साँडेपानीका युवा नेता
तेतरामले भलमन्सालाई भने
बाजे सय दिन पुग्यो
सरकारले बेपत्तै काम गरेछ
भलमन्साले झुम्का माड्दै भने-
नाति,
सरकार बेपत्ता गर्यो कि
बेपत्ता भयो मलाई थाहा छैन
तर, तेरो बाउ
खेत बाँझै छाडेर
दक्षिण भारत माछा मार्न गएको छ
तेरो काका फुलराम
निलगिरिमा बगैँचा कुरिरहेको छ
भतिज ठग्गा पनि
बेलरैयाँ चिनी मिलमा
पल्लेदारी गर्न जाने भन्दै थियो
अब तँ नै भन्,
हाम्रो गाउँमा सरकार हराएको ठूलो खबर हो
कि गाउँका जवान हराएको ?
यहाँ त खेतले मालिक खोजिरहेको छ
गोठले गोठाला !
बुढाबुढीले
नाति-नातिनाको मुख हेरेर
दिन काटिरहेका छन् !
नेताहरू सय दिनको
अंकगणित मिलाउँदै छन्,
हामी भने
सयौँ दिनदेखि
घर चलाउने हिसाब मिलाउन खोजिरहेका छौं !
नाति,
सरकार बदलियो कि बदलिएन
हामीलाई खासै फरक पर्दैन
हामीलाई त
त्यो दिन ठूलो लाग्नेछ,
जुन दिन
रोजगारी खोज्न
हाम्रा छोराहरूले
सीमा पार गर्नुपर्ने छैन
आफ्नै खेतले
फेरि हरियो सास फेर्नेछ !