• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

माता पार्वतीको दर्शन गर्न मानसरोवर किनारमा जाग्राम !


शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

निकै पहिलादेखि नै कैलाश मानसरोवरको यात्रा गर्नेबारे सोच्दै आएको थिएँ। तर, जानैपर्छ भनेर अमेरिकाको अटलान्टामा दुईजना रुसी महिलाले कैलाश मानसरोवर ‘सेन्टर अफ अर्थ’ हो भनेर एकपटक भ्रमण गर्न प्रेरित गरे। उनीहरूले त्यति नजिक भएर पनि त्यहाँ नपुग्‍ने, संसारभरका मानिस त्यहाँ पुग्छन् भनेर उक्साएका थिए। रोटरीको इन्टरनेसनल कन्फरेन्समा जाँदा सन् २०१७ को कुरा हो यो। मैले नेपाली टोपी लगाएको भएर मलाई नेपालको बासिन्दा भनेर चिने। ‘कैलाश मानसरोवर गयौ’ भनेर सोधे। मैले ‘छैन’ भन्दा आश्‍चर्य प्रकट गरे। र, भने, ‘त्यति नजिक भएर पनि नजाने?’

Advertisement

त्यसयता पनि जाने अवसर मिलिरहेको थिएन। बीचमा कोभिड महामारीका कारण झण्डै ३ वर्ष नै कैलाश मानसरोवर यात्रा रोकियो। रोटरी क्लबमा मित्र हुनु हुन्छ, रमेश ओझा। उहाँले कैलाश मानसरोवरको यात्रा चलाउनु हुन्छ। कोभिड अगाडि त ‘पासपोर्ट ल्याउनूस्, सजिलै पुग्‍न सकिन्छ’ भन्‍नुभएको थियो। त्यतिबेला जान सकिएन। अहिले चीनले अलि कडाइ गरेको भएर प्याकेजमै जानुपर्छ भन्‍नुभयो। मलाई उहाँले डिस्काउन्ट प्याकेज पनि उपलब्ध गराइदिनुभयो। र, कैलाश मानसरोवर यात्रा गर्ने अवसर जुर्‍यो यसपालि।

२५ अगस्ट (८ भदौ)मा काठमाडौंबाट बाटो लाग्‍ने तय भयो। काठमाडौं गोंगबुबाट बिहान साढे ८ बजे गाडी चढ्यौं। यसबीचमा हाई अल्टिच्युटमा जाने अभ्यास पनि गर्न भ्याएँ। हाई अल्टिच्युट सिकनेसबाट कसरी बच्ने भनेर सिकेको पनि थिएँ। रमेशजीले सबै मेडिसिनको व्यवस्था गरिदिने हुनुभयो। र, आफूले सेवन गरिरहेका औषधिहरू बोक्न नछुटाउन भन्‍नुभएको थियो। झोला र ज्याकेट पनि उहाँहरूले नै व्यवस्थापन गरिदिनु हुँदो रहेछ। व्यवस्थित यात्राको सुनिश्‍चितता दिलाउननुभयो। दुई दिनअघि नै झोला, ज्याकेट उपलब्ध गराइदिनुभयो। सोहीअनुसार प्याकेजिङ गरेर तयार भइसकेको थिएँ।

सिंगापुर र अमेरिकी पर्यटकहरूको ठूलो समूह थियो। मलाई पनि सोही समूहमा आबद्ध गराउनुभयो। उनीहरू होटल हायात प्यालेसमा बसेका थिए। उनीहरूसँग गोंगबुमा बस चढें। बसले रसुवागढीभन्दा करिब एक किलोमिटर वर घट्टेखोलो भन्‍ने ठाउँसम्म पुर्‍याइदियो। पहिलो दिन त्यहीं बास बसियो। भोलिपल्ट चिनियाँ अध्यागमन पुगेर पासपोर्टमा छाप लगाउनु थियो। उताबाट गाइड आएर हामीले लैजाने तय भएको थियो। होटल हिमालय भन्‍नेमा बास बस्यौं, घट्टेखोलामा।

तर, अघिल्लो दिन चीनको केरुङमा बाढीले बाटो बिगारिदिएको रहेछ। त्यसका कारण दुई दिनदेखि तिब्बत छिर्न दिइएको रहेनछ। हामीसँगै उनीहरू पनि दुई दिन रोकिएका यात्री पनि तिब्बत प्रवेश गरे। अहिले चीन सरकारले नेपाललाई विशेष सुविधा दिएको रहेछ, कैलाश मानसरोवर यात्रामा निस्किन। रसुवागढीबाहेकका नाकाबाट त्यता जान नाका खोलिएको छैन। रसुवागढीबाट मात्र जान पाउने व्यवस्था गरिएको रहेछ। भारतीय पर्यटकलाई यस वर्ष त्यता जान दिइएको छैन। हुम्लाको सिमिकोट, हिल्सा हुँदै प्रवेश गर्न पनि दिइएको रहेनछ। रसुवागढीबाट केरुङ हुँदै जान पनि स्पेसल पर्मिटको व्यवस्था रहेछ। त्यो पनि नेपालबाट मात्र जान पाइने।

तिब्बतबाट समूहलाई निमन्त्रणा आउनुपर्ने, त्यसका आधारमा काठमाडौंस्थित चिनियाँ दूतावासले आउटसोर्स गरेको भिसा सेन्टरबाट भिसा लिनुपर्ने, त्यही कागजात बोकेर रसुवागढी नाका पुग्‍नुपर्ने रहेछ। त्यहाँ बायोमेट्रिक्स दिई अध्यागमन क्लियर गराएर हामी दोस्रो दिन केरुङ गएर बास बस्यौं। हामी बास बसेको पुरानो केरुङ थिएन, नयाँ केरुङ थियो। नयाँ केरुङ चिनियाँहरूले रातारात बसाएको शहर हो। यो नयाँ केरुङ करिब १० वर्षअघि त्यहाँ पुग्दा बल्ल बन्‍न शुरु भएको थियो। अहिले नयाँ शहर तयार भइसकेको रहेछ।

त्यो शहरमा औद्योगिक पार्कहरू निर्माण भएका छन्। चीनबाट नेपाल आउने गाडीहरू सामान बोक्न तम्तयार देखिन्छन्। भव्य बजार बनेको छ। सडक उस्तै राम्रो छ। उत्पादन पनि गज्जब भइरहेको देखिन्छ। चिनियाँहरूले निकट भविष्‍यमा दक्षिण एसियाको बजार छिर्न पूर्ण तयारी अवस्थामा राखेको आभास हुन्छ, त्यहाँ पुग्दा। रसुवागढी नाकाबाट मात्र २५ किलोमिटर दूरीमा पर्छ नयाँ केरुङ। पुरानो केरुङ त अलि टाढा नै पर्छ। तर, त्यसलाई पनि परम्परागत शहरभन्दा अलि व्यवस्थित बनाइसकेका रहेछन्।

केरुङला पास, जहाँ सुरुङमार्ग निर्माणाधीन छ

त्यस क्षेत्रमा चिनियाँहरूले बनाएको पूर्वाधार हेर्दा उनीहरू साँच्चै दक्षिण एसियासँग छिट्टै जोडिन चाहन्छन् भन्‍ने प्रष्‍ट देखिन्छ। र, यताबाट जानेहरूलाई स्वागत गर्न पनि आतुर छन् भन्‍ने देखिन्छ। चिल्लो सडक तयार पारेका छन्, दुई लेनकै भए पनि। ट्रान्समिसन लाइन तयार पारिसकेका छन्। सडकमा धमाधम सुरुङ मार्गहरू बनाइरहेका छन्। पुरानो केरुङ क्रस गरेर न्यालम, सिगात्सेबाट आउने सडक जोडिने ठाउँमा झण्डै ५ हजार मिटरको भञ्‍ज्याङ (पास) पार गर्नुपर्छ। त्यहाँ धमाधम सुरुङ मार्ग निर्माण हुँदै रहेछ। निकै वर्ष अघिदेखि त्यो सुरुङ निर्माण शुरु भएको हो रे। तर, बीचमा ठेकेदार भागेको भएर ढिलो भएको रहेछ। त्यसको अर्थ हामीकहाँझैं चीनमा पनि बीचमै काम छाडेर ठेकेदार भाग्‍ने समस्या रहेछ।

पुरानो केरुङमा भने हामी गाडीबाट उत्रिएनौं। तेस्रो दिन सागा भन्‍ने ठाउँ पुगेर बास बस्यौं। केरुङतिर नेपाली नागरिकहरूको उपस्थिति धेरै रहेछ। केरुङमा कामदार मात्र होइन, होटल, रेस्टुराँ चलाएर बसेका नेपालीहरू रहेछन्। खासगरी, रसुवाका बासिन्दा त्यहाँ काम गर्न पुग्‍ने रहेछन्। सागा भने औद्योगिक शहर रहेछ। सागा पुग्दा हाई अल्टिच्युट लाग्‍न शुरु हुँदो रहेछ। सागामा पनि व्यवस्थित बस्ती बसाएका रहेछन्। गाडीबाट उत्रेर सागा बजारको भ्रमण पनि गर्‍यौं।

भोलिपल्ट हामी मानसरोवर पुग्यौं। मानसरोवर पुग्‍नुअघि हामीलाई रसुवागढबाट चढेको गाडीले छाडिदियो। र, अर्को गाडीमा राखियो। मानसरोवर नजिकसम्म पुगेर अवलोकन गर्‍यौं। मानसरोवरसँगै जोडिएको राक्षस तालमा हेर्‍यौं। यही राक्षस तालबाट हाम्रो कर्णाली नदीको उत्पत्ति हुन्छ।

त्यस दिन मानसरोवरकै किनारमा बनाइएको डोरमेट्रीमा बास बस्यौं। तर, त्यहाँ चिनियाँहरूले शौचालय र बाथरुमहरू व्यवस्थित गरिनसकेको अवस्था रहेछ। केरुङ, सागातिर जुन किसिमका व्यवस्थित होटलमा बास बस्‍न पाइयो, मानसरोवरमा भने त्यस्ता होटल नै रहेनछन्, डोरमेट्रीमै रात बिताउनुपर्ने रहेछ। फोहोर शौचालय प्रयोग गर्नुपर्ने रहेछ। कृत्रिम वर्षा नै गराउन सक्ने चिनियाँहरूले मानसरोवरमा व्यवस्थित शौचालयको निर्माण किन गर्न नसकेका हुन् भन्‍ने हामीले बुझेनौं।

सागा पुग्दा हाई अल्टिच्युड लागेर टाउको दुख्दै थियो। मानसरोवर पुग्दा त्यस्तो केही फिल भएन। त्यति अग्लो ठाउँमा कतैबाट पानी आएको देखिँदैन, पानी कतै गएको पनि देखिँदैन। तर, कञ्‍चन पानी जमेको मानसरोवर कसरी तयार भएको होला र कसरी निरन्तर पानी जमिरहेको छ भन्‍ने आश्‍चर्यबोध हुँदो रहेछ। त्यहाँ पुग्दा सारा दुःख, निराशा भुलेको अनुभूति हुन्छ। एक प्रकारले स्वर्गमै पुगेझैं अनुभूति हुँदो रहेछ। अर्कै प्रकारको सकारात्मक ऊर्जा प्राप्त हुन्छ।

भनाइ नै छ, कैलाश मानसरोवर भोले बाबाले नबोलाई जान पाइँदैन। हामीलाई पनि भोले बाबाले बोलाएर कैलाश मानसरोवर पुग्‍न पाएको अनुभूति भयो। राक्षस तालमा भने धेरै नजिक जान दिएनन्। त्यो तालमा पूजाआज गर्ने चलन पनि रहेनछ। जब कि, मानसरोवरको नजिकसम्म पुग्यौं। तालको पानी लिएर आयौं। राक्षस ताल भने अलि माथिबाट देखाइँदो मात्र रहेछ। राक्षस तालमा नुहाएर रावणले शिवजीसँग वरदान लिएको भन्‍ने किंवदन्ती रहेछ। त्यसैले होला राक्षस ताललाई अशुद्ध मानिँदो रहेछ।

मानसरोवरबाट करिब १२५ किलोमिटर टाढा पर्दो रहेछ, ताक्लाकोट। तिब्बतको उक्त शहरबाट हुम्लाको हिल्साको पारिपट्टि पर्छ। मानसरोवरमा कोही बिरामी परेर उपचार गर्नु परेमा ताक्लाकोट पुर्‍याइँदो रहेछ। राति नै ताक्लाकोट पुर्‍याएर उपचार गराइँदो रहेछ। मानसरोवर वरिपरि त्यति सुविधासम्पन्‍न अस्पतालको व्यवस्था भएजस्तो लागेन।

मानसरोवरमा अहिले तालमै गएर नुहाउन पाइँदो रहेनछ। ताल किनारका टेन्टमा तातोपानीको व्यवस्था गरिँदो रहेछ। पानी मानसरोवरकै हुँदो रहेछ। मानसरोवरमा साबुन लगाएर नुहाउन निषेध रहेछ। हामीले पनि टेन्टमा तातोपानीमा नुहायौं।

हामीसँगै यात्रामा थिए, भारतको चेन्‍नईमा जन्मे-हुर्केका, अहिले अमेरिकी नागरिक। करिब ७० वर्षका हुँदा हुन्। नाम भानु नारायणन्। उनले कथा सुनाए- राति ब्रह्म मुहुर्तमा पार्वती कैलाश पर्वतबाट आफ्ना सखीहरूका साथमा नुहाउनका लागि मानसरोवरमा आउँछिन्। उनी पनि उठे, हामी पनि उठ्यौं। राति अढाइ बजेदेखि तालको किनारमा बस्यौं। साढे ४ बजेसम्म पार्वती मातालाई देख्‍न पाइने आशाका कारण हामीले राति दुई घण्टा तालको किनारमा बितायौं। हाम्रा चर्मचक्षुले पार्वती माताको दर्शन गर्न सकेनौं !

आजकाल मानसरोवर कतै कतै फोहोर देखिन थालेको रहेछ। मानिसले नै गरेको फोहोर हो त्यो। तर, तालको अधिकांश हिस्सा कञ्‍चन, नीलो र सफा देखिन्छ। हामीसँगै मलावीकी पर्यटक प्रभ्ना पटेल पनि थिइन्। उनी त ताल किनारमा ध्यानमै बसिन्। नेपाली नागरिक ऋतु राणा पनि राति पार्वतीको दर्शन गर्न पाइने आशामा हामीसँगै जानुभयो।

भोलिपल्ट बिहान खाना खाएर मानसरोवरबाट हिँड्यौं। र, धार्चेन पुग्यौं। मानसरोवरबाट धार्चेन मात्र एक घण्टाको ड्राइभिङमा पुगिने रहेछ। त्यस दिन धार्चेनमै बास बस्यौं। भोलिपल्ट बिहान साढे ८ बजे हिँड्ने तय गरेर राति त्यहीं सुत्यौं। हाई अल्टिच्युडबाट अभ्यस्त हुनका लागि दिउँसै धार्चेनमा बास बसाइँदो रहेछ।

कैलाश परिक्रमा पनि दायाँ र बायाँ दुई साइडबाट गरिँदो रहेछ। हामी हिन्दूहरू क्लजवाइज अर्थात बायाँबाट परिक्रमा गर्दा रहेछौं। जैनहरू भने एन्टी क्लजवाइज अर्थात दायाँबाट परिक्रमा गर्दा रहेछन्। मानसरोवर कति आस्थाको केन्द्र हो भन्‍ने मानिसले १८-२० दिन लगाएर लम्पसार परेर परिक्रमा गरिरहेको दृश्यबाट प्रष्‍ट हुन्छ। खासगरी, तिब्बतका बासिन्दा त्यसरी परिक्रमा गर्दा रहेछन्।

धार्चेनमा लौरो र वर्षादी किन्यौं। बीचमा पानी परिहालेमा वर्षादी आवश्यक हुन्थ्यो। कतिपयले स-साना कन्टेनरमा अक्सिजन पनि खरिद गरे। हाम्रा टुर अपरेटर असाध्यै अनुभवी थिए। रमेश ओझाका आफ्नै भाइ अनिल ओझाले हामीलाई गाइड गरेका थिए। उनले केरुङदेखि नै अक्सिजन लेभल, मुटुको चाल हेर्दै अगाडि बढाएका थिए। केरुङदेखि नै हाई अल्टिच्युडबाट बचाउने औषधि टाइमेक्स खुवाउन थालेका थिए। त्यसले रगतलाई पातलो बनाएर जम्न नदिने रहेछ। पानी बढी पिउन मन लाग्‍ने रहेछ। कार्बन उत्सर्जन बढी गराउँदो रहेछ। त्यसैले होला, कसैमा पनि स्वास्थ्य समस्या आएन।

धार्चेनबाट मोटरमा करिब ४० मिनट टाढा यमद्वार पर्ने रहेछ। यमद्वारबाट छिरेपछि स्वर्ग या नर्क कता जाने भन्‍ने यकिन हुन्छ भन्‍ने धार्मिक मान्यता रहेछ। यमद्वारबाट छिरेपछि पछाडि फर्केर हेर्न हुँदैन भन्‍ने मान्यता पनि रहेछ। जे होस्, यो कैलाश परिक्रमाको शुरुवाती विन्दु रहेछ। त्यहाँबाट १३ किमिको यात्रा गरेर जब मानिसहरू डेरापुक भन्‍ने ठाउँमा बास बसिन्छ, त्यहाँ पुगेपछि भोलिपल्टको यात्रामा अगाडि बढ्न सकिन्छ कि सकिँदैन भन्‍ने यकिन हुने रहेछ।

हामीसँग गएको २५ जनाको टोलीमा २२ जनाले डेरापुकबाट फर्किने निर्णय गरे। उनीहरूलाई फर्काउँदा यमद्वारको बाटो ल्याइएन, अर्को बाटोबाट फर्काइयो। उनीहरू धार्चेन आएर बास बसे र हामीलाई पर्खिए।

डेरापुकबाट हामी बिहान सातै बजे यात्रामा निस्कियौं। घाम कतिबेला झुल्किन्छ र कैलाशमा सूर्यको किरण हेर्न पाइन्छ भनेर हामी सातै बजे अगाडि बढ्यौं। म, अनिल ओझा, अर्को एकजना राई थरका व्यक्ति र अन्य दुईजना भाइहरू गरी ५ जनाको टोली कैलाश परिक्रमामा निस्कियौं।

यात्रामा साह्रै आनन्दानुभूति भयो। पैदल यात्रामा धेरै छिटो हिँड्न दिइँदो रहेनछ। विस्तारै हिँड्नुपर्दो रहेछ। त्यसरी हिँड्दा खोकी लाग्यो भने फोक्सोमा पानी भरिने रहेछ। त्यसैले विस्तारै अगाडि बढ्नुपर्ने रहेछ। र, हामी ५ हजार ७०० मिटर उचाइको डोल्माला पास पुग्यौं। त्यहाँ पुग्दा साँच्चिकै आनन्द आउँछ। ध्वजापताकाले रमणीय बनाएको छ, पासलाई। तलतिर गौरीकुण्ड देखिन्छ। चारैतिर पहाड छ। मेरो नाकमा त्यहाँ एकप्रकारको सुगन्ध ठोक्कियो। तर, त्यो केको सुगन्ध थियो भन्‍ने पत्ता लगाउनतिर लागिएन।

डोल्माला पासमा २-३ मिनटभन्दा बढी नबस्‍ने भनिँदो रहेछ। धेरैबेर बसेमा आनन्द आएर निदाउँदै जाने र त्यहीं इहलीला समाप्त हुने खतरा हुने रहेछ। करिब ३ घण्टामा डोल्माला पास क्रस गर्न सकिने रहेछ। त्यहाँबाट डरलाग्दो ओरालो ओर्लिनुपर्ने रहेछ। र, त्यहाँबाट फेदी भन्‍ने ठाउँमा पुगिने रहेछ। त्यहाँ टी हाउसहरू रहेछन्। चिया पिउन पाइने रहेछ। त्यहाँबाट अगाडि बढेर राति जुलुपोट भन्‍ने ठाउँमा बास बस्यौं। त्यहाँ पनि बाथरुमहरू मानसरोवरकै जस्तो अव्यवस्थित रहेछन्। असाध्यै फोहोर। डेरापुकमा पनि त्यस्तै अव्यवस्थित थिए बाथरुम। रातरात शहर बसाउन सक्ने, कृत्रिम पानी पार्न सक्ने चीनका लागि त्यहाँ बाथरुम व्यवस्थित गर्न किन ध्यान नगएको हो भन्‍ने बुझ्न सकेनौं।

तेस्रो दिन बिहान करिब ३ घण्टा हिँडेर धार्चेनको नजिकै आइपुग्यौं। गाडी लिन आइपुग्यो। र, कैलाश परिक्रममा सम्पन्‍न गर्‍यौं।

यात्राका क्रममा कतै पकाएरै खायौं। कतिपय ठाउँमा पकाउन सक्ने पूर्वाधार नुहुँदा रेडिमेड खानेकुरा लिएर गएका थियौं। समोसा, स्याउ, प्याकेट ड्रिंक्सहरू खायौं। काठमाडौंकै पानी हामीले मानसरोवरसम्म पियौं। खाना बनाउन कुकहरू यहींबाट लगिएको थियो। सिंगापुरियनको खाना पनि बन्यो, हाम्रो खाना पनि बन्यो। दाल, भात, तरकारी खायौं। मासु र अल्कोहल पूर्ण रूपमा वर्जितजस्तै हुन्छ कैलाश मानसरोवर यात्रामा। स्वास्थ्य ठीक छ भने ५ हजार ७०० मिटर उचाइको पास गाह्रो होइन। तर, स्वास्थ्य ठीक छैन भने त्यो महाभारत युद्ध जित्‍नुभन्दा गाह्रो कुरा हो।

कैलाश परिक्रमा रद्द गरेर फर्केका साथीहरूले होटलमा हामीलाई बधाइ दिनुभयो। ‘तपाईंहरूलाई भोलेनाथले बोलाउनुभयो, हामीले परिक्रमा गर्न सकेनौं’ भन्‍नुभयो। उहाँहरूमध्ये कतिपयले चरणस्पर्श गर्नुभएछ। धार्चेनबाट ४-५ घण्टा हिँडेपछि त्यहाँ पुगिने रहेछ। कैलाश पर्वतको फेदीमा पर्ने रहेछ त्यो ठाउँ।

धार्चेनमा टोली तयार थियो, हामी त्यस दिन सागा आएर बास बस्यौं। त्यसपछि केरुङ बास बसेर भोलिपल्ट सीधै काठमाडौं आइपुग्यौं।

गौरीकुण्डमा हामी परिक्रमा यात्री

मलाई कैलाश मानसरोवर यात्रापछि असीम आत्मसन्तुष्‍टी प्राप्त भएको महशुस भएको छ। परिक्रमाको क्रममा कसैले कैलाशमा शिवजीकै आकृति देख्यौं। नन्दीको आकृति त सबैले देख्‍ने रहेछन्। कसैले ‘ॐ’ को आकृति देखे। मैले शिवको आकृति देखें भनेर अर्का यात्रीलाई देखाएँ, उनले पनि देखे। तर, उनले ‘ॐ’को आकृति देखे, मैले देख्‍न सकिनँ। ३० अगस्टको राति ३१ अगस्टको बिहान थियो, हामी डेरापुक पुग्दा। त्यस राति कैलाशको ठ्याक्कै माथि ‘फुल मुन’ (पूर्ण चन्द्र) देखिने थियो। राति बस्‍ने हिम्मत नभएर हेर्न सकेनौं।

जीवनमा एकपटक पुगिएला भन्‍ने थिएन, भोले बाबाले नै बोलाएर होला पुगियो। सबैले यो अवसर पाउँदैनन्। पाएर पनि कैलाश परिक्रमा गर्न सक्दैनन्। केही न केही त छ है कैलाशमा ! नत्र संसारभरका मानिस किन ओइरिन्थे। मलाई फर्केर आएपछि शरीर हलुंगो भएको अनुभूति भएको छ। किनकि, भोले बाबालाई परिक्रमा गरेको प्रभाव शरीरमा पनि पर्छ भनिन्छ।

त्यहाँ पुगेर गुगल गरियो। लन्डनबाट कैलाश ६ हजार ६६६ किलोमिटर। लन्डनबाट अर्को दक्षिणी ध्रुव पनि ६ हजार ६६६ किलोमिटर। दक्षिणी ध्रुवबाट कैलाश ठ्याक्कै दोब्बर १३ हजार ३३२ किलोमिटर। भएन त ‘सेन्टर अफ द अर्थ’ अर्थात् पृथ्वीको केन्द्र !

शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • २.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ३.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ६.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ७.
    सुनचाँदीको मूल्य बढ्यो

  • ८.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.