काठमाडौं- आज २४ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८१४- बेलायती सेनाले वासिङ्टन जलायो
सन् १८१४ मा आजकै दिन तत्कालीन ब्रिटिस सेनाले अमेरिकाको राजधानी वासिङ्टन कब्जा गरेर आगो लगाएको थियो। मेजर जनरल रोबर्ट रोस नेतृत्वको ब्रिटिस सेनाले राष्ट्रपति भवन र क्यापिटल बिल्डिङसहित पूरै शहरमा आगो झोसेको थियो। ब्रिटिस कब्जालगत्तै राष्ट्रपति जेम्स म्याडिसन र उनको सरकारका सदस्यहरू शहरबाट भागेर म्यारिल्यान्डको ब्रुकभिल्लेमा शरण लिन पुगेका थिए। तथापि, ब्रिटिस सेनाले २४ घण्टा मात्र वासिङ्टनमा कब्जा गर्न सक्यो। उनीहरूको कब्जालगत्तै आएको भीषण समुद्री तुफानले ब्रिटिस सैनिकलाई पछाडि हट्न बाध्य बनायो। र, फेरि अमेरिकी सेनाले राजधानीमाथि नियन्त्रण कायम गर्न सफलता पायो।
– सन् १९४९- नेटोको स्थापना
सन् १९४९ मा आजकै दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को स्थापना भएको थियो। यो अमेरिकी नेतृत्वको अन्तर-सरकारी सैन्य गठबन्धन हो। नेटो स्थापनासम्बन्धी सन्धिमा ४ अप्रिल १९४९ मा वासिङ्टन डीसीमा हस्ताक्षर भएको थियो। शुरुमा नेटोमा १२ मुलुक सदस्य थिए। बेल्जियम, क्यानाडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायन र अमेरिकाले सन्धिमा हस्ताक्षर गरेका थिए। हाल नेटोमा २८ मुलुक सदस्य छन्।
– सन् १९९१- सोभियत संघबाट युक्रेन स्वतन्त्र
सन् १९९१ मा आजकै दिन युक्रेन तत्कालीन सोभियत संघबाट स्वतन्त्र भएको थियो। तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभलाई सत्ताच्युत गर्ने प्रयासलगत्तै युक्रेनले स्वतन्त्र भएको घोषणा गरेको थियो। युक्रेनी संसद भेरखोभ्ना राडाले सोभियत संघबाट स्वतन्त्र हुने विधेयक पारित गरेको थियो। २४ अगस्टमा युक्रेनले स्वतन्त्रता दिवस मनाउने गर्छ।
– सन् २००६- ग्रहको सूचीबाट हट्यो प्लुटो
सन् २००६ मा आजकै दिन प्लुटो अर्थात यम ग्रहलाई ग्रहको सूचीबाट हटाइएको थियो। अन्तर्राष्ट्रीय खगोलीय संघ (आईएयू)ले प्लुटोलाई ड्वार्फ ग्रहमा राख्ने निर्णय गरेको थियो। ड्वार्फ प्लानेटको अर्थ न त ग्रह हो, न प्राकृतिक उपग्रह नै। सन् १९३० मा अमेरिकी खगोलशास्त्री क्लाइड टोमबगले प्लुटोको खोजी गरेका थिए।
– सन् २०१६- इटाली भूकम्पमा गयो २६८ को ज्यान
सन् २०१६ मा आजकै दिन इटालीमा गएको शक्तिशाली भूकम्पमा परी २६८ जनाले ज्यान गुमाएका थिए। ६.२ रेक्टर स्केलको भूकम्पले राजधानी रोमसहित मध्य भागमा बढी क्षति पुर्याएको थियो। भूकम्पमा ४०० भन्दा बढी घाइते भएका थिए।
– सन् २०१६- पृथ्वीजस्तै ग्रह फेला परेको घोषणा
सन् २०१६ मा आजकै दिन खगोलशास्त्रीहरूले हाम्रो सौर्यमण्डल नजिकको प्रोक्सिमा सेन्चौरी नामक तारालाई परिक्रमा गरिरहेको पृथ्वीजस्तै ग्रह फेला परेको सार्वजनिक गरेका थिए। उक्त ग्रहलाई ‘प्रोक्सिमा बी’ नाम दिइएको छ। उक्त ग्रह प्रोक्सिमा नामक ताराको ह्याबिटेबल जोनमा अवस्थित छ। प्रोक्सिमालाई अल्फा सेन्चौरी नाम पनि दिइएको छ।
– सन् २०२३- ट्रम्पद्वारा जेलमा आत्मसमर्पण
सन् २०२३ मा आजकै दिन अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। सन् २०२० मा जर्जिया राज्यको चुनावको दौरान परिणाम परिवर्तन गर्न खोजेको आरोप उनीमाथि लागेको थियो। उनलाई जेलमा गिरफ्तार गरियो। र, एक तस्बिर खिचेर रिहा गरियो। उक्त तस्बिर संसारभर चर्चित भएको थियो।
– सन् २०२४- पक्राउ परे टेलिग्राम बोस
सन् २०२४ मा आजकै दिन टेलिग्राम नामक एपका निर्माता तथा प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोभ पक्राउ परेका थिए। उनी रुसी-फ्रेन्च नागरिक हुन्। र, फ्रान्समा पक्राउ परेका थिए। टेलिग्राम एपमार्फत भइरहेको अवैध र आपराधिक गतिविधि नियन्त्रण गर्न नसकेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। पछि उनी ५० लाख युरो तिरेर धरौटीमा रिहा भएका थिए।