मेरो घर सिन्धुली हो। पाँच वर्ष पहिले सिन्धुलीमाढीमा कमलामाई नगरपालिकाको अगाडि बाटोको बीचमा रहेको एउटा गुलमोरको बोट रातारात उखेलेर हटाइयो। सिन्धुलीमा ०६२-६३ को लोकतान्त्रिक आन्दोलनले सफलता पाएको दिन यो बोट रोपिएको थियो। त्यो रुख उखलेर अहिले यहाँ सिमेन्टको ‘मोनोमेन्ट’ अर्थात् जुनारको प्रतिस्वरूप बनाइएको छ। सिन्धुलीलाई जुनारको रूपमा चिनाउन त्यहाँ जुनारको शालिक बनाएको छ। यो घटनाको सामाजिक सञ्जालमा धेरै पक्ष-विपक्षमा प्रतिकृयाहरू आए।
मेरो मनमा पनि धेरै आवेग आए मैले सकेको विरोध गरें तर शहर भनेको कंक्रिट विकास हो भन्ने मानसिकता व्यापक भइरहेको रहेछ। यस्ता सिमेन्टका प्रतिस्वरूप विभिन्न शहरले विभिन्न नाममा बनाउँदै गएका छन्। प्राय: सबै शहर तथा शहर उन्मुख गाउँहरूमा विकासको परिभाषा केवल कंक्रिट हो भन्ने व्याप्त छ।
एकोहोरो कंक्रिट विकासले स्वच्छ पानी र हावा मासिँदै जान्छन् र शहरहरू बस्न लायक हुँदैनन् भन्ने बुझाउने कसले? पूर्व-पश्चिम जता शहरमा जानुस्, यस्तै संरचनाहरू देखिन्छन्। यो भनेको तपाईं हाम्रो शहर बनाउने प्रक्रिया सिमेन्टेड बनाउने अवधारणा आइरहेको छ। बिरुवा रोप्ने, बिरुवा हुर्काउने भन्ने परिपाटी त्यति छैन।
हाम्रो यस्ता प्रवृत्तिका कारण ठूलो जोखिम निम्तिएको छ। के जोखिम छ भने तपाईं हामी अब गाउँबाट सरेर शहर आइरहेका छौँ। शहरमा बस्दा केही गर्न मौका पाइन्छ, अवसर छ, काम पाइन्छ भनेर। तर, शहरमा आएर जनसंख्या बढ्दै गयो तर शहर प्रकृतिमैत्री भएन भने शहर आक्रोशित हुन सक्छ। जस्तो- पानी पर्दा ठाउँ-ठाउँमा बाढी आउँछ। कहिले बाढी नआउने ठाउँमा सडकमै भल बग्छ। तपाईं यात्रा गर्न सक्नुहुन्न। गर्मी बढ्छ। अहिले डेंगु लागिरहेको छ। यी सबै के कारणले भन्दा शहरलाई प्राकृतिक रूपमा सन्तुलन गर्न नसकेर हो। मानिस बढे, संरचना बढे, खोलानाला चेपिए। त्यसको समाधान छ तर हामी गर्न सक्दैनौं। त्यसमध्येको एउटा तरिका हामीले एउटा क्याम्पियन शुरु गरेका छौ, ड्रिम सिटी अर्थात् सपनाको शहर भनेर। कस्तो शहर भन्दा जहाँ साइकल, पैदल, हरियाली, खानेकुराहरू सबै चिज समेटिएको स्वच्छ हावा पाइन्छ। डोजर मात्रै लगाएको शहर होइन। सफा चिटिक्क सिमेन्टेड भएको पनि होइन। अलि अलि फोहोर होला तर त्यो प्राकृतिक रूपमा जैविक विविधताको हिसाबले सन्तुलित हुनसक्ने खालको शहरको परिकल्पना गरिएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र घण्टाघर। तस्बिर : स्टोरी साइकल
यो अभियानकै महत्त्वपूर्ण पाटो भनेको ग्रिनरी (हरियाली)। शहरमा हुने हरियाली। अहिले शहरका ठाउँ-ठाउँमा हरियाली देख्नुहुन्छ। तर, सडकमा लाउने बिरुवाको दूरी कायम भएको हुनुपर्यो। हिँड्ने फुटपाथको छुट्टै स्ट्यान्डर्ड हुनुपर्यो। अनि बिरुवा हुनुपर्यो। त्यहाँ वरपीपल, चाँपका बिरुवा रोप्नु भएन। धेरै ठूलो नहुने खालको। फूल फूल्ने खालको हुनुपर्यो। ठाउँ-ठाउँमा फलफूलका बिरुवा पनि हुनुपर्यो। यस्ता अनेक गहिरो विधा छन्। तर, हामीले त्यसलाई बेवास्ता गरेर जे पायो त्यही गरिरहेका छौं। त्यसो गर्दा के भयो भने जनसंवेदनशील भएन। हामीलाई सहज हुने खालको हरियाली भएन। म बिरुवालाई मन पराउँछु तर यसको मतलव दुई फिटको फुटपाथमा बिरुवा रोप्न जरुरी छैन। अन्त कतै पार्क बनाएर बिरुवा हुर्काउन सकिन्छ। यिनै कुरामा हामीले बढी प्रयोग गरेका छौं। यसलाई बुझाउन समुदायलाई यसबारेमा चासो दिन काम गरिरहेका छौं।
जस्तै- सिनामंगल इलाकालाई हेरौं। चैतमा त्यहाँ चेरी फुल्छ। चेरी फुलेपछि मान्छे आउँछन्, सेल्फी खिच्छन्। ज्याकरान्डा फुल्छ महालक्ष्मीस्थानमा, त्यहाँ जान्छन्, रमाउँछन्। तर, उनीहरूले के गर्छन्, फुलेको बेला मात्र सम्झिन्छन्। वर्षभरि बिर्सिन्छन्। त्यसलाई हुर्काउनुपर्छ। हामीले फुलेको बेला मानिसहरूलाई पैदल शहर भनेर हिँडाउने, त्यसको कुरा बुझाउने, कथाहरू के हो भनेर बुझाउने गरिरहेका छौं। सँगसँगै बिरुवा रोपणको काम पनि गरिरहेका छौं। काठमाडौंको चक्रपथमा रुखहरू चाहियो भनेर हामीले अभियान चलाइरहेका छौं। कोटेश्वर-सातदोबाटो-कलंकीपट्टिको रिङरोडमा हरियाली बनाउने जिम्मा अहिले एनसेलले लिएको छ। त्यो क्षेत्र चिटिक्क देखिएको छ। व्यवस्थापनमा खर्च हुन्छ तर त्यसरी चिटिक्क बनाउन कुनै कसर छाड्नु हुँदैन।

हामीले बिरुवा हुर्काउने, नक्सांकन गर्ने काम गर्दै गयौं। विभिन्न ठाउँमा बिरुवा रोप्ने अभियान शुरु गर्यौं। साथीभाइ जम्मा भयो, साइकल चढ्यो, गयो। जानेर होइन, नजान्दै पनि अभ्यास गर्ने हिसाबले यो अभियान चलायौं। यो अभियान गर्दैगर्दा ब्रिटिस काउन्सिल (सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर विस्तारका लागि स्थापित एक अन्तर्राष्ट्रिय संस्था) सँग मिलेर ९९ वटा बिरुवा रोप्यौं। टीकाभैरवमा परीक्षणका लागि बिरुवा रोप्यौं। ती बिरुवा हुर्किएका पनि थिए।
त्यो जंगल क्षेत्र भएको भएर अझ थप बिरुवा पनि लगायौं। पछि पाँच सय बिरुवा रोप्यौं। तर, ती बिरुवाहरू खुला खाउँमा भएकाले बाख्रा चराइदिनेजस्ता गतिविधि भए। मानिसले हेरचाह गरेनन् र ती सबै मरे। आठ सय बिरुवामध्ये एउटा पनि बाँचेन।
यो एउटा सामान्य घटना हो। तर, जहाँ पनि हुने यस्तै हो। बिरुवा मान्छेले लगाउँछ। फोटो खिच्छ। तर, बिरुवाको संरक्षणमा ध्यान दिँदैन। अनि खेर जान्छ। यो कुरा हामीलाई अनुभव भइसकेपछि हामीले के विचार गर्यौ भने एक त यो बिरुवा रोपेको तरिका नै भएन। बिरुवालाई संरक्षण गर्ने योजना भएन। यी सबै चिजलाई मिलाएर बिरुवा रोपे पो फाइदा हुन्छ त ! बरु थोरै रोपौ। पाँचवटा बिरुवा रोपौं तर पाँचवटै हुर्काऊँ। त्यो महत्त्व बुझाउन भनेर हामीले प्लान्टेसन टुलकिटमा काम गर्न थाल्यौं।
टुलकिटले के भन्छ ?

टुलकिट डाउनलोड गर्न सक्नुहुन्छ।
यो टुलकिटले शहरी क्षेत्र मात्र होइन, हिमाल, पहाड, तराई तीनै क्षेत्रमा उपयुक्त बिरुवा छनोट कसरी गर्ने भन्ने कुराको जानकारी दिन्छ। तराईको आँप पहाडमा ल्याएर लाउने होइन। हुर्किंदैन, किरा पनि सर्छ। विशेषगरी, रैथाने बिरुवा नै लगाउनुपर्छ। यहाँको हावापानी जितिसकेको बिरुवा लगाउने ता कि हुर्किन सहज होस्। बिरुवा लगाउँदा पनि ठाउँ विशेषमा लगाउनुपर्छ। जस्तै- उदाहरणका लागि पारिजात। पारिजात फुटपाथको छेउमा लाउन मिल्छ, यदि त्यसलाई फूलको रूपमा मात्र हेर्यौं भने। यदि धार्मिक आस्था हेर्ने हो भने फूल त टिपेर हामी पूजा गर्न लैजान्छौं। फुटपाथमा लगायौं भने मानिसले हिँडेर कुल्चिने भए। सांस्कृतिक र व्यावहारिक हिसाबले भने उपयुक्त भएन। वैज्ञानिक हिसाबले उपयुक्त भयो। फेरि पारिजातलाई सडकको छेउमा लाउन नमिल्ने रहेछ भनेर बीचमा लाउन मिल्छ कि मिल्दैन? एकपटक सोच्नूस् त ! बीचमा रोप्न मिल्छ तर व्यावहारिक हिसाबले फेरि मिल्दैन। कसरी भने फूल फुलेपछि हामी त्यहाँ गएर फूल टिप्छौं। त्यसो गर्दा आवतजावत गर्ने सवारी साधनबाट दुर्घटनामा पर्न सकिन्छ। यो पनि सुरक्षाको दृष्टिकोणले व्यावहारिक भएन। त्यसैले यो टुलकिटसँग मान्छेहरूलाई राखेर छलफल गर्दा, बिरुवा छनोट गर्दा वैज्ञानिक कुरा मात्र आएन, सांस्कृतिक र व्यावहारिक कुरा पनि आए।
बिरुवा छनोट गर्दा उपयुक्त ठाउँ भएर पनि केही बिरुवा सडकका लागि उपयुक्त नहुने रहेछन्। तिनीहरूका लागि पार्क, बगैंचाजस्ता ठाउँ, बढी खाली स्थानहरू उपयुक्त हुने रहेछन् भन्ने निष्कर्ष निकाल्यौं। र, यो प्लान्टेसन टुलकिट तयार पारेका हौं। हामीले रानीवन, भद्रकाली, गोदावरीमा कस्ता खाले रैथाने बिरुवा छन् भनेर अध्ययन गरेका थियौं। त्यहीअनुसारले टुलकिट बनाएका हौं। यो हामीले वेबसाइटमा पनि राखेका छौं। हामीले निकाले किताबमा ठाउँ-ठाउँमा क्यूआर कोड पनि राखिएको छ। क्यूआर कोड स्क्यान गर्नुभयो भने वेबसाइटमा जान्छ। अंग्रेजी भाषामा पनि छ। हामीकहाँ अनलाइन भएको कुरा कसरी थाहा दिने त भनेर हार्डकपी नेपाली भाषामा तयार पारेर विभिन्न वन कार्यालय, विद्यालयहरूमा वितरण गर्न थाल्यौं।
प्लान्टेसन टुलकिटमा चरणबद्ध रूपमा कसरी बिरुवा रोप्ने, तरिकाहरू के हुन् भन्ने सिकाइएको छ। बिरुवा रोप्न एक दिनको कार्यक्रम राखेर मात्र पुग्दैन, पूर्वतयारी गर्नुपर्छ। नेपालमा हिमाल, पहाड, तराई गरेर रोप्न मिल्ने ३४ प्रकारका बिरुवाहरू समेटिएको छ यसमा। त्यसपछि बिरुवा कहाँ खोज्ने, त्यसको नक्सा पनि राखेका छौं। आफ्नो घरवरिपरि नर्सरी छ कि, सरकारी कार्यालयबाट लिन मिल्छ कि भनेर त्यस्तै एउटा इभेन्ट आयोजना गर्दा स्थान, बिरुवाको छनोट, पानी, खाल्डोदेखि कसरी व्यवस्थापन गर्न कसरी गर्ने भनेर जानकारी दिइएको छ। पूर्वयोजना नबनाई रोप्दा बिरुवा नसर्ने होइन, जति बिरुवाको बाँच्ने दर बढाउनुपर्ने हो त्यो हुँदैन।
अर्काे वायुमण्डलमा भएको कार्बन बिरुवाले सोस्छ। त्यो कसरी गणना गर्ने? एउटा बिरुवाले कति कार्बन सोस्छ भन्ने कुरा पनि हामीले टुलकिटमा समावेश गरेका छौं। बिरुवाहरूको बारे विस्तृतमा जानकारी राखेका छौं। पहाड, मध्य पहाड र तराईमा हुने बिरुवाको छनोट गरेका छौं। यी बिरुवाहरू विशेषगरी शहरी सडकका लागि छनोट गरिएको भएर फलफूलको बिरुवा समावेश गरिएको छैन। बिरुवा पाइने नर्सरीहरूको म्याप राखिएको छ। बिरुवा लगाएपछि अनिवार्य क्यूआर कोड लगाएको छ। बिरुवा कहिले लगाएको, कुन जातको, ग्रोथ कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ।
२० हजार बिरुवा रोप्ने अभियान
गत वर्ष स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा सहभागी ७७ जनाको नेपाली टोली यात्रा गरेवापत कति कार्बन उत्सर्जन भयो र कति बिरुवा लगाइयो भने कार्बन अफसेट अथवा न्युट्रल हुन्छ भन्ने मापन गरिएको थियो।

जस्तो- उदाहरणका लागि म काठमाडौंबाट सिन्धुली जाँदा १५२ किलोमिटर यात्रा गर्छु। त्यति यात्रा गर्दा ५० किलोजति कार्बन निस्किन्छ भने ५० किलोलाई न्युट्रल गर्नलाइ कम्तिमा पाँचवटा बिरुवा लगाएर हुर्काउनुपर्छ। त्यस्तै- कोप-२६ मा गएवापत गरिएको मापनअनुसार २० हजार बिरुवा रोप्नुपर्ने देखियो। कोप-२६ मा जाँदाको कार्बन क्याल्कुलेसन गरेर २० हजार बिरुवा रोप्ने अभियान शुरु गरिएको हो। त्यो अभियानको पहिलो चरणमा निजीक्षेत्रको नेपाल आर्ट भिलेज र गोदावरी नगरपालिकासँग समन्वय गरिएको छ। टीका भैरवभन्दा माथि पहिलो चरणमा पाँच हजार बिरुवा लगायौं। अहिले आठ हजार ८०० बिरुवा लगाएर हुर्किसकेका छन्। बाँकी लक्ष्य पूरा गर्न धुलिखेल नगरपालिकासँग मिलेर १५ हजार बिरुवा रोपिएको छ।
कार्बन के हो?
वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव एवं वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय लुम्बिनी प्रदेशका पूर्वसचिव पशुपतिनाथ कोइरालाले कार्बन मापनको तरिका प्रष्ट्याउने गर्नुभएको छ। उहाँका अनुसार मानौं हामीले रुख रोप्छौं, त्यो हुर्किन्छ। तपाईं हाम्रो जीवन र रुख पनि कार्बन हो। कार्बनलाई नकारात्मक दृष्टिले पनि हेरिन्छ। कार्बन भएन भने हामी जीवित हुँदैनौ। रुखमा पनि कार्बन हुन्छ। जब पृथ्वी तात्न थाल्यो, तब कार्बनडाइअक्साइड, हरितगृह ग्यास चाहिनेभन्दा बढी भयो। ती ग्यासहरू विविध कारणले वायुमण्डलबाट बाहिर जान सकेनन्। सरल भाषामा बुझ्दा कार्बन बढी भयो। चिसो हुने क्रम घट्यो। तातो हुन थाल्यो। अनुसन्धान गर्दै जाँदा कार्बन बाहिर निकाल्नेमा उद्योगहरू, यातायात, वन, कृषि क्षेत्र, कोइलालगायत देखिए।

अब कार्बन कम गर्न अथवा यसलाई केले सोस्छ भन्ने अनुसन्धान पनि भयो। सरल र सहज उपाय देखियो रुख। रुखले बाहिरको कार्बडाइअक्साइड लिएर खाना बनाउने र आफूमा कार्बन सिञ्चित गरेर राख्ने भएकाले रुख रोपिएको हो।
जलवायु परिवर्तन, वायु प्रदूषणको कुरा गर्दा किन रुख रोप्नुपर्छ भन्ने कुरा आएको हो भने सबैभन्दा सस्तो उपाय भएकाले। अर्को- हामीलाई चाहिने अक्सिजनसँग पनि जोडिएको कुरा छ। मोटामोटी रूपमा २० प्रतिशत कार्बनडाइअक्साइड वन क्षेत्रबाट प्राप्त हुने गर्छ। वन जोगाउने हो भने हामीले उत्पन्न गरेको कार्बन सोसेर फेरि वनजंगलले फाइदा नै गर्ने गर्छन्। यातायात, उद्योगलगायत अरूबाट उत्पन्न कार्बनडाइअक्साइड सोसेर रुखले राख्न सक्छ। रुख हुर्किंदै गयो भने कार्बन सञ्चिति पनि बढ्छ।
कार्बन कसरी मापन गर्ने?
एक किलो कार्बनबराबर ३.६७ गुणा गरेमा कार्बनडाइअक्साइड निकाल्न सकिन्छ। कार्बन मापन गर्ने सूत्र छ। साधारणतया कुनै रुख रोपेर हुर्किंदै जाँदा जमिनमाथि र जमिनमुनि गरेर रुखलाई दुई भागमा बाँड्न सकिन्छ। सर्वप्रथम त्यो रुखको हरियो तौल कति हुन्छ भनेर आकलन गर्नुपर्छ। हरियो तौललाई सुकेको तौल निकाल्नुपर्छ। त्यो तौलको करिब ५० प्रतिशत कार्बन हो। जस्तै- कुनै रुखको तौललाई आधा मानेर निकालेको तौल मानौं १००० किलो भयो भने १००० लाई ३.३६७ ले गुणा गर्दा ३६७० किलो कार्बनडाइअक्साइड बराबर हुन्छ।
तपाईले हवाईजहाज चढ्दा मानौं काठमाडौंबाट दिल्लीसम्म इकोनोमी क्लासमा दुईतर्फी यात्रा गर्नुभयो भने जनही करिब ०.६८ टन कार्बनडाइअक्साइड खपत हुन्छ। यसको यदि प्रकृतिमा पुन:स्थापित गर्न अफसेट गर्ने हो भने करिब ०.६८ टन कार्बनडाइअक्साइड बराबर ०.६८ टनलाई ०.२७ ले गुणा गर्दा ०.१८३६ टन कार्बन १८७ किलो हुन्छ। तपाईंले कुनै रुख रोप्नुभयो र त्यसको सुक्खा तौल जमिनमाथि र तलको गरेर ३७४ किलो भयो भने मात्र तपाईंले काठमाडौंदेखि दिल्ली एकपटक इकोनोमी क्लासमा हवाईजहाज चढेको कार्बनडाइअक्साइडको अफसेट गर्नुहुन्छ।
हामी सबै मिलेर हाम्रो सपनाको शहर बनाउन सक्छौं। शहरलाई स्वस्थ बनाउने जिम्मेवारी हामी सबैको हो।