आज फेरि त्यो दिन र परिवेशको यादले सतायो। २ जेठ ०५० को बेलुकीपख हेटौंडामा पानी परेको थियो, भोलिपल्ट नेपाल परिचयको जाँच थियो। हामी सबै जाँचको तयारीमा थियौँ। राति ९ बजेतिर वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसको होस्टलमा एउटा खबर आयो एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी दासढुंगामा दुर्घटना भयो तर ड्राइभर सकुशल छन्, नेताहरूको अत्तोपत्तो छैन। यो अपुष्ट खबर अप्रिय थियो। यो खबरलाई परीक्षण गरेर सत्य के हो भनेर बुझ्न हामीसँग कुनै सुविधा उपलब्ध थिएन। होस्टलमा फोन थिएन, हामीले छलफल गर्दा गर्दै १० बजिसकेको थियो। अडिटोरियममा टेलिभिजन त थियो तर अबेर भइसकेकोले बन्द भइसकेको थियो। यो खबरले निकै बेचैन बनायो। हामी कसैसँग पनि ठूलो रेडियो थिएन। मित्र पवन खत्री (हाल नेपाली सेनाका सहायक रथी) सँग रेडियोसमेत आउने वाकम्यान थियो। हामी सबै पवनको वाकम्यानको एयरफोनको अगाडि जम्मा भएर एकदम शान्त भएर ध्यान दिएर रेडियो नेपालको ११ बजेको समाचार सुन्न लाग्यौँ, समाचार शुरु हुनुअघिसबैले हे भगवान कुनै अप्रिय समाचार सुन्न नपरोस् भनेर कामना गर्यौँ।
मदन भण्डारी महान नेता हुनुहुन्थ्यो। वास्तवमा अहिलेको चेतनाले वहाँको त्यतिवेलाको व्यक्तित्वलाई मूल्यांकन गर्ने हो भने वहाँ वास्तवमा नै सर्वाहारा वर्गको राष्ट्रवादी नेता हुनुहुन्थ्यो। वहाँले आफूलाई पूर्ण रूपमा सर्वहाराकरण गर्नुभएको थियो। चिन्तन र व्यवहार नै एउटा गतिशील कम्युनिस्ट नेताको थियो। सादा जीवन, अध्ययनशील व्यक्तित्व, दर्शनमा आधारित वैज्ञानिक चिन्तन एवं तर्क र तार्किक प्रस्तुतीले वहाँलाई असाधारण नेता बनाएको थियो। कुनै पनि कुराको दीर्घकालीन आवश्यकता र महत्त्व के हुन्छ, त्यसले समाजमा र देशमा के प्रभाव पार्छ भन्ने कुरालाई परीक्षण गरेर मात्र जनमानसमा प्रस्तुत गर्ने र आफ्ना कुराहरू प्रति पूर्ण बफादार र जिम्मेवार हुन सक्ने चरित्रले नै वहाँलाई वैज्ञानिक, दार्शनिक र सच्चा कम्युनिस्ट नेताको रूपमा स्थापित गरेको थियो।
कम्युनिस्ट विचारको एउटा महान नेता र त्यसमा पनि २६ चैत ०४९ मा एमाले मकवानपुरको सातौँ अधिवेशनको सिलसिलामा हामी स्वयम् सेवक भएर वहाँलाई हाम्रो क्याम्पसको अडिटोरियम स्वागत गर्ने अवसर पाएका थियौँ र एकदम उत्साहित भएर वहाँलगायत नेताहरू माधवकुमार नेपाल, काशीनाथ अधिकारी र नरबहादुर खाँणका साथमा मकवानपुरका नेताहरूको भाषण सुनेका थियौँ। नेताहरूलाई हामीले हाम्रो होस्टलको कोठामा स्वागत गर्दै आराम गर्ने र मेसमा खाना खाने व्यवस्था गरेका थियौँ। मदन भण्डारी, माधव नेपाल, काशीनाथ अधिकारी, नरबहादुर खाँण, डोरमणि पौडेल, अनन्तलगायत नेताहरूले हाम्रो मेसमा खाना खाएर आफनो थाल आफैँले माझेको दृश्य एकदम रोचक, उत्साहबर्द्धक र प्रेरणादायी थियो। कमरेड काशीनाथ अधिकारी बुवाको साथी भएर र स्वयम् पनि अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र वहाँहरूका लागि आराम गर्ने व्यवस्थापन मैले र मित्र चिरञ्जीवी दाहालले गरेकोले पनि हामीलाई वहाँहरूसँग घुलमिल हुन सहज भयो। खाना खाइसकेपछि नेताहरू हाम्रो कोठामा आराम गर्दा हामी सबैले वहाँहरूसँग फोटो खिच्यौँ। दुर्भाग्यवस मसँग त्यो फोटो रहेन (अरू साथीहरूले पोस्ट गरेको देख्दा अलि अलि डाहा लाग्छ) तर मेरो मनमा त्यो फोटो नमेटिने गरी बसेको छ। वहाँले हामीसँग हाम्रो क्यापस र पढाइको बारेमा चासो राख्नुभयो र हामीलाई राम्रोसँग पढ्नुहोस्, देशको सेवा गर्नुपर्छ भन्नुभयो। वहाँले अनेरास्ववियु र नेकपा एमालेको बारेमा हामीसँग कुनै कुरा गर्नुभएन। विद्यावारिधि गरिसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल विद्याभुषण ‘क’ ग्रहण गर्दा वहाँले भनेका ती शब्दहरू स्मृतिमा सल्बलाए र भावुक बनायो। व्यक्तिगत रूपमा आफ्नो ठाउँबाट मेरो प्रयास निरन्तर जारी छ र जनताको वहुदलीय जनवादलाई मुलमन्त्र मानेर समाजवादउन्मुख स्थानीय तहहरूको योजना तर्जुमा गर्न मैले भरमग्दुर प्रयास गर्ने गरेको छु। र, पछिल्लो समय पोखरा महानगरपालिकाको शहरी योजना आयोगको उपाध्यक्ष हुँदा वा अन्य पालिकाहरूको परामर्शदाता हुँदा जनताको बहुदलीय जनवादमा आधारित समाजवादउन्मुख योजना निर्माणमा पूर्ण प्रयास गरेको छु।
त्यत्रो महान नेतालाई प्रत्यक्ष भेटेर भलाकुसारी गर्ने अवसर पाएपछि वहाँप्रतिको आस्था झन् चुलियो। कम्युनिस्ट पारिवारिक पृष्ठभूमि र पञ्चायतकालीन अवस्थामा भूमिगत कम्युनिस्ट नेताहरूले प्रयोग गर्ने सेल्टरको रूपमा घरमा कम्युनिस्ट नेताहरूको संगतका कारण राजनीतिक चेतना र विद्यार्थी राजनीति, अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी सदस्यसमेत भएकाले जनताको बहुदलीय जनवाद, मदन भण्डारीका विचार र भाषणहरूले गहिरो प्रभाव पारेको थियो र अद्यापि छँदैछ। विशेषतः हामी अनेरास्वियुका विद्यार्थीहरू वहाँलाई निकै मन पराउँथ्यौँ, वहाँका विचारहरू खोजीखोजी पढ्थ्यौँ। हाम्रो कलेजका नेविसंघका साथीहरूले पनि वहाँलाई सम्मान गर्थे। विशेषतः कुनै पत्रकारको तपाईंलाई कुन नेता मन पर्छ भन्ने प्रश्नमा, नेतामा आफ्नै मौलिकता र विशेषता हुनुपर्छ, नेता स्वयंको विचारवाट न कि शक्तिबाट प्रभावित हुनुपर्छ र त्यस्तो नेता बीपी कोइराला हुनुहुन्थ्यो भन्ने उत्तरले नेविसंघका साथीहरूलाई प्रभावित पारेको रहेछ। पहिल्यैदेखि वहाँका भाषण र अन्तरवार्ता पढ्थ्यौँ र सुन्थ्यौँ। झन् वहाँलाई भेटेपछि मनमा एकदम अमिट छाप बनेको थियो र वास्तवमा नेताले देशलाई बदल्छन् र यिनै नेताको नेतृत्वमा हामीले भन्ने गरेका सर्वहाराहरूका सुदिन आउँछन् भन्ने विश्वास अटल भएको थियो।

३ जेठमा नेपाल परिचयको जाँच थियो तर जिप दुर्घटनाको त्यस खबरले त जाँचको टेन्सन नै टर्यो र त्यसपछि होस्टलमा हामी कुनै अप्रिय घटना नहोस् भन्ने कामना मात्र गर्नतिर लाग्यौँ र निकै अबेर सुत्यौँ। भोलिपल्ट बिहानै म, गोकुल गौतम, बच्चुराम सुवेदी, शम्भु तामाङलगायत साथीहरू बजारतिर पत्रिका किन्न गयौँ तर समाचार केन्द्र, पत्रपत्रिका सेन्टर खुलेका थिएनन्। त्यही चोकमा रेडियोमा साचार सुनेर फर्कियौँ र जाँचको तयारीतिर लाग्यौँ। नियतिको अगाडि हाम्रो कामनाको कुनै उपाय लागेन। ३ गते पत्रपत्रिकाहरूमा विभिन्न अडकलसहितका समाचार आए। जाँचपछि हामी पार्टी अफिसमा गयौँ, जहाँ मकवानपुरका नेताहरू एकदम उदास भएर विभिन्न अडकल गर्दै हुनुहुन्थ्यो भने केही नेताहरू दासढुंगातिर गइसक्नुभएको रहेछ। अन्ततः हामीले नचाहेको तितो यथार्थ समाचार बनेर आयो र हामी सबैलाई दुखित बनायो। सारा देश शोकमा डुब्यो। सर्वहाराका मुक्तिका नायक अस्ताए।
अहिले आएर हेर्दा र स्थानीय निर्वाचनको यो परिणाम नियाल्दा प्रमाणित हुन्छ, उनीसँगै देशले र सर्वहारा वर्गले आफ्नो नायक गुमाएको रहेछ। आज पनि मदन भण्डारीका विचारहरू उत्तिकै सान्दर्भिक र उनका भाषणहरूले सबैलाई उत्प्रेरित गरिरहन्छ। वास्तवमा भन्ने हो भो देशैभरि कम्युनिस्टप्रति अथाहा विश्वास र मोहका बावजुद आफूलाई मदन भण्डारीकै उत्तराधिकारी हौँ भन्नेहरूको असक्षमता र असफलताका कारण कम्युनिस्ट आन्दोलन क्षतविक्षत भएको छ भने कम्युनिस्ट पार्टी दलाल पुँजीपतिहरूको सेवक बनेको छ। कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा बनेको संघीय सरकार, प्रदेश सरकारहरू र अधिकांश स्थानीय सरकारहरूका नीति तथा कार्यक्रममा जनताको बहुदलीय जनवादलाई तिरष्कार गरिएको छ। केवल चुनावी भाषण र ठर्रा बहसमा जनताको बहुदलीय जनवादको रटान गरे पनि कम्युनिस्टहरूको नेतृत्वमा कहीँ कतै जनताको बहुदलीय जनवादको झल्को आउँदैन। मदन भण्डारी र बहुदलीय जनवादलाई मागिखाने भाँडो र जनतालाई झुक्याउने यन्त्रको रूपमा प्रयोग गरिएको छ। यदि सपनामा पनि कमरेड मदनलाई भेट्न पाए मैले वहाँलाई भन्थेँ, ‘कमरेड मदन भण्डारी तपाईं देशका हर नागरिकको मनमा जीवित हुनुहुन्छ। आज र सदियौँसम्म तपाईंलाई यो देश र जनताले सम्झिरहनेछन् तर तपाईंका सहयोद्धाहरू र सहयात्रीहरूले तपाईंको विचार, सिद्धान्त र व्यवहारलाई दलाल पुँजीपतिहरूको पाउमा चढाएर सर्वहाराको आशा र भरोसाको तिलाञ्जली दिन डटेर लागिरहेका छन्। हामीलाई आजको यस संकटपूर्ण घडीमा जननेता मदन भणडारीको अभाव एकदम खडकिरहेको छ।’
वैशाख ०४८ मा नेपालको प्रधानमन्त्रीको रूपमा मदन भण्डारीलाई देख्ने चाहना केवल तीन महिना पनि निबित्दै सेलाएर गयो। आफूलाई वहाँका अनुयायी बताउनेहरूले जबजलाई केवल सुरक्षा कवचको रूपमा प्रयोग गर्दै नवउदारवादको दलालीकरण गर्दै कम्युनिस्ट आन्दोलन विसर्जनको वाटोमा डोर्याएको देख्दा मन खिन्न हुन्छ र जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको अभाव खडकिन्छ। आजका दिनमा वहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र हामी सबैलाई जबजलाई व्यवहारमा प्रयोग गरी नया समाज निर्माण गर्ने शक्ति मिलोस्।
(लेखक इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन्)