काठमाडाैं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले डेंगुको संक्रमण फैलँदै गएकोले नियन्त्रणकाे लागि महानगरले विशेष कार्यक्रम चलाइरहेकाे बताएका छन।
उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण फैलन नदिन सबै पक्षको सहकार्य जरुरी रहेको बताएका छन।
‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ’, शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ । वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ । तर यो प्रयत्न पनि अपुग भएको छ । किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ ।’
उनले उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न महानगरबासीलाई अनुरोध गर्दै सरसफाइमा ध्यान दिन आग्रह गरेका छन। ‘लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ । यसैले कृपया सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस्’, उनको आग्रह छ, ‘डेङ्गुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् । पछिल्लो समय महानगरसहित काठमाडौं र देशका विभिन्न स्थानमा संक्रमित बढेका छन् । ’