काठमाडौं- जीवनमा सबैका आफ्नै सोख हुन्छन्, आफ्नै इच्छा र चाहना। वाङ्छु लामाका पनि त्यस्तै रुमानी सपना थिए। उनको दिमागमा चित्र थिए, हात सलबलाउँथे, दिमागमा बनेको चित्र उतार्न। तर, कसलाई पो सजिलो छ र सपना पूरा गर्न? उनलाई पनि सजिलो भएन। शुरु भयो उनको भविष्यको संघर्ष।
२०४८ सालमा लामा काठमाडौं हिँडे, मामाको छोराको पछिपछि लाग्दै। काठमाडौं पुगे। को नै थियो र अरू उनको नयाँ शहरमा? काठमाडौं त उनका लागि निर्जन थियो, मान्छे भए पनि नभएजस्तै। भएका आफन्तले पनि साथ दिएनन्।
उनको त एउटै उद्देश्य थियो, थाङ्का सिक्ने। रामेछापको तत्कालीन बेथान गाविस भ्वासा (हाल सुनापति गाउँपालिका-५) बाट थाङ्का सिक्नकै लागि उनी काठमाडौं आए।
एक दिन उनी थाङ्का सिक्ने ठाउँमा पुगे। तर, सिक्न पाएनन्। चित्र कोर्न चाहने उनका हातमा डाडु-पनिउँ र भुईँ पुस्ने टालो परे, कस्तो विडम्बना?
त्यहाँ उनले आफ्ना थाङ्का सिक्ने सपना पूरा गर्न नपाए पनि खाना पकाउने, भाँडा धुने र भुईँ पुछ्ने काम पाए। हुन त उनका लागि यो काम बाँच्ने आधार बन्यो। सपना त आफ्नो छँदैछ। आखिर सपनालाई मृत्युबाट बचाउन जीवन त रहनै पर्छ।

मनमा थाङ्का सिकने सपना बोकेर उनले दैनिक ५० जनालाई खाना पकाउन थाले। आजभन्दा भोलि, भोलिभन्दा पर्सि सिक्न पाइएला नि भन्ने आशा राख्दाराख्दै बिते तीन वर्ष। थाङ्काको केही सीप सिक्न पाएनन्। जुन सपना बोकेर आएका थिए, त्यही सपना पूरा हुने सम्भावना क्षीण हुँदै जाँदा उनी साह्रै दुःखी भए, मानवीय स्वभाव न हो कसलाई दुःख लाग्दैन?
त्यहाँबाट निस्किए उनी। सिन्धुपाल्चोकका चिन्ने दाइसँग गएर उनले थाङ्काको सीप सिक्न थाले। सिन्धुपाल्चोकका दाइसँग सिक्दै गर्दा उनले मामासँग पनि सिक्ने मौका पाए।
०५५-५६ सालतिर थाङ्का सिकाउने राम्रो गुरुको अभाव थियो। थाङ्का सिकाउने गुरुलाई ठेकेदार भन्थे, उनीहरूको काम भने थाङ्का सिक्न चाहनेहरू जम्मा गरेर आफूले जानेको सिकाउने गर्थे। ‘त्यतिखेर राम्रो गुरु नपाउने हुँदा आहा ! भन्ने खालको गुणस्तरीय थाङ्का हुँदैनथ्यो,‘ लामा भन्छन्।
गुरुको अभावमा उनले छिटो सिक्न पाएनन्। लामाले थाङ्का १५-१६ वर्षको उमेरमै अलिअलि सिकेका थिए।
त्यसपछि उनी थाङ्का उद्यमी बने, रोजगारी दिए
लामाको थाङ्का सिक्ने सपना मात्रै पूरा भएन, उनले त्यसैबाट राम्रो आम्दानी गरेका छन् अहिले। सिक्न चाहनेलाई सिकाएका छन्, रोजगारी दिएका छन्।
धर्म र आस्थासँग नभई थाङ्काबाट नेपालको कलालाई विदेशमा चिनाउनुका साथै यो आम्दानीको स्रोत पनि बनेको उनको भनाइ छ।
थाङ्का बनाउने सबैको आ-आफ्नो कला हुन्छ। कसले कस्तो सिर्जना गर्न सकिन्छ, त्यो व्यक्तिमा भर पर्ने कुरा हो।
एउटै थाङ्काबाट पाँच हजार कमाउन सकिन्छ भने त्यही थाङ्काबाट करोड पनि कमाउन सकिने उनको भनाइ छ। त्यसमा आफ्नो लगानी कति छ भन्नेमा भर पर्छ। लपक्कै सुन लाएको छ भने त्यही अनुसारको मूल्य पाउँछ।
नेपालको ठमेल, पाटन, बौद्ध थाङ्का बेच्ने मुख्य ठाउँ हो। नेपालमा बनेको थाङ्का ९० प्रतिशत चीन जान्छ। करोड रुपैयाँको थाङ्का चीन जानेको गरेको उनले बताए। ‘मासिक १५ देखि २० लाखको बिक्री गर्छु। सन्तुष्टि नै छु। थाङ्का बेचेर घर बनाए, भाइबहिनीलाई पढाएँ, परिवार धानेकै छु,’ लामाले हाँस्दै भने।

झण्डै बदलिएको थियो पेशा
थाङ्का सिक्दै गर्दा उनलाई अरू नै काम गरौं कि भन्ने नभएको होइन।
०५५-५६ सालतिर उनी अन्य पेसातिर मोड्ने योजना बनाइरहेका थिए। त्यही बेला डा. योगी विकासानन्दसँग भेट भयो। गफ गर्दा, यो पेशाबाट सन्तुष्ट भइनँ, खुशी भइनँ भनेर सुनाए। डाक्टर योगीले अरू काम शून्यबाट शुरु गर्नुभन्दा गरिरहेको कामलाई फरक ढंगबाट गर्न सुझाव दिएको उनी सम्झिन्छन्।
सुनको महँगीका कारण पछिल्लो समय थाङ्का बनाउन चुनौती बन्दै गएको लामा बताउँछन्। सुनविना थाङ्का चल्दैन। कानमा लाउने सुनभन्दा २० हजार महँगो पर्छ, थाङ्कामा लाउने सुनलाई। किन्ने ग्राहकले हिजो बेचेको मूल्यमा थाङ्का खोजिरहेको छ। यता सुनको भाउ बढ्यो। अर्काेतिर थाङ्का लेख्ने कलाकारको तलब पनि बढेको छ। थाङ्काको मूल्य बढ्दैन। कसरी गर्ने त? त्यही भएर पुरानो मान्छेहरू नगर्ने भनेर छोडेर हिँडेको उनको भनाइ छ।
नयाँ मान्छेहरू पनि यो पेशामा आइरहेको उनले सुनाए। महिलाहरूले लाउने साडीमा बुट्टाले अझ आकर्षक देखाएजस्तै देवताले लाउने कपडामा सुनले बुट्टा भर्दा त्यो आकर्षक देखिने लामा बताउँछन्। सुनले गर्दा बिक्री गर्न पनि सजिलो हुन्छ।
महिनामै करिब एक लाख कमाइ
अहिले लामासँग ३० जनाले काम गरिरहेका छन्। मासिक आठ हजारदेखि ९० हजारसम्म त्यहाँ काम गर्नेको कमाइ हुने गरेको छ।
लामा भन्छन, ‘पहिलाजस्तो थाङ्कामा आधारभूत कुराहरू नै सिक्नुपर्छ भन्ने छैन। आफूलाई रुचि भएको, पारिश्रमिक हेरेर सिक्न सकिन्छ। जस्तै- सुन भर्ने, चेन्जे, स्याम्दाङ गर्ने एकैचोटि जुनै पनि सिक्न सकिन्छ। खाडी मुलुकहरूमा जानुभन्दा केही पैसा खर्च गरेर, एक दुई वर्ष समय दिएर थाङ्का सिक्ने हो भने भविष्य बन्छ।’
थाङ्का आस्था, कला, व्यवसाय मात्र नभई यसले देशको पर्यटन प्रबर्द्धनमा पनि टेवा पुर्याएको लामाको भनाइ छ। सरकारले भने वेवास्ता गरेको लामा बताउँछन्। सरकारलाई थाङ्का व्यवसाय गर्नेहरूले कति कर तिरेका छन् भन्ने लेखाजोखा छैन।
विदेशबाट थाङ्का बनाउन चाहिने कच्चा सामान आएन भने थाङ्का बन्द हुन्छ। यदि आगामी दिनमा नाकाबन्दी, कोरोनाजस्ता समस्याहरू आइपरे वैकल्पिक उपाय के हुन सक्छ भन्ने सरकारसँग कुनै योजना नभएको लामाको गुनासो छ।
महिलाले लेख्न नहुने मान्यता थियो
‘थाङ्का तिब्बतबाट फैलिदै, भुटान, भारत हँुदै नेपाल भित्रिएको हो। फेरि नेपाल हुँदै तिब्बत गएको पनि छ,’ उनी भन्छन्, ‘नेपालमा बनाएको थाङ्कालाई अहिले पनि तिब्बती थाङ्का भनेर बेचिन्छ। किनकि, त्यो तिब्बतबाटै आएको भएर।’
उनका अनुसार थाङ्का सबैभन्दा पहिला तिब्बतीले लेखे। त्यसपछि ह्याल्मो, शेर्पा, तामाङले लेख्न थालेका हुन्। अहिले सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर तामाङ जातिहरूको बाहुल्य रहेका ठाउँहरूका तामाङहरू सबैले लेख्छन्।

२०६० सालभन्दा अगाडिसम्म थाङ्का महिलाले लेख्नुहुँदैन भन्ने मान्यता रहेको उनी बताउँछन्। महिलाले नलेख्ने पनि, लेख्यो भने पाप लाग्छ भन्ने खालको असत्य कुरा थियो।
माओवादी द्वन्द्वकाल, देशका विभिन्न समस्याका कारण थाङ्का लेखेका पुरुषहरू एक ठाउँमा बस्न सकेन। त्यसपछि भने महिलाहरू थाङ्का लेखनमा भित्रिएका हुन्। अहिले महिलाहरू धेरै थाङ्का लेखनमा आबद्ध रहेको उनको भनाइ छ।
कच्चा पदार्थ विदेशबाटै आयात
नेपालीले थाङ्का चित्र मात्र कोरेका छन्। यसलाई बनाउन आवश्यक कच्चा पदार्थ विदेशबाट आयात हुन्छ। नेपालमा अहिलेसम्म ब्रस मात्र बनेको छ।
थाङ्का लेख्न आवश्यक कपडा चीनबाट आउँछ। सरेस, माटो, रङहरू सबै भारतबाट आउने गर्छन्। नेपालमा पनि सम्भावना नभएको होइन, तर पहल नभएको लामा बताउँछन्।
आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘विश्वभरि फैलिएको कोरोनाले मलाई पनि भेट्यो। कोरोनाले भेटेर म घरमा बस्दा थाङ्का लेख्नुपर्यो भनेर भैंसीको छाला किनेर घरमा लगेर एक दिन कुहाएँ। आफैंले सरेस बनाएँ। तर, जमाउने ठाउँ पाइनँ। सरेस बनाउने र जमाउने बनाउने मेसिन यहाँ बनाउन सक्दा भारतबाट ल्याउन परेन। त्यसैले मलाई आविष्कार केन्द्रका महावीर पुनसँग भेट्न मन लागेको छ।’
के हो थाङ्का?
थाङ्का कलाकार दीक्षान्त लामाको भनाइमा थाङ्का तिब्बती परम्परागत, बौद्ध दर्शन आधारित एउटा विशिष्ट चित्रकला हो। ‘यो चित्रकला नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। थाङ्का दुई शब्द मिलेर बनेको छ। थाङ भन्नाले ह्रेसी (चिल्लो, कडा कपडा) र का भन्नाले कला भन्ने बुझिन्छ,’ उनी भन्छन्, ‘मण्डला एउटा ब्रह्माण्डको प्रतीकात्मक तस्बिर हो। साधारणतया मण्डला भित्ता, कपडा वा रंगीन बालुवामा एकदम कुशलनिपुण दिमागले सिर्जना गरेको पाइन्छ। मण्डला आत्माको विकारबाट टाढा राख्ने एक कलाको चिकित्सा उपकरण हो। मण्डला गोलाकार हुन्छ, जसले जीवनको अन्त्य कहिल्यै हुँदैन भन्ने धारणालाई दर्शाउँछ।’
उनका अनुसार मुलतः लामा तथा भिक्षुहरुले बौद्ध धर्मको शिक्षा प्रदान गर्नका लागि थाङ्काको प्रयोग गर्छन्। ‘थाङ्का दृश्यको रूपमा ज्ञानको अभिव्यक्ति र बौद्ध आध्यात्मिकको अन्तिम लक्ष्य पनि भनिन्छ,’ उनी भन्छन्, थाङ्काकै माध्यमबाट बौद्ध दर्शन, जीवन, समय, इतिहास साथै धर्मको सारलगायत कुराहरू व्याख्या गर्न सकिन्छ।’
बौद्धधर्ममा पञ्चबुद्ध, वज्रसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री वज्र वाणी, तारा आदि पर्छन्। शाक्यमुनि बुद्धको जीवनीदेखि महापरिनिर्माणसम्म र मण्डलका थाङ्काहरू बनाएर बुद्ध धर्मप्रति आस्था प्रकट गर्ने प्रचलन व्यापक छ।
आज थाङ्का बुद्ध धर्मावलम्बीहरूका बीच शान्ति, सद्भाव र एकताको प्रतीक बनेको छ भने नेपालका लागि व्यवसायको प्रतीक बन्दै गएको छ। यसबाट नेपाली कलाकारहरूको व्यवसाय एकातिर फस्टाइरहेको छ भने अर्कातिर बुद्ध धर्म, दर्शन र विचारप्रति आस्था जगाउने माध्यम पनि बनेको छ।
थाङ्का गुम्बामा बढी प्रयोग गरिन्छ भने घरघरमा पनि राखेर यसको पूजा गर्ने गरिन्छ। थाङ्का घरमा राख्नाले वा पूजा गर्ने गरेमा मनोकामना पूरा हुने, भूतप्रेत, रोग अनिष्ट नहुने विश्वास छ। बुद्ध सम्बतभन्दा अगाडिदेखि थाङ्काको महत्त्व जोडिन्छ। थाङ्कासँग बुद्ध धर्म जोडिएको छ। पाटीपौवा, गुम्वाहरू थाङ्का लेख्नेले नै बनाएको मानिन्छ। थाङ्काविना गुम्बा अधुरो हुन्छ।

थाङ्का कसरी तयार हुन्छ?
थाङ्काको प्रकार व्यक्तिपिच्छे फरक हुने लामा बताउँछन्। तर, बौद्ध धर्मको देवीदेवता र बुद्धको जीवनी झल्काउने गरेर चित्र बनाएको हुन्छ। कुनै थाङ्का वरिपरिको वातावरणसँग मिल्दो घरको, रुखको रङले भरिएका हुन्छन्। कसैले सेटी थाङ्का (सुनको मात्र) बनाउँछन्। त्यसैगरी अर्काे मह्टी रातो। नह्क्टी कालो लपक्कै लाएर त्यसमा सबै सुन मात्र भरेर पन िबनाइएको हुन्छ।
पसलअनुसार फरक-फरक किसिमका थाङ्का भेटिन्छन्। एउटा चौकुने कपडामा ‘झयाङसिङ’ अर्थात काठ अथवा फलामकको फ्रेम हुन्छ। त्यहाँ कटनको कपडालाई तन्काइन्छ, फ्रेमिङ गरेर। पहिला घर छ्याप्ने कमेरो, गोरुको छाला या भैंसीको छालालाई बिलाएर गमको रूपमा तयार पारिन्थ्यो, जसलाई ‘सरेस’ भनिन्छ। त्यो फ्रेमिङमा कमेरो माटोबाट तयार भएको लाएर घोटेर चिल्लो क्यान्भास तयार पारिन्थ्यो। त्यसपछि थाङ्का लेख्न शुरु गरिन्छ।
थाङ्का बनाउँदा आफ्नो छुट्टै नियम छ। नियमभन्दा बाहिर गयो भने थाङ्का बन्दैन। एउटा नियम हो, कर्मकाँटी। यसमा बादलहरू विभिन्न किसिमको पातलो राखेको हुन्छ। अर्काे मट्टी र मेहेन्दी हुन्छ। मेहेन्दीमा सिनहरू धेरै राख्दा पनि हुन्छ। देवताविनाको थाङ्का हुँदैन। त्यो देवता सुहाउँदो उसको वरिपरिको वातावरण हुन्छ । ठ्वा भन्ने राक्षस स्वभावको देवता नै हो। भैरव हुन्छ। भैरवको छेउमा पहरा हुन्छ, आगोमा बसेको हुन्छ, त्यो वातावरण चाहिन्छ। त्यसपछि स्रिह्वा भन्ने हुन्छ, यसमा भैरव कस्तो ठाउँमा बस्छन्, के के खान्छन्जस्ता चित्रण गर्नुपर्छ। कुन देवता हो, कस्तो वातावरण छ, विशेषता के हो त्यो सबै सिनमा समेटिएको हुनुपर्छ।
थाङ्का कलाकार दिक्षान्त लामाका अनुसार थाङ्का लेख्न विभिन्न चरणहरू छन। पहिलो चरणमा ह्रेसी (क्यान्भास) बनाउनुपर्छ। दोस्रोमा क्यारी (स्केच) कोर्ने र तेस्रोमा छोन (रङ) लगाउने काम गरिन्छ। त्यसैगरी चौथो चरणमा चे (रेखा) तान्ने काम गरिन्छ। रेखा तान्ने काम सकेपछि म्हार (सुन) लगाइन्छ। छैटौंमा कुन्जे (आकार) निकालिन्छ र सातौंमा याल-स्याम्दाङ (सेटिङ) गर्ने अथवा पृष्ठभूमि तयार पार्ने काम गरिन्छ।
थाङ्काको सबैभन्दा महत्त्वपूर्ण र थाङ्कालाई पूर्ण रूप दिने चेन्जे हो। यो चेन्जे (आकार-आकृतिलाई पूर्ण रूप दिने काम) आठौं चरणमा गरिन्छ। थाङ्काको अन्तिम नवौं चरणमा फिनिसिङ (अन्तिम रूप) दिएपछि तयार हुन्छ।