काठमाडौं- आज २९ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९४१- किभमा ३३ हजारको हत्या
सन् १९४१ मा आजकै दिन शुरु भएको नरसंहारमा नाजीहरूले ३३ हजार यहुदीहरूको नृशंस हत्या गरेका थिए। यसलाई ‘बाबी यार नरसंहार’का नामले चिनिन्छ।
– सन् १९६२- क्यानाडाको पहिलो स्याटेलाइट
क्यानाडाले आजकै दिन पहिलो स्याटेलाइट ‘अलौट-१’ प्रक्षेपण गरेको थियो। उक्त स्याटेलाइट भने अमेरिकाको क्यालिफोर्नियास्थित भेन्डेबर्ग एयरफोर्स बेसबाट प्रक्षेपण गरिएको थियो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र क्यानाडाको रक्षा अध्ययन तथा विकास केन्द्रको संयुक्त लगानीमा उक्त स्याटेलाइट पृथ्वीको आयन तहको अनुसन्धानका लागि पठाइएको थियो।
– सन् १९९१- हाइटीमा सैन्य ‘कु’
सन् १९९१ मा आजकै दिन हाइटीमा भएको सैन्य ‘कु’मार्फत राष्ट्रपति हुवाँ-बट्र्रान्ड एरिस्टाइडलाई सत्ताच्युत गरिएको थियो। उनी ८ महिनाअघि मात्र राष्ट्रीय निर्वाचनमार्फत सत्तामा पुगेका थिए।
– सन् १९९४- एमएस एस्टोनिया डुब्दा ८०० को मृत्यु
आजकै दिन एमएस एस्टोनिया नामक पानीजहाज बाल्टिक सागरमा डुबेको थियो। त्यस घटनामा परी ८०० भन्दा बढी यात्रीको मृत्यु भएको थियो। यसलाई २०औं शताब्दीको शान्तिकालीन सबैभन्दा भिषण समुद्री विपदको संज्ञा दिइएको छ।
– सन् २००९- सामोअन भूकम्पमा मारिए १९२
सन् २००९ मा आजकै दिन सामोअन द्विप शृंखलामा गएको ८ रेक्टर स्केलको भूकम्पमा १९२ जनाको ज्यान गएको थियो। भूकम्पपछि आएको सुनामीले पनि जनधनको क्षति गरेको थियो। मारिनेहरूमा सामोआमा १४९, अमेरिकन सामाओमा ३४ र टोंगाको नियुआटोपुटापुमा ९ जना थिए। यो मध्य-दक्षिण प्रशान्त महासागरीय द्विप समूह हो।
– सन् २०२०- मंगल ग्रहमा भूमिगत ताल
सन् २०२० मा आजकै दिन मंगल ग्रहमा भूमिगत ताल फेला परेको घोषणा खगोलशास्त्रीहरूले गरेका थिए। इसाको मार्स एक्सप्रेस अन्तरिक्ष यानमा जडित राडारको मद्दतबाट मंगल ग्रहमा पानीका तीनवटा भूमिगत ताल फेला परेका थिए।
– सन् २०२१- लोप भए २३ वन्यजीव
सन् २०२१ मा आजकै दिन अमेरिकी मत्स्य तथा वन्यजीव सेवाले २३ प्रजातिका वन्यजीव लोप भएको घोषणा गरेको थियो। त्यसमा ‘आइभोरी-बिल्ड’ वुडपेकर चरा पनि थियो।
– सन् २०२३- आत्मघाति आक्रमणमा ५० मारिए
सन् २०२३ मा आजकै दिन पाकिस्तानको मास्टुङ र पेशावर शहरमा भएका आत्मघाति आक्रमणमा परी ५० जनाको ज्यान गएको थियो। मुहम्मदको जन्मदिन मनाउने क्रममा उक्त आत्मघाति आक्रमण भएको थियो।
– सन् २०२४- नेपालमा बाढी-पहिरोबाट १४८ को मृत्यु
सन् २०२४ मा आजकै दिन नेपालमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी १४८ जनाको ज्यान गएको थियो। घटनामा बेपत्ता भएका केही मानिसको अवस्था हालसम्म अज्ञात छ। बाढीबाट राजधानी काठमाडौं उपत्यका पनि नराम्ररी प्रभावित भएको थियो।
– सन् २०२४- न्युजिल्यान्डको ‘हाका’मा विश्व रेकर्ड
सन् २०२४ मा आजकै दिन न्युजिल्यान्डको मौलिक नृत्य ‘हाका’मा विश्व रेकर्ड कायम भएको थियो। ‘लार्जेस्ट हाका’ नाम दिइएको समारोहमा भेला भएका ६ हजार ५३१ जनाले एकसाथ नृत्य गरेका थिए। ‘का माते’ नाम दिइएको परम्परागत हाका न्युजिल्यान्डको माओरी समुदायबीच लोकप्रिय नृत्य हो। उक्त समारोह अकल्यान्डको इडेन पार्कमा आयोजना गरिएको थियो।