गुच्चा खेलेर खेलाडी हुने भएको भए, पात्रो च्यापेर सबै भविष्य देखिने भएको भए
यति बिघ्न दुःख मैले किन गर्न पर्थ्यो, तिम्रो मायाले भोक टरिदिएको भए
आमाले अझै च्यातिएको फरिया भुईंमा पसारी सपनाका बिस्कुन सुकाउँदै छिन्
कठै तिम्रो कदर कति हुन्थ्यो, आमाको बिस्कुन तिम्रो साथले सुकाइदिएको भए
सत्तरी वर्षको बूढा बुवाले हलो जोतेको डल्ला फोरेको हेरेर नै बसेका छौ
बुवा कति मिठो आराम गर्नु हुन्थ्यो, तिमीले थोरै मैले थोरै हात बटाइदिएको भए
कोपिला फक्रन नपाउँदै रछ्यानमा झरेर कुहेको गन्धमा नै मलाई भुलाएका छौ
रछ्यानको दलदलमा भासिनु किन पर्थ्यो म, तिमीले चिप्ल्याउनु सट्टा हात दिएको भए
गोजी टाल्न कहिल्यै दिएनौ बचत शून्य भयो, शून्यमा नै रमाउन कर लगाएको छौ
एक एक रुपियाँको लागि जोवन किन बेच्नु पर्थ्यो, तिमीले गोजी टाल्न दिएको भए
सिद्धिचरण नगरपालिका-२ ठूलाछाप-निशंखे, ओखलढुंगा