काठमाडाैं : सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा बैठक सुरू भएकाे हाे। आजको बैठकपछि महाभियोगको प्रतिवेदनलाई अन्तिम रूप दिएर सभामुखलाई बुझाउने तयारी छ ।
आज बिहान ९ बजेदेखि १२ बजेसम्म बसेको बैठकमा प्रधानन्यायाधीश राणाले अघिल्लो दिन हस्ताक्षर गर्न बाँकी रहेको बयानको लिखतमा हस्ताक्षर गरेका थिए । त्यसपछि समितिका सांसदहरूले राणासँग पुरक प्रश्न सोधेका थिए ।
दिउँसो प्रतिनिधि सभाको बैठक भएकोले ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रतिनिधि सभा बैठक चलिरहेका बेला समितिका ११ जना सांसदहरू सिंहदरबार पुगेर महाभियोग सम्बन्धमा आवश्यक निर्णय गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा छन् ।
आज मध्यरातदेखि प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेकोले त्यसअघि सभामुखलाई प्रतिवेदन बुझाउने समितिको योजना छ ।