नेपाली राजनीतिका पहिलो पुस्ताका नेताहरू हिन्दी फिल्मको क्रुर खलनायकजस्ता लाग्न थालेका छन्। पुष्पकमल दाहाल वा खड्गप्रसाद ओली वा शेरबहादुर देउवाको अनुहार सम्झँदा पुरानो हिन्दी फिल्म ‘अन्धा कानून’को अमरिश पुरीको झल्को आउँछ। न गति छ न मति छ। छ भने एउटा सत्ता स्वार्थ मात्र छ। सत्ताभोग गर्नेभन्दा अर्को के इरादा छ तपाईंहरूको?
रवि लामिछानेको विगत शंकास्पद छ र वर्तमान अत्यन्त विवादित। उनी कानूनी फन्दामा परेका छन्। यो तथ्य चितवनवासीले नसुनेको नजानेको पक्कै होइन। तर, उनले प्राप्त गरेको मतसंख्या हेरौं त? आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तर सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठलाई उनले ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्। यसको संकेत के हो? देशले युवा खोजेको हो कि नयाँ अनुहार? कि दुवै?
नेपाली राजनीतिका पहिलो पुस्ताका नेताहरू हिन्दी फिल्मको क्रुर खलनायकजस्ता लाग्न थालेका छन्। पुष्पकमल दाहाल वा खड्गप्रसाद ओली वा शेरबहादुर देउवाको अनुहार सम्झँदा पुरानो हिन्दी फिल्म ‘अन्धा कानून’को अमरिश पुरीको झल्को आउँछ। न गति छ न मति छ। छ भने एउटा सत्ता स्वार्थ मात्र छ। सत्ताभोग गर्नेभन्दा अर्को के इरादा छ तपाईंहरूको?
प्रश्नको औंलो दोस्रो पुस्तातिर पनि सोझिएको छ। कांग्रेसका प्रकाशशरण महत हुन् वा मिनेन्द्र रिजाल। सकेदेखि तपाईंहरू सत्ताको जिम्मेवारी सम्हाल्न आउनुहोस् र नसक्ने हो भने चुप लागेर बस्नुहोस्। एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल वा महेश बस्नेत जो हुन्। राम्रोचाहीं के हुने थियो भने तपाईंहरू स्वयं आ-आफ्नो पार्टीमा नयाँ नेतृत्वका लागि पहल गर्नुहोस्। दोस्रो पुस्ताका जो कोही सामने आउन सक्छन्, तिनलाई मार्गप्रशस्त गर्न आवश्यक छ।
एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल वा महेश बस्नेत जो हुन्। राम्रोचाहीं के हुने थियो भने तपाईंहरू स्वयं आ-आफ्नो पार्टीमा नयाँ नेतृत्वका लागि पहल गर्नुहोस्। दोस्रो पुस्ताका जो कोही सामने आउन सक्छन्, तिनलाई मार्गप्रशस्त गर्न आवश्यक छ।
चितवन शिक्षित, सम्पन्न र एउटा शहरी इलाका हो। शिक्षित र सचेत मतदाता चलायमान हुन्छन्। गुण र दोषका आधारमा नेतृत्व रोज्छन्। यसै त शहरी मतदातालाई लोभ्याउन, तर्साउन, धम्क्याउन नसकिने तथ्य बुझिसकेका प्रचण्ड रवि लामिछानेको पदचाप सुन्नेबित्तिकै सुइँकुच्चा ठोके। गोरखा क्षेत्र नम्बर २ पुगे, जहाँका मतदातालाई ‘म जहाँ जन्मे पनि गोरखालीकै छोरो हुँ’ भन्न पुगे। कथित जनयुद्ध गर्नेहरूको यो चाला छ। उतातिर रवि लामिछानेको पार्टी असोजमा दर्ता भएको र २ महिनाको राजनीतिक कार्यकालमा उनले गरेको चाहीं ट्याउँट्याउँ बोल्ने मात्र हो। उनी सन्देहको घेरामा छन् यद्यपी भारी मतले विजयी भएका छन्। उनी दोषी वा निर्दोष जे भए पनि त्यसको छिनोफानो अदालतले गर्ने नै छ।
लालुप्रसाद यादवले एकताका राज्यशक्ति कब्जा गरेका थिए। निर्विकल्प थिए उनी, बिहारी सत्ताको शिखरमा। अहिले जेल जीवन बिताइरहेका छन्। उता बेलायतमा ऋषि सुनक उदाए। ब्रेक्जिटपछि खस्किएको बेलायतको आर्थिक र राजनीतिक हैसियत पुनर्प्राप्ति गर्नका लागि उनी प्रयत्नशील छन्। सुनकमाथि बेलायती जनताको पूर्ण भरोसा छ। उनीअघिका प्रधानमन्त्रीहरूले ‘डेलिभर’ गर्न सकेका थिएनन् र असफलतालगत्तै राजीनामा दिई सत्ताबाट अलग्गिएका थिए। एउटा ताजा उदाहरण छ मलेसियाको। आधुनिक मलेसियाका आर्किटेक्ट पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले संसदीय चुनावमा जमानतसमेत जफत हुने गरी पराजय बेहोरे। यी दृष्टान्तहरू अर्थपूर्ण छन्, नेपालको वर्तमान राजनीतिक परिदृष्यमा।
सत्ताशक्ति अन्धो हुन्छ। सारा जनताले नांगो देख्दा पनि सत्तासीनहरू ‘इम्पेरर्स क्लथ’ देख्छन्। यति मात्र होइन सत्ताशक्ति ‘करप्ट’ हुन्छ। जर्ज अरवेलले लेखेको ‘एनिमल फार्म’ले त्यही बताउँछ। दुई कार्यकालपछिको सत्ताशक्तिले अपराध जन्माउँछ। युगान्डाका इदी अमिन, सुडानका अहमद अल बसिरलगायत शासकहरूले त्यसो गरेका छन्। त्यति मात्र होइन, लामो अवधिको सत्तारोहण आत्मघाती हुन्छ। भोकमरी लागेको उत्तर कोरियाले जनताको भोक मेटाउँदैन, मिसाइल विकास गरेर बस्छ।
युगान्डाका इदी अमिन, सुडानका अहमद अल बसिरलगायत शासकहरूले त्यसो गरेका छन्। त्यति मात्र होइन, लामो अवधिको सत्तारोहण आत्मघाती हुन्छ। भोकमरी लागेको उत्तर कोरियाले जनताको भोक मेटाउँदैन, मिसाइल विकास गरेर बस्छ।
पंक्तिकार ०५० सालमा दिपायलमा रहँदा सुदुरपश्चिमेलीहरू मजदुरीका लागि भारतको कालापहाड जाने गर्थे। र, अहिले पनि सोही सिलसिला जारी छ। त्यतिबेला खप्तडलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भन्थे, अहिले पनि त्यही भन्दैछन्। ०५० सालयता मुलुकको ठूलो लगानी खन्याएर सबै पूर्वाधारको विकास भइसकेको दिपायल अहिले उपेक्षित छ। कालोपत्रे र सबै उपकरणहरू जडित विमानस्थल सुनसान बनेको छ। प्रदेश राजधानी धनगढी सरेको छ र पूर्वाधारमा फेरि लगानी थपिएको छ। दिपायल र धनगढीमा एकैखालको पूर्वाधार बनाउने लगानी उद्योगमा लगाउने बुद्धि कहाँ गयो?
२०५० सालमा भएका उद्योग व्यवसायहरू अहिले छैनन्। गरिब सुदूरपश्चिमेलीहरूको पुर्ख्यौली पेशा बनेको छ मजदुरी। भारतको हिमाचल प्रदेशमा नेपाली टोपी भिरेको वा हातमा नाम्लो लिएको व्यक्ति त्यही अभागी नेपाली हो, जसको भाग्यमा शेरबहादुर देउवाले ३० वर्षदेखि शासन गर्न लेखिएको रहेछ। यो राजनीति हो कि अपराध?
हिमाचलस्थित नहान जिल्लाको कारागार भिजिट गर्दा केही नेपाली यस्ता भेटिए कि के कसुरमा उनलाई जेलमा राखिएको हो थाहा छैन। १३ वर्ष जेल बसेका राम्रा आचरण भएका व्यक्तिहरूलाई सरकारी खर्च घटाउने उद्देश्यले जेलमुक्त गर्न खोज्दा जिम्मा लिने अर्को नभएकै कारण १८-२० वर्षसम्म जेलमै रहिरहेका नेपालीहरू थुप्रै भेटिन्छन्। एउटै देश नेपाल, एउटै जिल्ला डडेल्धुरावासी, एउटा नेपाली भाग्यका भरमा आजीवन सत्ताधीश रहने र अर्को उस्तै तर गरिब र अभागी नेपाली आजीवन जेलमा रहनुपर्ने विडम्बना यहीं देख्नुपरेको छ। सत्ताका अर्काखाले धुन्धुकारीहरूलाई नेपाली पासपोर्टको इज्जत भएन भन्ने पीर परेको छ। यो ‘कन्ट्रास्ट’ देख्न सक्ने प्रधानमन्त्री चाहिएको छ, आजको नेपाललाई।
‘प्रोजेक्ट गभर्मेन्ट’को विकल्प दिन नसक्नेहरूले भने चुपचाप बाटो खाली गर्नुपर्छ। अन्यथा कठालो समातेर गलहत्याउने दिन नआउला भन्न सकिँदैन।