परबेज हुडवे
सन् २०१५ सेप्टेम्बरमा डन पत्रिकाले ‘पाकिस्तानको डोनाल्ड ट्रम्प’ शीर्षकमा मेरो आलेख छाप्यो। यो ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुभन्दा १६ महिनाअघि र इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्नुभन्दा तीन वर्षअघिको कुरा हो। आलेखमा धेरैले टिप्पणी गरे।
वाशिङ्टनमा बसोबास गर्ने विश्लेषक माइकल कुगेलम्यानले लेखको जवाफमा लेखेको आलेख पनि डनमै छापियो। कुलेगम्यानले मेरो गरेको तुलनालाई खारेज गर्दै ‘सतही’ बताएका थिए। उनको निष्कर्ष थियो, ‘नयाँ पाकिस्तानको नारा राजनीतिक रुपमा आलोकाँचो देखिए पनि यो न खराब सुनिन्छ न त्यसमा कुनै बदनियत देखिन्छ।’
विश्व राजनीतिमा सात वर्ष निकै लामो समय हो। सन् २०१५ देखि यता धेरै उतार चढाब भइसकेको छ। ट्रम्पले झिनो मतान्तरले राष्ट्रपति जितेर पुनरनिर्वाचनमा हारिसके। उनी सन् २०२४ को चुनावबाट पुनः शक्तिमा फर्किने प्रयास गरिरहेका छन्। इमरान खान सन् २०१८ को नियन्त्रित निर्वाचनको विजेता हुन्। यताका चार वर्ष उनले नयाँ पाकिस्तानको सपना धेरै बेचे। अहिले उनको राजनीतिक भविष्य केही दिनपछि संसदमा हुने अविश्वास प्रस्तावमा आएर टिकेको छ।
यस अवसरमा ट्रम्प र खानबीचको तुलना समय सान्दर्भिक हुन्छ। मैले विगतमा गरेका केही समानतामा कुनै परवर्तन आएन। अहिलेजस्तै त्यसबेला पनि दुवै नेताको राजनीतिक औजार समर्थकहरूमाझ उत्तेजना फैलाउने भाषा थियो। ट्रम्प सत्तामा आएपछि चाप्लुसी, झुटा खबर र श्वेत अतिवाद ह्वात्तै बढ्याके। वाशिङ्टन पोष्टको गन्तीअनुसार ट्रम्पले चार वर्षमा ३०, ५७३ झुटो वा गलत अर्थ आउने दाबी गरे। त्यस्तै, उनी शासनसम्बन्धी हरेक कमजोरीको दोष उनका प्रतिद्वन्दीलाई दिन्थे।
अमेरिकीहरूले ट्रम्प क्यामेराको अगाडिमात्र अद्भुद रहेको तर, शासनको मामिलामा दिशाहिन भएको छिट्टै पत्ता लगाए। अर्थतन्त्र, नश्लको मुद्दा र वैदेशिकसम्बन्ध सबै बिग्रिन थाल्यो। अमेरिकाको युरोपेली मित्र शक्तिसँगको सम्बन्ध खस्किरहँदा पुटिन–ट्रम्पको व्यक्तिगत घनिष्टता बढिरहेको थियो। दोस्रो कार्याकालको लागि मतदाताले अस्वीकार गर्दासमेत उनले स्वीकार्न सकेनन्। हुन पनि आफूप्रति सीमाभन्दा बढी आशक्ति भएको व्यक्तिले हार स्वीकार्न सक्दैनन्।
ट्रम्पले चुनावी परिणाम उल्टाउने अनेक प्रयास गरे तर, दुरभाग्य यो कुरामा अमेरिकी लोकतन्त्र सबल देखियो। भोटिङ मेसिन कब्जा गरेर पुनः मतदान गराउनु पर्ने ट्रम्पको मागलाई न्याय मन्त्रालय र सेनाले सीधै अस्वीकार गरिदियो। त्यसपछि क्यापिटल हिलस्थित त्यहाँको संसदमा भिडले आक्रमण गर्यो। दुई सय वर्ष लामो प्रजातन्त्रको अभ्यास गरेको देशको ससंदभित्रको हुल दंगाको दृश्य विश्वले स्तब्ध भएर हेर्यो।
खानको उस्तै प्रवृत्ति
स्थान, समय र मानिस फरक भएपछि खान र ट्रम्पबीच कयौँ समानता छन्। समय बित्दै जाँदा दुई जनाको सामनता झन झन् बढ्दै गएको छ। खान अहिले उनको सम्भावित बहिर्गमनको व्याख्या खोजिरहेका छन्ः उनी ‘स्वतन्त्र वैदेशिक नीति र मुश्लिमविरुद्धको घृणाविरुद्ध कठोर अडान लिन थालेपछि पश्चिमले नसहेको’ भन्ने पार्दैनन् ।
२७ मार्चमा अर्थात अविश्वासको मतदान हुने दिन इमरानको पार्टीले इस्लामावादको ‘पाकिस्तानको इतिहासको सबैभन्दा ठूलो ¥याली’ गर्ने तयारी गरेको छ। ¥यालीको उद्देश्य अविश्वासको मतलाई प्रभावित बनाउने रहेको स्पष्ट हुन्छ। क्यापिटल हिलको आक्रमणअघि ट्रम्पको भेलामा सहभागी मानिसहरू आवेगमा स्वतस्फूर्त हुल दंगामा उत्रिएका थिए। तर, पाकिस्तानमा के गरिनेछ भनेर अहिले नै स्पष्ट पारिएको छ।
पाकिस्तानको सूचना मन्त्री फवाद चौधरीले सो दिन अविश्वासको प्रस्तावमा मतदान गर्ने हरेक सांसदले लाखौँ इमरान खानका समर्थक भएर अघि बढ्नु पर्ने र फर्कंदा पनि तिनको सामना गर्नु पर्ने बताए। उनीहरूमाथि भिडको आक्रमण हुन सक्छ। यसले सो दिन सांसदहरूको मनमा हिंसात्मक हुनेछ भन्ने डर फैलाइदै छ। जबकी अमेरिकाको क्यापिटल हिलको कब्जा प्रयास त्यहाँको बलियो प्रणालीले निश्तेज बनाएको थियो।
खानको विरासत
पाकिस्तनमा आगामी विकसित हुने घटनाक्रमले खानलाई हटाउन पनि सक्छ वा नहटाउन पनि सक्छ। तर, यो सबको अन्त्यपछि उनको विरासत के हुने छ ? यहाँ त्यसबारेमा बुँदागत चर्चा गरिएको छ ।
प्रजातन्त्रमा : सांसदलाई तिनको मतदानको अधिकारबाट बञ्चित गर्नु भनेको प्रजातन्त्र र भद्रतामाथिको आक्रमण हो। यसले प्रष्ट रुपमा संविधानको उलघंन गर्छ। तर, इमान्दार भएर भन्दा पाकिस्तानले योभन्दा खराब झेलेको छ। चार मार्सल कानुनले संविधानलाई कुल्चिएको इतिहास छ। संविधानको स्पष्ट उलघंनबिना भ्रष्ट राजनीतिज्ञ तथा सेनाका जनरलले दशकौँ देशको ढुकुटी रित्याइरहे।
अर्थतन्त्रमा : आजको बढ्दो मुद्रास्फिर्ती र फर्किफर्की आउने आइएमएफ, कालो धनको शुद्धिकरण र पाकिस्तानी मुद्राको नाटकीय गिरावट धेरै खराब भोगाई हो। यसका लागि तहरिक–ए–इन्शाफ मात्र दोषी छैन। पाकिस्तानको संरचनात्मक आर्थिक कमजोरीका लागि ठूलो रक्षा खर्च, राष्ट्रिय धनमाथिको एलिट कब्जा र अत्यन्त कमजोर श्रमशक्ति जिम्मेबार छ।
यिनै कारणले गर्दा चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरअन्तर्गत नयाँ पूर्वाधार बन्दा पनि औद्योगिकरणमा उलेख्य प्रभाव परेको छैन। पाकिस्तान मुस्लिम लिग(नवाज) अथवा पाकिस्तान पिपुल्स पार्टीका सरकार भएको भए पनि स्थिति यही हुन्थ्यो।
वैदेशिक सम्बन्धमा : इमरान खानले विगत चार वर्षमा के के मात्र भनेनन्। र, के के मात्र गरेनन् ? उनले ओसामा विन लादेनलाई सहिद भने। तालिवानलाई स्वतन्त्र सेनानी भने। युक्रेनमा युद्ध सुरु हुनै लाग्दा पुटिनसँग हात मिलाए।
देशको महत्वपूर्ण आर्थिक सहयोगी युरापेली संघलाई गाली गरे। साउदी अरबसँगको सम्बन्धलाई बिगारे। यी खराबी भोलिको दिनमा सुधार्न सकिन्छ। नयाँ आउने प्रधानमन्त्रीले स्थितिलाई नयाँ दिशातर्फ लान सक्छ।
शिक्षामा : खानको शिक्षाको विरासत भने उल्टाउन निक्कै कठिन हुनेछ। मदर्साहरू दशकौँदेखि जे गरिरहेका थिए। आज पनि त्यही नै गरिरहेका छन्। तर, पञ्जाबका सामान्य विद्यालय भने विद्यालयभन्दा पनि मदर्सा जसरी चल्न थालेका छन्।
तथाकथित एकल राष्ट्रिय पाठ्यक्रमले निर्माण गर्ने अन्यौलग्रस्त र अशिक्षित पुस्ताबारे सोच्दा पनि डर लाग्छ। उच्च शिक्षातर्फ उनले उच्च शिक्षा आयोगलाई छिन्नभिन्न बनाइदिए।
इमरान खानले नयाँ पाकिस्तान स्वर्गजस्तो हुनेछ भन्दा धेरै मानिसले यसलाई स्वच्छ र समतामुखी पाकिस्तानको विम्बको रुपमा बुझेका थिए। तर, कसैले पनि इमरानको भनाई चुरो बुझेनन्। हरेक धार्मिक राज्यका प्रमुख कुनै प्रकारको इश्वरीय क्षमताको कुरा गर्छन्। लगभग दिनहुँजस्तो नैतिक आचरण तथा भद्र पहिरनको पाठ पढाउने इमरानको ‘आदर्श’ सबैका अगाडि प्रष्ट देखिएको छ।
डन डट कमबाट