दाङ- तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो ।
केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । सडक र अन्य आधारभूत पूर्वाधार विस्तार भएसँगै वर्षायाममा पनि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य छ ।
वैशाख–जेठको तुलनामा वर्षायाममा पर्यटकको चहलपहल केही घटे पनि झरना अवलोकन गर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । झरनाको छेउमा पुगेपछि अधिकांश आगन्तुक केही समय प्रकृतिमा रमाउँछन्, तस्बिर र सेल्फी खिच्छन् अनि झरनाबाट खसेको पानीले बनाएको प्राकृतिक पोखरीको मनोरम दृश्यलाई आफ्ना क्यामेरामा कैद गर्छन् । गर्मीयाममा भने यही पोखरी पौडी खेल्नेहरूको रोजाइ बन्छ ।
झरनाको व्यवस्थापनमा कार्यरत कर्मचारी कुलबहादुर बुढाका अनुसार अहिले दैनिक करिब ३०० जनासम्म पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् भने सार्वजनिक बिदाको दिन यो सङ्ख्या अझ बढ्छ । “दाङका विभिन्न स्थानसँगै बाँके, सल्यान, रोल्पा, सुर्खेतलगायत जिल्लाबाट र भारतबाटसमेत पर्यटक आउँछन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रवेश शुल्क नलिए पनि पार्किङ शुल्कबाट सङ्कलित रकम कर्मचारीको पारिश्रमिक तथा झरनाको संरक्षण र पूर्वाधार विकासमा खर्च गरिन्छ ।
पुरन्धरा झरनाको अर्को विशेषता यसको प्राकृतिक बनोट हो । झरनाबाट खसेको पानी तल प्राकृतिक पोखरीजस्तो भागमा जम्मा हुन्छ र विस्तारै बबई नदीमा मिसिन्छ । झरनाको वरिपरि बाक्लो वन, चरा–चरुङ्गीको चिरबिराहट र नदीको सङ्गीतले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर प्रकृतिसँगै हराउन बाध्य बनाउँछ ।
तुलसीपुरबाट साथीहरूसँग झरना अवलोकन गर्न पुग्नुभएका ज्येष्ठ नागरिक तथा योग प्रशिक्षक घनश्याम अधिकारीले यहाँ अझ धेरै सम्भावना रहेको बताउनुहुन्छ । “बाटो राम्रो बनेपछि पहिलोपटक यहाँ आएँ, निकै राम्रो भएको रहेछ,” उहाँले भन्नुभयो, “बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, वन्यजन्तु र चराचुरुङ्गी अवलोकनजस्ता गतिविधि थप्न सके यो पश्चिम नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।”
ज्येष्ठ नागरिक इन्द्रलाल खत्रीका अनुसार झरनामा आउने पर्यटकका लागि चमेना गृह, शौचालय, विश्रामस्थल र अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके स्थानीयको आयआर्जनसमेत बढ्न सक्छ । “यो प्राकृतिक सम्पदाको सही उपयोग गर्नसके यहाँको आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउन सक्छ”, उहाँले भन्नुभयो ।
पुरन्धरा झरनाले प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक पृष्ठभूमि पनि बोकेको छ । स्थानीयका अनुसार शताब्दीअघि यो क्षेत्र घना जङ्गलले ढाकिएको थियो। घाँसदाउरा गर्न तथा गाईबस्तु चराउन जङ्गल जाने स्थानीयले आवतजावतका क्रममा यो झरनाको पहिचान गरेका थिए । अहिले पनि झरनाको करिब १०० मिटरको दूरीमा रहेको सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीका अनुसार झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना कार्यान्वयन भइरहेको छ । उहाँले गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सङ्घ सरकारको सहयोगमा सडक, सिँढी र अन्य पूर्वाधार निर्माण गरिएकाले अहिले वर्षभरि नै झरनामा सहज रूपमा पुग्न सकिने बताउनुभयो ।
“पहिले वर्षायाममा यहाँ आउन निकै कठिन थियो”, उहाँले भन्नुभयो, “अहिले पक्की सडक र अन्य संरचना बनेपछि जुनसुकै मौसममा पनि पर्यटक आउन सक्ने अवस्था बनेको छ ।”
तुलसीपुर–हापुरे–सुर्खेत सडकखण्डअन्तर्गत टवाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको पुरन्धरा झरना अहिले दाङ आउने धेरै आगन्तुकको ‘अनिवार्य गन्तव्य’ बन्न थालेको छ । प्रकृतिको अनुपम उपहार, बढ्दो पूर्वाधार र स्थानीयको सक्रियताले यो झरनाले पश्चिम नेपालको पर्यटन नक्सामा अझ बलियो पहिचान बनाउने सङ्केत देखिएको छ ।