बसे। त्यहाँबाट यात्राको शुरुवात गरे। चोभारबाट स्वयम्भू, स्वयम्भुबाट बौद्धनाथ, बौद्धनाथबाट नमोबुद्ध, खोटाङको हलेसी, त्यहाँबाट अरुण उपत्यका र त्यहाँबाट ताप्लेजुङ पुगे। ताप्लेजुङबाट ओलाङचुङगोला हुँदै तिब्बत गएका थिए भनिन्छ। तिब्बतमा घुमघामपछि फेरि मुस्ताङबाट नेपाल भित्रिए। बौद्ध धर्मावलम्बीहरूमा सबैभन्दा बढी सम्प्रदाय पद्मसम्भवलाई मान्नेहरू छन्। त्यसैले चोभारदेखि ओलाङचुङगोलासम्म गुरु पद्मसम्भव रुट तयार पार्नु आवश्यक छ। यसरी, संखुवासभा र ताप्लेजुङका बृहत्तर सम्भावना पहिल्याउन सकेमा भविष्यमा त्यसले नयाँ र बृहत पर्यटकीय गन्तव्यको ढोका खोल्न सक्नेछ।
(घुमफिरका सौखिन एमाले केन्द्रीय सचिव तथा पूर्वपर्यटनमन्त्री भट्टराईसँग कुराकानीमा आधारित। भट्टराईको पैदल यात्रामा आधारित रहेर हामी केही शृंखला लगातार प्रकाशित गर्दैछौँ।)