काठमाडौं- “धेरै राम्रो सन्देश बोकेको लोक संस्कारयुक्त गीत रहेछ, जसले १० मा ८ स्कोर पाउँछ मबाट, ” यो प्रतिक्रिया चलचित्र ‘बा : एक योद्धा’का दुई गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’लाई टेकेन कँडेलले युट्युबमा हेरेर दिएका हुन्।
सीबी राना मगरलाई पनि ‘बा : एक योद्धा’का गीत ‘नभन्नू कोइसित’ मन परेको छ। उनी लेख्छन्, “धेरै पछि पञ्चेबाजाको नयाँ गीत आहा सागर आले र समीक्षा अधिकरीको स्वरमा आहा।”
चलचित्र ‘बा : एक योद्धा’को गीत सुनेर र हेरेर आएका केही प्रतिक्रिया हुन् यी । यस्ता थुप्रै प्रतिक्रिया यो सिनेमाका गीतलाई प्राप्त भएको छ । यी प्रतिक्रियासँगै सिनेमाको निर्माण टिम निकै उत्साही बनेको छ। ‘बा : एक योद्धा’को टिमले प्रचार सुरु गरिसकेको छ।
चलचित्र ‘बा : एक योद्धा’ टिमले केही दिन अघि लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको थियो। त्यसअघि सिनेमा शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो, जसको धेरैले तारिफ गरिरहेका छन्।
चलचित्र ‘बाः एक योद्धा’ १९ भदौमा रिलिज हुँदैछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा छ।
यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।