जेरुसेलम- इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो ।
मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक सुरक्षा निकायका कर्मचारी, जेल सेवाका कर्मचारी, अग्निनियन्त्रक, उद्धारकर्मी, स्थानीय सुरक्षा संयोजक तथा आपत्कालीन प्रतिक्रिया टोलीका सदस्य छन् । यो तथ्याङ्कमा अक्टोबर ७ को आक्रमणपछि गाजा, कब्जा गरिएको पश्चिम किनारा, लेबनान, सिरिया र इराकमा इजरायलले सञ्चालन गरेका सैन्य कारबाही तथा यमनमा इरान र हुथी समूहविरुद्ध गरिएका कारबाहीमा मारिएका सुरक्षाकर्मीसमेत समावेश छन् ।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको इजरायलले जनाएको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही सुरु गरेको थियो र यो पछि क्षेत्रका अन्य स्थानमा समेत फैलिएको थियो ।
यस अवधिमा गाजामा इजरायली सैन्य कारबाहीबाट ७४ हजार २२८ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र एक लाख ७५ हजार १८८ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का अनुसार गाजाका करिब ८२ प्रतिशत संरचना, अर्थात् झन्डै दुई लाख भवन, क्षतिग्रस्त भएका छन् । तीमध्ये करिब दुई तिहाइ पूर्ण रूपमा ध्वस्त भएका छन् ।
पूर्वी जेरुसेलमसहित अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सन् २०२५ सेप्टेम्बरमा इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध नरसंहार गरिरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले गाजामा भइरहेका अत्याचार तत्काल रोक्न इजरायललाई आह्वान गरेको थियो ।
द्वन्द्व गाजाबाहिर पनि फैलिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले गत जुनमा सन् २०२४ मार्च २ यता इजरायली आक्रमणमा चार हजार ५७ जनाको मृत्यु र १२ हजार १२१ जना घाइते भएको जनाएको थियो ।
इरानमा सरकारी समाचार संस्था इरनाले अप्रिलमा इरानी अधिकारीलाई उद्धृत गर्दै इजरायल र अमेरिकाविरुद्ध ४० दिन चलेको द्वन्द्वमा तीन हजार ४६८ जनाको मृत्यु भएको जनाएको थियो । मृतकमध्ये एक हजार ४६० जना सर्वसाधारण रहेको उल्लेख गरिएको थियो ।
कब्जा गरिएको पश्चिम किनारामा पनि हिंसा बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ देखि सन् २०२६ जुलाई २४ सम्म त्यहाँ एक हजार १२२ प्यालेस्टिनी मारिएका छन् ।
सिरियामा बशर अल–असद सरकारको पतनपछि इजरायली सेना इजरायल र सिरियाबीचको बफर क्षेत्रमा प्रवेश गरेको छ । सन् १९७४ को विच्छेद सम्झौताअन्तर्गत स्थापित उक्त क्षेत्र संयुक्त राष्ट्रसङ्घको निगरानीमा रहेको असैन्यीकृत क्षेत्र हो ।
यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२४ नोभेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन रक्षामन्त्री योव ग्यालेन्टविरुद्ध युद्ध अपराध तथा मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले उक्त निर्णय अस्वीकार गर्दै आएको छ ।