कालिञ्चोक- प्रसिद्ध धार्मिक तीर्थस्थल कालिञ्चोक भगवतीको मन्दिर जाने बाटोमा राज्यको नजर नपुग्दा आन्तरिक र बाह्य धार्मिक पर्यटकले सास्ती खेप्नु परेको छ।
सिन्धुपाल्चोक हुँदै जाने राजमार्गअन्तर्गत काभ्रेको बनेपा क्षेत्रमा केराघारीसम्म करिब ५ किलोमिटर कच्ची बाटोमा कालोपत्रे नहुँदा यात्रुले पहिलो चरणमा सास्ती खेप्नुपर्छ। उक्त बाटो पारे गरेपछि तामाघाट, जिरो किलो, मेलम्ची, दोलालघाट, दोबाटो, सुकुटे, खाँडीचौर, मुडे, खरीढुंगा, चरी चोक हुँदै पक्की राम्रो बाटो हुँदै सहज रूपमा सवारी साधनमा देउराली पुग्न सकिन्छ।
देउरालीबाट कुरीसम्म करिब १५-१६ किलोमिटर आन्तरिक र बाह्य पर्यटकले प्रयोग गरेका मोटरसाइकल, गाडीबाट यात्रा गर्दा ठाउँ-ठाउँमा झर्दै सवारीलाई धकेल्दै, दुःख, सास्ती खेप्दै हिलाम्य र कच्ची सडक मार्ग पार गर्नुपर्छ।
उक्त बाटोमा ठाउँ-ठाउँमा आरसीसी ढलान भएको छ भने कतै कच्ची नै छ। काठमाडौंबाट अन्दाजी ५ घण्टा यात्रापछि कुरी पुग्न सकिन्छ।
बंगलादेशको दलाइनगर निवासी सीता दे छोरा-बुहारीसँग कालिञ्चोक दर्शन गर्न आएकी थिइन्। तर, प्रसिद्ध तीर्थस्थल पुग्ने सडकको जीर्ण अवस्था देखेर उनले भनिन्, ‘मन्दिर पुग्न राज्य लागेर समयमै पक्की र गुणस्तरीय सडक बनाउनुपर्छ।’
कुरीस्थित दीपप्रिया होटेल एन्ड लजका सञ्चालक समिर तामाङका अनुसार देउरालीदेखि कुरीसम्म ओहोरदोहोर गर्न प्रतिव्यक्ति एक हजार रुपैयाँ तिर्नुपर्छ। गाडी रिजर्भ गर्न चाहनेले ३५ सय देखि ४ हजार रुपैयाँसम्म तिर्नुपर्छ। त्यो पनि सहजै यात्रा गर्न सकिँदैन।

असोजदेखि वैशाखसम्म कुरीमा रहेका करिब ८० वटा होटेलमा आन्तरिक र बाह्य धार्मिक पर्यटक भरिभराउ रहन्छन्। यहाँबाट गौरीशंकर र लाङटाङ हिमशृंखलाको प्राकृतिक मनोहर दृष्य अवलोकन गर्न पाइछ।
विश्वका हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कालिञ्चोक तथा प्रकृतिसँग रमाउन चाहने व्यक्तिहरूका कुरीसम्म पुग्ने सडक यात्रा सहज नहुँदा सास्ती बेहोर्नु परिरहेको छ। उक्त बाटोलाई दीर्घकालीन समाधानका गर्न राज्यले चाँडो ध्यान दिनुपर्ने होटल व्यवसायी तामाङको माग छ।
काठमाडौंबाट आफन्तसँग दर्शनमा पुगेकी रसिना लिम्बू रमणीय वातावरणमा रमाइन्। तर, बाटोको अवस्था देखेर दुःखी भइन्। संयोगवस, उनी यस क्षेत्रमा आइपुग्दा बादलुको घुम्टोले मनोरम हिमशृंखला ढाकिदियो। हिमाल हेर्न नपाएकामा उनी दुःखी थिइन्। त्यो सबै दुःख कालिञ्चोकको सहज दर्शनपछि सबै बिर्सिइन्।
हिन्दूहरूको आस्थाको केन्द्र कालिञ्चोक भगवती दर्शनका लागि पछिल्ला दिनमा केबलकार निर्माणले निकै सहज भएको छ। कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार निर्माण गरी तीर्थयात्रीलाई आउजाउ सहज बनाइदिएको छ। केबलकारमार्फत आउजाउ गर्न जनही ६ सय रुपैयाँ तिर्नुपर्छ।
तथापि, देउरालीबाट कुरीसम्मको सडकको सास्तीले केबलकारजस्तो अत्याधुनिक संरचनालाई गिज्याइरहेको छ। कालिञ्चोक भगवती दर्शनका लागि नेपालका विभिन्न जिल्लासँगै भारतका बिहार, उत्तराखण्ड, सिक्किम, दार्जिलिङ, भुटान र बंगलादेशबाट समेत भक्तजनहरू आउने गरेका छन्।
मन्दिरको नित्य पूजा अर्चना तामाङ, ब्राह्मण र लामा पुजारीले गर्छन्। वैदिक विधिअनुसार पूजापछि धर्मालम्वीहरूका लागि बिहान ६ देखि अपराह्न ४ बजे सम्म खुल्ला रहन्छ।
कुरीमा पुसदेखि चैतसम्म हिउँ पर्ने भएकोले हिउँ खेल्न चाहनेले प्रकृति प्रेमिहरू यहाँ आइपुग्छन्। त्यसैले धार्मिक मात्र होइन, साहसिक पर्यटनका लागि पनि यो क्षेत्र प्रसिद्ध बनेको छ।
कालिञ्चोक मन्दिरमा दशैं, जनैपूर्णिमा, नया वर्ष, चैते दशैं र कात्तिके पूर्णिमामा हिन्दू धर्मावलम्बीहरूको बाक्लो उपस्थिति हुन्छ। यो मन्दिर समुद्री सतहबाट करिब ३८ सय ४२ मिटरमा पर्छ।