बैक तथा वित्तीय संस्थाको नाफा बढ्ने, कर्मचारीहरूले अधिलाभांशसमेत प्राप्त गर्ने तर तिनका ग्राहकहरू ऋण तिर्न नसकेर विकल्प आत्महत्या रोज्नेसम्मको अवस्था उत्पन्न हुन थालेको देखिएको छ। ग्राहकले ऋणलाई पुँजीको रूपमा प्रयोग नगर्दा र बैंक तथा वित्तीय संस्थाले ऋण असुलीका लागि ऋणीको धितो मात्रैमा ध्यान दिनुजस्ता नकारात्मक क्रियाकलापका कारण समेत यस्तो अवस्था उत्पन्न भएको त होइन भन्ने प्रश्न खडा भएको छ।
ऋणको उद्देश्य र क्रियाकलापमा फरक
मेचीनगरका एक युवकले विगतमा कृषि विकास बैंकबाट ऋण ल्याएर अदुवा खेती गरिएको बारेमा एक किस्सा सुनाए। बैंकका कर्मचारी आएर अदुवा खेती कहाँ गरिएको छ भन्ने प्रश्न गर्दा उनी छक्क परेनन् मात्र बोल्नै नसक्ने भए। उनको जानकारीमा बाबुले अुदवा खेती गरेको थाहा थिएन। उनका बाबुले अदुवा खेती गर्नका लागि कृषि विकास बैंकबाट ऋण लिएर अन्यत्रै प्रयोग गरेको त्यसबेला खुल्यो, जब उनका बाबुले बैंकका कर्मचारीलाई उनका हजुरबुवाले गरेको अदुवा खेती देखाइदिए। बैंकका कर्मचारीले त्यही अदुवा खेतीलाई निरीक्षण गरेर फर्केको भए पनि ऋणीको ऋणको उद्देश्यअनुसार प्रयोग गरेको छ कि छैन भन्ने अनुगमन गर्ने नीति त्यसबेला रहेको उनको स्मृतिमा अझै पनि ताजा छ।
बैंक तथा वित्तीय संस्थाबाट विभिन्न परियोजना सञ्चालन गर्ने प्रस्तावका आधारमा ऋण लिए पनि ऋणीले उक्त ऋण परियोजनाभन्दा पनि अनुत्पादक क्षेत्रमा प्रयोग गर्ने चलन हालैका दिनमा अझै बढ्न थालेको छ। उद्योग व्यवसायका लागि ऋण लिने तर उपभोगलगायतका अन्य क्षेत्रमा खर्च गर्नाले ऋणी भाकामा ऋण तिर्न असफल भएका ग्रामीण क्षेत्रमा धेरै उदाहरण देख्न सकिन्छ। वित्तीय संस्थाले समेत ऋणको सदुपयोग भएको छ वा छैन भन्नेबारेमा अनुगमन नगर्ने बरु साँवा र ब्याज नियमित बुझाए पुग्ने भएका कारण कालान्तरमा ऋणी टाट पल्टने अवस्था उत्पन्न भएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५६ मा बैंक वा वित्तीय संस्थाले जुन प्रयोजनको लागि ऋणीलाई कर्जा दिएको हो, सो प्रयोजनमा ऋणीले कर्जा रकम सदुपयोग गरेको छ वा छैन भन्ने सम्बन्धमा अनुगमनको तालिका बनाई सोहीबमोजिम नियमित अनुगमन गर्नुपर्छ। तथापि, बैंक तथा वित्तीय संस्थाहरू आफ्नो लगानी सुरक्षणका लागि धितोमा मात्रै केन्द्रित भएका छन्।
सहकारी र लघुवित्तको सहज ऋण उपभोगमा बढी
राष्टिय लघु वित्त नीति, २०६४ अनुसार स-साना बचतको परिचालन गरी मुख्य रूपमा ग्रामीण तथा विपन्न क्षेत्रमा आय रोजगार र व्यवसायमुलक कार्यक्रमको सञ्चालनका लािग सो क्षेत्रमा कर्जाको पहुँच पुर्याउने, विपन्न वर्गको आत्मविश्वासको वातावरण सिर्जना गरिबी न्यूनीकरणमा योगदान गर्ने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आए पनि लघुवित्तहरूले हालैका दिनमा व्यवसायमुलक कार्यक्रमभन्दा पनि उपभोग वढाउने क्षेत्रमा कर्जा प्रवाह गरेको देखिएको छ।
धितो नचाहिने सामुहिक जमानीमा ऋण उपलब्ध गराउने सहज नीति भए पनि ऋणको किस्ता तथा ब्याजको मिति परिवर्तन नहुने, तोकिएको समयमै भुक्तानी गर्नुपर्ने लघुवित्तको नीति भएका कारण ऋण लगानी गर्दा दैनिक आय आर्जन हुने व्यापार तथा व्यवसायमा मात्रै केन्द्रित हुनुपर्नेमा हालैका दिनमा लघुवित्त सञ्चालकहरूले मोवाइल, टेलिभिजन, फ्रिजलगायत विलाशीताजन्य वस्तुसमेत उपलब्ध गराउने देखिएकाले उद्यमशीलता वृद्धी गर्ने नभई उपभोग बढाउने नै यिनको नीति बनेको त होइन प्रश्न खडा भएको छ।
एकताका साझा भनेर चिनिने संस्थाहरू आज सहकारीका रूपमा स्थापित भएका छन्। साझा शब्द अब जनजिब्रोबाट प्रायः हटिसकेको छ। रासायनिक मल र उन्नत बीउ पाइने गरेको साझा आजका दिनसम्म आइपुग्दा कति इतिहास बनिसकेका छन् भने कति डिपार्टमेन्टल स्टोरका रूपमा देखिएका छन्। कति उद्योगका रूपमा स्थापित भइसकेका छन्। आफ्ना सदस्यहरूको आर्थिक सामाजिक अवस्था के कस्तो हालतमा छ, त्यो त उनीहरू कति बाहिर ल्याउँछन् आफैं जानून् तर संस्थाको प्रगति भने कुनै न कुनै माध्यमबाट बजारमा ल्याएका छन्, जसका कारण उनीहरूको सान सौकत चुलिँदो अवस्थामा रहेको देखिएको नै छ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो भन्ने सुन्दर नाराको आडमा सहकारी स्थापना भए पनि तरलताको अत्यधिक सञ्चय तथा बैंक तथा वित्तीय संस्थासँग प्रतिस्पर्धामा जानुपर्ने बाध्यताले बढी मुनाफा हुने क्षेत्रमा लगानी गर्नुपर्ने अवस्थाले सहकारी सिद्धान्तमा भन्दा मुनाफा खोज्ने बजारको खोजीमा चलेको प्रष्ट छ। पछिल्ला समयमा धितोका आडमा अनुत्पादक क्षेत्रमा (घर, गाडी) लगानी गर्ने कारणले कतिपय सहकारीको भविश्य नै संकटमा मात्रै परेको छैन, बरु ग्राहकको बचतसमेत फिर्ता गर्न नसक्ने अवस्थमा पुगेका छन्।
कृषकको उत्पादनले बजार नपाउँदा निराशा
नेपालमा हालैका दिनमा कृषि उत्पादनले उचित मूल्य नपाएको भन्ने कारणले कृषकमा निराशा देखिएको छ। चितवनका कृषकले तरकारी सडकमा फालेका छन् भने झापाका कुखुरा व्यवसायीहरूले कुखुरा र अण्डा बाटोमै फालेका छन्। भारतीय तरकारी सीमावर्ती वजारमा मात्रै नभई राजधानीसम्म पुगेका छन्। सरकारको बीउ र मलका अनुदानका कारण सस्तोमा उत्पादन भएको भनिएको भारतबाट आएको तरकारीसँग नेपाली उत्पादनले कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न सक्दैन। सीमावर्ती क्षेत्रमा कुखुरा पालन नभए पनि मासुको समस्या छैन। भारतमा सस्तो भएको कुखुराका कारण मासु व्यवसायीहरू सुरक्षाकर्मीसँगको मिलेमतोमा भारतीय कुखुरा नेपाली बजारमा ल्याउन सफलै भएका छन्।
नेपालको हकमा हालका दिनसम्म कृषकहरूमा कुनै अप्रिय घटना देख्न र सुन्न परेको छैन। तर, भारतमा हेर्ने हो भने महाराष्ट्रमा मात्रै सन् २०२२ मा १ हजार ८७५ कृषकले आत्महत्या गरेका छन्। सरकारले कृषकले लिएको ऋणका लागि ‘बहुऋण माफिका’ कार्यक्रमका बावजुद पनि त्यहाँ आत्महत्या बढेको अवस्था छ। छिमेकी देशको अवस्था यहाँ उत्पन्न हुन नदिनका लागि अहिल्यै सचेत हुने कि नहुने भन्ने तत् निकायहरूले ख्याल गर्नुपर्ने देखिन्छ।
बैंक, वित्तीय संस्था र ग्राहक दुवै महत्त्वाकांक्षी
पछिल्ला दिनहरूमा बैंक र ग्राहक दुवै अति महत्त्वाकांक्षी हुँदै गएका छन्। बैंकले नाफा कमाउनैपर्ने र ग्राहकले घाटा भोगेको व्यवसाय भए पनि अति नाफा देखाएर ऋण प्राप्त गर्ने गरेका कैयन् उदाहरण छन्। बैंक सेवामुलक व्यापार गर्ने संस्था भएकाले नाफाको अपेक्षा राख्नु अन्यथा नभए पनि नाफा ग्राहककै उन्नतीमा आधारित हुनुपर्ने हो। ग्राहक सुके पनि बैंक मोटाउनैपर्ने भन्ने आशय कदापि राम्रो होइन। त्यति मात्रै नभई ऋणीका लागि परियोजना प्रस्तावसमेत बैंकले नै बनाइदिने, लेखा परीक्षण प्रतिवेदनसमेत ऋण दिन उपयुक्त देखिने गरी बनाइदिने र ऋण प्रवाह गर्ने तर परियोजनामा लगानी भयो कि भएन भनेर अनुगमनसमेत नगर्ने अवस्था कायमै राख्ने हो भने आगामी दिनहरू अझ बढी कठिन हुने देखिन्छ।
यस्तै, ऋण लिने व्यक्ति तथा फर्मले परियोजना वा उद्यमबाट लाभ हुन्छ कि हुँदैन भन्ने हेक्का राख्ने, उत्पादित वस्तु तथा सेवाको बजार विश्लेषण नगर्ने बरु एक बैंकबाट लिएको ऋणको साँवा र ब्याजको किस्ता तिर्नका लागि पुनः अर्को बैंकबाट ऋण लिने तथा अनुत्पादक क्षेत्रमा लगानी गर्ने कार्यले कालान्तरमा बैंक तथा वित्तीय संस्थालाई मात्रै हानी गर्दैन, बरु बचतकर्ताहरूको बचतसमेत जोखिममा पर्न सक्छ।
त्यसैले बैंक तथा वित्तीय संस्थाले ग्राहक बलिया भए हामी बलिया हुन्छौं भन्ने हेक्का राख्ने र ग्राहकले समेत ऋणको सदुपयोग गरी उत्पादनशील क्षेत्रमा मात्रै लगानी गर्ने हो भने बैंक तथा वित्तीय क्षेत्र तथा बचतकर्ताहरूको समेत हित हुने कुरामा सम्बन्धित निकायहरूले सोच्ने हो कि !