गण्डकी- ०२६-२७ तिरको कुरा हो, घान्द्रुकका शंकरमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउँथे। गाउँको पुछारमा विद्यालय थियो। उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरू को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन। पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए।
उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ’जासुसी गर्न’ आएको भनेर शंकाको दृष्टिले हेरिन्थ्यो। विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले। अनि थाहा भयो, उनीहरू त घुमफिरका लागि आएका पर्यटक पो रहेछन्। त्यतिबेला घान्द्रुकमा होटल, रेस्टुराँको कल्पना नै थिएन।
पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले। ‘घरमा जे पाक्छ, उनीहरू त्यही खान्थे, सामान्य कोठामा सुत्थे,’ शिक्षक गुरुङले विगत कोट्याए, ‘गाउँका अरूले राख्न मानेनन्, मैले राखें। अंग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो।’
व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा-सत्कार गर्ने संस्कार गुरुङहरूमा थियो। शिक्षक गुरुङले पनि शुरुशुरुमा त्यसै गरे। ‘विदेशीलाई राखेर यतिउति पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पर्थ्यो,’ उनले भने, ‘हाम्रो आतिथ्यबाट खुशी भएर उनीहरू आफैंले केही पैसा छाडेर जान्थे।’
विस्तारै गुरुङको घरमा बास बस्न आउने पर्यटक बढ्दै थिए। अरू गाउँलेले पनि पर्यटक भेटेपछि उनकै घरमा पठाउन थाले। ‘घान्द्रुक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो,’ उनले भने, ‘पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोले।’
पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो, जुन अहिले बन्द छ। ०२७ सालतिर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले। उनले कान्छोबुवाको घरमा होटल चलाए। पछि त्यही घर किनेर ०५० सालसम्म अन्नपूर्णकै नाममा होटललाई निरन्तरता दिए।
७८ वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमै छन्। ७४ वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ। गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन्। ०५० सालपछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पतीले। ‘पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीं बनायौं, नाम पनि नयाँ राख्यौं,’ उनले भने।
२०५० सालमा शिक्षण पेशाबाट निवृत्त भएपछि गुरुङले पूरै समय होटललाई दिन थाले। झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुककै पहिलो पर्यटन व्यवसायीका रूपमा चिनिन्छ। घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै अगाडि आउँछ।
‘मैले होटल शुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे,’ उनले भने, ‘कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरू पनि होटल व्यवसायमा लागे।’ ०४०-४२ सालपछि घान्द्रुकमा होटल थपिँदै जान थाले। पर्यटकको आउजाउ पनि बाक्लियो।
कास्कीको अन्नपूर्ण गाउँपालिका-१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशी-विदेशी माझ परिचित छ। बर्सेनि हजारौं पर्यटकले त्यहाँ पाइला टेक्छन्। प्रकृति र संस्कृतिमा रमाउँछन्। पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ।
घान्द्रुक उहिलेको जस्तो छैन। जीवनशैली, रहनसहन फेरिँदो छ। नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ। ‘विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थे,’ शिक्षक गुरुङले भने, ‘तर, जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल-ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो।’
सडकले पदमार्ग भत्केका छन्। पर्यटक धूलो-हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन्। हिमालको काखमा पहाडे शैलीका लहरै घर। ग्रामीण परिवेश र हावापानी। गुरुङ समुदायको कला, संस्कृति र रहनसहन। पाहुनाको सत्कारका लागि खुलेका घरबास। गाउँकै उब्जनीबाट बनेका परिकार। पहिले-पहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चिज यिनै थिए। अहिले घान्द्रुक विस्तारै कंक्रिटको जंगल बन्दै छ।
पर्यटकको आउजाउ बढेसँगै कराडौं लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ। बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए। ‘यो विषय हामी सबैलाई महशुस भएको छ। नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौं,’ उनले भने, ‘कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका छन्।’
मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि संकटमा पर्ने स्थिति देखिएको पर्यटन व्यवसायीहरू बताउँछन्। घान्द्रुकमा बनिरहेका ठूल-ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए। ‘हुन त, व्यवसायीको पनि बाध्यता होला। जग्गा अभाव भएका कारण धेरै तला थपेका हुनसक्छन्,’ उनले भने, ‘पक्कै हो घान्द्रुक पहिलेजस्तो छैन, परम्परागत घर धेरै हटिसके।’
स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ छ। घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुछ्रे हिमशृंखलाको दृश्यले जोकोहीलाई लोभ्याउँछ। देश-विदेशमा चिनिएको गन्तव्य घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड छ। घान्द्रुकको पर्यटन प्रबर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव गर्दै आएको छ।
ढुंगामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको स्थानीय धनसुबा गुरुङले बताए। ‘काठ किराले खायो भन्छन्। सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्। यस्तै छ खै कसलाई के भन्ने,’ उनले भने, ‘गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ।’ डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ। केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रूपमा चलाएका छन्।
गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीत र नाच पनि लोपोन्मुख छन्। पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन्। कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन्। स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन्।
केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएका थिए। घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा उनले चिन्ता व्यक्त गरे। ‘पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ,’ उनले भने।
पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन्। १८ वटा घरबास छन्। पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा ८०० कोठा छन्। पर्यटन व्यवसायमा अर्बौं लगानी छ। सयौंले रोजगारी पाएका छन्। पर्यटकीय याममा एकैदिनमा २-३ हजारसम्म पर्यटक पुग्छन्। स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन्।
भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक आउँछन्। अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल-घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रूपमा चिनिन्छ। पोखरा-बागलुङ राजमार्गको नयाँपुलदेखि वीरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै ५-६ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ। मोटरमा जाँदा एक-डेढ घण्टामै पुगिन्छ।