नेपालको नागरिकताप्राप्तिमा कठिनाइ छ भन्ने हो भने भारतमा बसोवास गर्ने नेपाली मुलका ठूलो संख्याका मानिसहरूसँग नेपालको नागरिकता पाइन्छ। सहज छ भनौं भने नेपालमै जन्म भई नेपालमै बसोवास गरिरहेका मानिसहरू अनागरिक रहेको तथ्य वीरबहादुर नागरिकताविहीन रहँदाको अवस्थाले नै पुष्टि गर्छ।
नागरिकता विधेयक संसदवाट पारित भएको हल्लासँगै वीरबहादुर विश्वकर्माको मनमा पनि नागरिकता पाउने आशा जागेको थियो। यही आशाका साथ आफ्नो छोराको नागरिकता वोकेर कहिले नेताकहाँ र कहिले स्थानीय पढेलेखेका र कानूनको जानकार भनिएकाहरूका शरणमा जानु उनको नियति भएको छ। आफू नेपालमै जन्मेको र नागरिकता पाउनुपर्ने उनको सीधा मनले बताए पनि उनी तत्कालै नागरिकता पाउने अवस्थामा नरहेको सबैले बताउँदा उनी दिक्क भएका छन्।
छोराको नागरिकतामा बाबु वीरबहादुर विश्वकर्मा उल्लेख भए पनि छोरा दीपकको नागरिकता जन्मका आधारमा दिइएका कारण उनी नेपाली भएको कागजी प्रमाण बन्दैन भन्ने कुरा उनको बुझाइमा छैन। बेलामौकामा दैनिक आवश्यकताका वस्तु खरिदका लागि भारत पश्चिमबंगालको नक्सलबाडी बजारबाहेक देश नछोडेका वीरबहादुरलाई नेपालको कानूनले नेपाली भनेर चिन्न नसकेको पीडाले नीति निर्माण तहमा बसेकालाई छुन सकेन।
नागरिकता वितरणका लागि नेपाल सरकारको टोली अनेक पटक आउँदा पनि उनले नागरिकता बनाउन ध्यान नदिएकै हो। हुन त, उनलाई नागरिकताको कुनै काम पनि थिएन। जग्गा किन्न, बैंकमा पैसा राख्न, जागिर खानका लागि मात्र नागरिकता आवश्यक हुने ठानेका उनलाई गरिबी र अशिक्षाले सबै ढोका बन्द गरिदिएको थियो। नागरिकताप्राप्ति सहज नभएका कारण अनुसूची भर्दादेखि लाइन लाग्नुपर्ने र विभिन्न प्रमाण पेश गर्नुपर्नेलगायत झण्झट बेहोरेर नागरिकता बनाइसकेपछि सरकारबाट केही पनि प्राप्त हुने नदेखेका कारण उनलाई नागरिकता लिन मन नभएको हुन सक्छ। तर, जब वीरबहादुरलाई आफ्नै साथीले दलित भएवापत दिइने सामाजिक सुरक्षा भत्ता बुझेको खबर दिए, त्यसपछि मात्र नागरिकता भए आफूले पनि भत्ता पाउने आशा लागेर नागरिकतातिर ध्यान तानिएको छ।

नागरिकता नपाउँदा आफ्नै देशमा (अ)नागरिक बनेका वीरबहादुर विश्वकर्मा
नेपालको नागरिकता कानूनले नचिनेका वीरबहादुरको जन्म ओखलढुंगाको सौरेनी भन्ने स्थानमा भएको थियो। माइतमा सुत्केरी खुवाउने परम्पराअनुसार आमा सुत्केरी भएको १२ दिनमा उनकी आमा उनैलाई काखमा लिई मामाघर खोटाङ आएकी र १२ महिनापछि आमाको त्यहीं ज्यान गएको उनले कुरा बुझ्न थालेपछि जानकारीमा आएको हो। तत्कालीन समयको नेपालको स्वास्थ्य सेवा, आर्थिक अभावका कारण उनका आमाको निधन भएको भन्ने उनलाई लागेको छ। आमाको क्रियाकर्मका बेला बाबु मामाघर आएका र क्रियाकर्मपछि बाबुले उनलाई मावलमै छोडेर ओखलढुंगा फर्केका बाबुको हालसम्म उनलाई अत्तोपत्तो छैन। बाबुले एकपटक लुगा पठाइदिएको मात्र उनलाई उनकी हजुरआमाले भनेको थाहा छ।
उमेर बढ्दै ११ वर्षसम्म पुग्दा पनि उनका बाबु उनलाई लिन नआएका र पहाडको जीवन कष्टकर भएकाले झापा पाँचगाँछीमा बस्ने मामा खोटाङ गएको समयमा मामासँगै उनी पाँचगाँछी आए। त्यतिबेला खाद्यान्न अभावले पिरोलिएको उनको जीवन झापा झरेसँगै अभाववाट मुक्त भयो। काम गरेर भए पनि पेटभरि खानका लागि कुनै समस्या भएन। तराईको समथर जमिन र खाद्यान्नको प्रचुरताका कारण वीरबहादुरले खोटाङको मामाघर भुलेर मामासँगै झापा नै बस्ने निधो गरे।
एक वर्षपछि १२ वर्षको उमेरमा उनका कान्छा मामाको निधन भएकाले फेरि झापा पाँचगाँछी बस्ने मामासँगै खोटाङ पुगेका उनी कान्छा मामाको क्रियाकर्मपछि झापाको दूधे झरेर एक साहुकोमा हली बसे। त्यहाँ एक वर्ष बिताएपछि झापा खुदुनाबारीमा दुई वर्ष बिताएका उनी १५ वर्षको उमेरमा इलाम गए। इलाममा चार वर्ष विताउँदा नै उनको नागरिकता पाउने उमेर भइसकेको थियो। र, उनलाई नागरिकताको खाँचो परेन। १९ वर्षको उमेरमा उनी कामको खोजीमा पोखरा पुगे र त्यहीं उनले आफूसँगै काम गर्ने युवतीसँग मन मिलाए, घरजम गरे। त्यसपछि झापा आएका उनी हाल मेचीनगरको वडा नम्बर २ मा बसोवास गरिरहेका छन्। मेचीनगर २ का एक राजनीतिकर्मीले बरु अर्कै व्यक्तिको नाममा भोट हाल्न लगाएको उनी सम्झिन्छन्। पछि फोटोसहितको मतदाता नामावलीको प्रणाली आएपछि भने ती राजनीतिकर्मीले आफूलाई चिन्न छोडेको उनलाई राम्रो हेक्का छ।
नेपालको नागरिकताप्राप्तिमा कठिनाइ छ भन्ने हो भने भारतमा बसोवास गर्ने नेपाली मुलका ठूलो संख्याका मानिसहरूसँग नेपालको नागरिकता पाइन्छ। भारतमा बस्नेहरू धेरैको नेपालमा घरजग्गा भएको अवस्थामा उनीहरूसँग नेपाली नागरिकता नहुने कुरै भएन। नेपाली नागरिकताप्राप्ति सहज छ भनौं भने नेपालमै जन्म भई नेपालमै बसोवास गरिरहेका मानिसहरू अनागरिक रहेको तथ्य वीरबहादुर नागरिकताविहीन रहँदाको अवस्थाले नै पुष्टि गर्छ।
गृह मन्त्रालयका अनुसार नेपालको संविधान र नेपाल नागरिकता ऐन २०६३ बमोजिम जम्मा चार प्रकारका नागरिकता वितरण गर्ने गरिन्छ। वंशजको आधारमा, अंगिकृत नेपाली नागरिकता (वैवाहिक अंगिकृत नेपाली नागरिकतासहित) गैरआवासीय नेपाली नागरिकता र सम्मानार्थ नेपाली नागरिकता। ऐनमा भएका अनेकौं प्रावधानहरू समेतको अध्ययन गर्दा नेपालमै जन्मेको र नेपालमै जीवन बिताएका वीरबहादुरजस्ता व्यक्ति नेपाली नागरिक बन्ने कुनै सहज बाटो देखिँदैन। वंशजको आधारमा नागरिकता प्राप्त गर्न तीन पुस्ता खुलाउन नसक्नेहरू हाल पनि अनागरिक भएको बाँच्नु परेको छ।

वीरबहादुरका छोरा दीपकले जन्मका आधारमा पाएको नागरिकता
यस्तै, अर्को महत्त्वपूर्ण समस्या जन्मका आधारमा नागरिकता लिएका सन्तानले नागरिकता पाउने बाटो खुल्न सकेको छैन। जन्मको आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानहरू नागरिकता प्राप्त गर्ने बेला भइसक्दासमेत कानून बन्न सकेको छैन। बरु अहिलेको विधेयकमा वैवाहिक अंगिकृतलाई प्राथमिकतामा राखेको देखिन्छ। नेपालको संविधान भाग २ धारा १० (१) मा नागरिकताबाट वञ्चित नगरिने उल्लेख गरी कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकवाट वञ्चित गरिने छैन भन्ने लेखिएको छ। नेपालमै जन्म भई पिता पुर्खासमेत नेपाली नै भएको तर आफ्ना पिता पुर्खा नेपाली वंशज भएको प्रमाण पूरा गर्न नसक्नेका हकमा के कस्तो हुने हो भन्ने बारेमा उल्लेख गरेको पाइँदैन।
नागरिकता मात्र नभई राज्यका सेवा सुविधावाट वञ्चित हुन पुगेका भूमिहीन, दलित र सीमान्तकृत समुदायको यस्तो खालको पीडा जुनसुकै सरकार आए पनि समाधान नहुने र विभेदको शिकार हुने अवस्था कायमै रह्यो। नागरिकता पाएका दलितहरूको समेत नागरिकतामा अपमानजनक नाम राखिएकाले पनि विभेदको पुष्टी गर्छ।
स्थानीय तहको सरकार विशेष गरी जनतासँग प्रत्यक्ष जोडिएका कारण यस्ता समस्याहरूको बारेमा जानकार हुनुपर्ने र सोहीअनुसार उनीहरूको पक्षमा कानून बनाउनका लागि पैरवी गर्नुपर्ने हो। पहिलो स्थानीय तहमा नागरिकता प्राप्त गर्न नसकेका व्यक्तिहरूको संख्या कति छ भन्ने तथ्यांक हुनुपर्ने हो। नागरिकता सिफारिस गर्ने अधिकार वडालाई नै दिएको अवस्थामा अझ यस्ता तथ्यांकहरू वडामै हुनु आवश्यक छ। राजनीतिक दलहरूले नागरिकता भएकालाई बरु खर्च गरेर भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन लगेको देखियो तर नागरिकता नभएका व्यक्तिहरूका लागि खासै चासो दिएको पाइँदैन। नागरिकता बन्न सक्दा त भोलिका दिनमा ऊ पनि मतदाता हुने हो भन्नेबारेमा दलहरूले सोच्न नसकेको अवस्था छ।
यो विभेद हट्नका लागि राजनीति जिम्मेवार र जवाफदेही हुनुपर्नेमा देश हाँक्नेहरू सत्ता परिवर्तनका लागि मात्र लागेको तथ्य कसैबाट छिपेको छैन। यो राजनीतिले निम्न समुदायको हितमा काम गर्ने र साना तर आम मानिसका लागि महत्त्वपूर्ण विषयहरूमा ध्यान दिनुको बदला आफैं सत्तामा हालीमुहाली गर्नेबाहेकका काममा ध्यान नदिनु नै वीरबहादुरहरूको नियति बनेको छ।