पर्दा पछाडि लुकेका शहंशाहका
काम र बोलीबाट
परेशान छन् दिक्क छन् कारिन्दा
एक दिन सबैले सल्लाह गरे-
अब त अति भो
अब त बित्ने भो
कसै न कसैले त भन्नुपर्यो !
यो जिम्मा कसले लिने ?
बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ?
घण्टी मगाइयो, डोरी छुटेछ
डोरी मगाएको त
घण्टीमा रालो नै रहेनछ !
मिटिङ बसेकाले सल्लाह गरेछन्
अब अर्को घण्टी बनाउन समिति बनाउने,
डोरीका लागि पनि समिति बनाउने
घण्टी कसले बाँध्ने ?
त्यसका लागि पनि समिति बनाउने !
समस्या हल भो
सबै खुशी हुँदै
ताली बजाउँदै घर लागे !