काठमाडौं- पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका रंग पत्रकारको उपस्थिति बढ्दो छ।
पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन्। चलचित्रको समाचारलाई पाठकमाझ प्रस्तुत गरिरहेका ती अहिले आफैं समाचार बनिरहेका छन्। नियमित बनिरहेको चलचित्रको तुलनामा उनीहरू फरक देखिएका छन्।
समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामा आफ्नो पाँचौं चलचित्र ‘नांगो गाउँ’को नेपालसँगै विश्वभर प्रदर्शनको तयारीमा छन्। कलाकार दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङलगायतको अभिनय रहेको चलचित्र राजनीतिक–सामाजिक विधामा निर्माण भएको छ।
‘एउटै मितिमा नेपालसँगै विश्वभर चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ। यो चलचित्रसम्म आइपुग्दा झनै परिपक्क भएको महशुस भएको छ,’ निर्देशक लामाले भने। उनी पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त छन्।
पत्रकार हुँदै चलचित्र लेखक बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद-२’ गत वैशाखमा प्रदर्शन भयो। “प्रसादपश्चात् यसको दोस्रो शृंखला लेखेको हुँ। समय मिल्दा र कार्यशैली मिल्ने समूह हुँदा काम गरिरहेको छु,’ पौडेलले भने। उनी पत्रकारितामा समेत सक्रिय छन्।
लेखक पौडेलझैं पत्रकारितासँगै लेखनमा सक्रिय सामीप्यराज तिमल्सेनाले बेलाबखतमा निर्देशनको प्रस्ताव आउने गरेको बताए। ‘अफर त आइरहेको हुन्छ, तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु,’ उनले भने, ‘अहिले चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ।’
अर्का पत्रकार डब्बु क्षत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन्। अहिले चलचित्र निर्देशन गर्ने उनको तयारी छैन। ‘फिटकिरी’बाट लेखन शुरु गरेका पत्रकार यज्ञश चलचित्रको कथा लेखिरहेका छन्। यस्तै, अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य ‘टीभी सो’को तयारी गरिरहेका छन्। चलचित्र निर्देशन केही समय थाती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ।
‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदीले ‘सतीदेवी’ को छायांकन सम्पन्न गरेका छन्। अभिनेत्री मलिका महतले शीर्ष भूमिका वहन गरेको चलचित्रमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, सुजिता शिवाकोटीलगायतले अभिनय गरेका छन्।