संखुवासभा- जिल्लाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैंची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरीका निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते कटवाल र दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।