काठमाडौं- चालु आर्थिक वर्ष ०७९-८० को बजेट वक्तव्यमा सम्भावित आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारी दरबन्दीहरू नथपिने उल्लेख थियो। तर, बजेटको उक्त घोषणाविपरीत सरकारले दरबन्दी थपेको थप्यै छ।
त्यसको पछिल्लो कडी सशस्त्र प्रहरीमा थपिएको एक एआईजीको दरबन्दी हो। अर्गानाइजेसन एन्ड म्यानेजमेन्ट सर्भे (ओ एन्ड एम) बिनै सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थपिएको स्रोतको भनाइ छ।
त्यसका लागि कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाउने निर्णय गरिएको छ। एआईजीको दरबन्दी थपसम्बन्धी पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ। २१ भदौको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीमा एआईजी थप्ने निर्णय गरेको हो।
उक्त निर्णय हालसम्म गुपचुप राखिएको थियो। सोमबार मात्र त्यससम्बन्धी पत्र सशस्त्र महानिरीक्षकको सचिवालयमा पुगेको हो। सशस्त्रमा एआईजीका दुई दरबन्दी थिए। एक दरबन्दी थपिएपछि तीनजना एआईजी रहने भएका छन्।