काठमाडौं- आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
देशभर सक्रिय पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज पनि मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। सोही कारण मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
अहिले बिहान पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली छ। आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदलीदेखि सफा रहने प्रक्षेपण छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।