• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सशस्त्र द्वन्द्वकालमा ब्यारेक वरपरका व्यथा


आइतबार, असार २०, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

धम्की खानुपरे पनि सेनाको गलत क्रियाकलाप उठाउन मैले छाडिनँ।

सशस्त्र द्वन्द्वका बेला मानवीय पक्ष ओझेलमा पारिएका थिए। मानवीय पक्षमा ध्यान दिइएको भए धूलो झर्ने ठाउँमा बिरामीको उपचार गर्नुपर्ने अवस्था आउने थिएन। धूलोकै कारण अस्पतालको ल्याबमा समेत गलत रिपोर्ट आउने अवस्था सिर्जना हुने थिएन। एकैक्षणको शारीरिक प्यास मेट्न चेलीबेटी प्रयोग हुने थिएनन्, जसले गर्दा मानसिक पीडा सहेर हिँड्न बाध्य भए। मानवीय संवेदना ध्यान दिइएको भए यस्ता घटनामा संलग्नलाई कारबाही हुने थियो। सुरक्षाकर्मीबाट कुटपिट, धम्की, महिलामथि दुर्व्यवहार जस्ता ज्यादती छँदै थिए।

ज्यादतीमा संलग्नलाई कतै कारबाही भएका खबर पनि सुनिन्थे। मेरो सम्पर्कमा आएका पीडितका पीडकचाहिँ कारवाहीबाट उम्किरहे। भौतिक संरचनामा तिनैले कब्जा जमाए।

पशु कार्यालय, कृषि विकास कार्यालयमा त सेना बसेकै थिए। ती कार्यालयका गाडी प्रयोग गरिरहे। अस्पताल जस्तो संवेदनशील स्थलसमेत कब्जामा थिए। आरूघाट स्वास्थ्य केन्द्र र घ्याम्पेसाल स्वास्थ्यचौकीमा कब्जा जमाए। भवन अभावले स्वास्थ्य संस्था चलाउन सास्ती थियो। यी विषयमा लेखिरहेँ। लेखको सुनुवाइ भएन। प्रशासनले टेरपुच्छर लगाएन। सुनुवाइ नभए पनि सर्वसाधारणको पक्षमा लेख्न छाडिनँ।

‘बिरामीको घाउ चिर्दा माथिबाट धूलो खस्छ। त्यसले गर्दा घाउ निको होलाभन्दा झन् पाक्छ। ल्याबमा धूलो खसेर कहिलेकाहीँ परीक्षणमा गलत रिपोर्ट पनि आउँछ।’ झट्ट सुन्दा सेवाग्राहीले सुनाएको गुनासो जस्तो लाग्ने यस्ता अभिव्यक्ति स्वास्थ्यकर्मी नै दिन्थे । बिरामीको उपचार गर्दा बेहोर्नुपरेका समस्या धेरै सुनाए स्वास्थ्यकर्मीले।

जीर्ण थियो केन्द्र भवन। झट्ट बाहिरबाट हेर्दा स्वास्थ्य संस्थाभन्दा पत्याउनै मुस्किल। वरिपरि फोहोर। त्यहाँको वातावरण देख्दा स्वस्थ मानिस पनि बिरामी होला जस्तो। बजारको बीचमा रहेकाले कोलाहल त्यतिकै। भवन स्वास्थ्य मापदण्डअनुसार थिएन।

केन्द्रले भाडामा लिएका ९ कोठा साना थिए। सिलिङमा थोत्रा जस्तापात छापिएको थियो। जतिबेला पनि मुसा दौडिरहने। खान्द्राङ खुन्द्रुङ गर्दै दिउँसै दौडन्थे। दुईतले भवनको चोटामा कार्यालय र छिँडीमा उपचार गरिन्थ्यो। माटोले तला छापेकाले माथिल्लो तलामा हिँड्दा तल्लोमा धूलो खस्थ्यो।

केन्द्रको आफ्नै भवन थियो। त्यो भवन ०५८ सालदेखि सेनाले कब्जा गर्‍यो। कब्जा जमाएको केन्द्रको भवनमा १५ कोठा थिए। गाउँलेले समेत ९ कोठे भवन बनाइदिए। त्यो पनि कब्जामै पर्‍यो। दी फेमस महिन्द्र दलगणअन्तर्गत रहेको आरूघाट बेसक्याम्पले संकटकाल लाग्नासाथ त्यसमा कब्जा जमायो।

९ कोठाको स्वास्थ्य कार्यालयले महिनामा ४ हजार रूपैयाँ भाडा तिर्थ्यो। त्यति पैसामा केही थप्दा सुविधाजनक घरमा कोठा लिन पुग्थ्यो । यसोसमेत गरिएन। सामान्य कुरामा ध्यान नदिएर स्वास्थ्य जस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिइयो। स्वास्थ्य कार्यालयले ध्यान दिएन।

यसो हुनुमा स्थानीय समस्या भएको भन्दै टार्थे जिल्ला स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख अच्युत लामिछाने। भन्थे, ‘केही गुनासो आएकै छैन।’

केन्द्रका सेवाग्राही जिल्लाकै सबैभन्दा विकट क्षेत्रका हुन्। त्यहाँ कति जनाको गलत उपचार गरियो, यकिन थिएन। स्वास्थ्यकर्मी भन्थे, ‘धूलो खसेकाले गलत रिपोर्ट आयो। त्यसो हुँदा धेरैको उपचार गलत भयो।’ यहाँ आउने चेतनाको कमी भएका बिरामी थिए।

स्वास्थ्य केन्द्र कस्तो हुनुपर्छ भन्ने चेतना कमैलाई हुन्थ्यो। केन्द्रमा धाउने सामान्य सेवाग्राही थिए। सम्पन्नहरु सहरतिरै जान्थे। सामान्य व्यक्तिलाई स्वास्थ्यकर्मी भेटेपछि सबै ठीकै होला भन्ने लाग्नु स्वाभाविक थियो। उपभोक्ता जागरूक भएका छैनन् भनेर सरकारी निकाय चुपचाप बसे। हेलचेक्र्याइँ गरिरहे।

देश द्वन्द्वको दलदलमा फसेको बेला यस्ता मानवीय पक्षमा ध्यान दिइएन। सरकारले युद्धसिवाय अरु सामान्य ठान्यो। उनीहरुको रबैयाको कसैले विरोध गर्न सकेनन्। सर्वसाधारण आवाज उठाउन सक्ने अवस्थामा थिएनन्। आवाज बन्दुकले दबाइएको थियो। जति समस्या भए पनि सहेरै बसे।

मसेल स्वास्थ्यचौकी पनि सेनाकै कब्जामा थियो। कृषि कार्यालयको सानो भवनमा चौकी सारियो। त्यस्तै दुर्दशा थियो त्यहाँ। स्वास्थ्य विभागले सधैँ सेना हट्छ भन्ने आश्वासन दिइरह्यो। त्यही आश्वासनले नयाँ भवन बनाउन पहल नगरेको जवाफ स्वास्थ्य कार्यालयले दिइरह्यो।

आफैँले बनाएका भौतिक संरचना कब्जा गर्दा पनि सहिरहे गाउँलेले।

आफ्ना पाहुना हुन् भनेर व्यवहार गरिरहे। घरमै बोलाएर मकै, भटमास खुवाए। पानी माग्दा मोही दिए। त्यही आफन्तजस्तो व्यवहार गर्ने गाउँलेलाई माओवादीको सुराक गरेको आरोपमा खोजी-खोजी कुटे। महिला धेरै पीडित थिए। छोरीचेलीलाई गिद्धे दृष्टि लगाउँथे। मेडिकल सञ्चालक उदय श्रेष्ठका अनुसार जतिबेला पनि युवतीसँग देखिन्थे। आँखै अगाडि आमा, श्रीमती, दिदी बहिनी बलात्कृत भए पनि सहनुपर्ने अवस्था थियो। दुई युवतीको गर्भपतनसमेत गराएको स्थानीयवासीले सुनाए।

‘बलात्कारका घटना पनि धेरै भए, उदयले सुनाए, ‘त्यसलाई गुपचुप राख्न बाध्य भयौँ।’

ब्यारेक वरपरका ज्यादती धेरै थिए। त्यसमध्ये एउटा उदाहरण लमजुङ पसगाउँको। त्यहाँ माओवादीविरूद्ध प्रतिकार समिति बनाए गाउँलेले। सेना बोलाए। ब्यारेकै स्थापना गरेर बस्यो सेना। ब्यारेक बनाउन गाउँलेले सहयोग गरे। बस्ती सिरानको जमिन दिए। गाउँको सुरक्षा गर्न आएको भनेर ढुक्क थिए। अब समस्या थपियो। छोरीचेलीलाई घाँस, दाउरा गर्न जङ्गल जानसमेत मुस्किल भयो। तिनका अस्मितामा आँखा लागे। ‘मन मिले बिहे गरेर लैजाउ, अरु नाटक नगर’ भने कुनै-कुनै गाउँलेले। केहीले बिहे गरे पनि।

बिहे गर्नेका पनि कतिपयका अर्की श्रीमती थिए। त्यही ब्यारेकका हवल्दार कृष्णप्रसाद पौडेलले एउटी युवतीसँग विवाह गर्ने बहाना बनाए। सम्बन्ध बढाए। सम्पर्क राखे। युवती गर्भवती भइन्। कास्की लेखनाथ नगरपालिका भण्डारढिकका उनी त्रिशूली सरूवा भए। कोही गाउँलेले मन मिले विवाह गरेर लैजाउ भने पनि सबै त्यस्ता थिएनन्।

बाहुनसँग सम्बन्ध राखेको भनेर घरबाटै निकालिदिए। सदरमुकाम बेँसीसहर आइन्। आफ्ना कोही थिएनन् त्यहाँ। बिचल्ली परिन्। खर्च थिएन। त्यहीँ सुत्केरी भइन्। छोरी जन्माइन्।

पौडेललाई झिकाउन सेनाको ब्यारेक धाइन्। टेरपुच्छर लगाएन सेनाले। उनको बिजोग देखेर बच्चा पाल्छु भन्ने धेरै भेट्टिए। मुटुका टुक्रा मानिने सन्तान त्यति सजिलै त्याग्न किन सक्थिन् ? दिइनन्। ‘बाबु ठेगान भएको छ, पसगाउँका पूर्वगाविस अध्यक्ष बलराम गुरूङले सुनाए, ‘लेखनाथको पौडेल रहेछ, झिकाइदिन सेनालाई अनुरोध गर्‍यौँ। तर सुन्दैन।’

धेरै घटना थिए यस्ता। त्यसमध्ये अर्को एउटा घटना, जसमा सेनाले शारीरिक सम्पर्ककै लागि एउटी महिलासँग नाटकीय व्यवहार गरेर पूरै परिवारलाई पीडित बनाइदिए। जीवनभर भुल्नै नसक्ने मनोवैज्ञानिक समस्या सिर्जना गरिदिए।

अर्को घटना गोरखाकै। तान्द्राङ गाविसकी एउटी महिला लमजुङबाट घर फर्कंदै रहिछन्। बसमा सँगैको सिटमा एकजना युवा थियो। ऊसँग परिचय भयो। घर धादिङको सल्यानटार बतायो। छेउछाउकै भनेपछि उनलाई छिमेकी जस्तो लाग्यो। मोबाइल नम्बर साटासाट गरे। कुराकानीको क्रम बाक्ल्यो। ऊ सैनिक थियो। आरूघाट बेसक्याम्पबाट लक्ष्मीबजारस्थित दी फेमस महिन्द्र दलगणमा भर्खरै सरूवा भएको रहेछ।

महिलाको श्रीमान् प्रहरी रहेछन्। दरबन्दी लमजुङमा। श्रीमान् भेटेर आउने क्रममै त्यो सैनिकसँग परिचय भएछ। महिला तान्द्राङमै थिइन्।

घरमा तलब लगिदेउ भनेर उसले ब्यारेक छेउ बोलाएछ। श्रीमान्लाई पनि भेट्न गोरखा बजार बोलाइछिन्। भान्जालाई पनि ब्यारेकै लिएर गइन्। एक्लै आउनु पर्दैनथ्यो भनेर हपार्‍यो उसले। केहीबेर रिसायो। भान्जा परै बसे। रिसाउँदै रिसाउँदै गेटकै छेउको होटलमा लग्यो।

भान्जा बाहिर कुरेका कुर्‍यै भए। धेरैबेर नआएपछि भान्जा फर्के। सैनिकले छाडेन। मोबाइल स्विच अफ गर्न लगायो। रात त्यहीँ कटाइन्। रातभर जबरजस्ती गरिरह्यो।

श्रीमान् होटलमा रातभर कुरिरहे। फोन सम्पर्क गरे। मोबाइल अफ भएकाले सम्पर्क भएन। बिहानै पति भए ठाउँमा गइन्। कहाँ गएको भनेर सोधे श्रीमानले। केही बोलिनन्। रोएरै टारिदिइन्। श्रीमानलाई लमजुङ फर्कन हतार थियो। फर्किए। महिला घर गइन्। घटना लामो समय लुकाइन्। घटना लुकाउँदा उनलाई तनाव भएछ। घाँस काट्न जाँदा लडिछन्। पतिले काठमाडौँ लगेर उपचार गराए। बेहोस जस्तै थिइन्। बरबराउन थालिन्।

बेहोसीमै सेनासँग रात कटाएको खुलासा गरिदिइछन्। परपुरूषको बात लाग्यो अब। गाउँमा हल्ला फैलियो। उनलाई छाड्ने सल्लाह भयो। छाड्ने कुरा माइतीमा पुग्यो। ज्वाइँ असल थिए।

माइतीले माया मार्न चाहेन। साली बिहे गर्न आग्रह गरे। दोधार भयो उनलाई। साली बिहे गर्ने पनि टुङ्गो लागेन। समस्या बढ्यो। प्रहरी कार्यालयमा श्रीमती लिएर आए। जबर्जस्ती गर्ने सैनिकले पनि सही नाम भनेनछ। ब्यारेकमा सबैलाई देखाइदिए मान्छे चिन्छु भन्छिन्।

घटना धेरै पुरानो भइसकेको थियो। पुरानो घटना भएकाले त्यसो गर्न सेनाका कर्णेल सुवर्ण खड्काले मानेनन्। होटलवालालाई प्रहरीले पक्रियो। सेनाले बेलाबेलामा युवती लिएर आउने गरेको होटलवालाले स्वीकारे। महिलाले दूधे बालक घरमै छाडेर आएकी रहिछन्।

तीन दिन भइसक्यो घर नगएको। दूध गान्निएछ। चर्क्यो भन्दै रोइरहन्थिन्। जिल्ला प्रहरी प्रमुख थिइन् गीता उप्रेती। ‘दोषीलाई कारवाहीको प्रक्रिया अघि बढेको छ, उप्रेतीले ती महिलाका पतिलाई सम्झाइन्, ‘चाँडै हुन पनि सक्छ, ढिला हुन पनि सक्छ। त्यसलाई कारवाही हुन्छ। गर्दै गरौँला। श्रीमती परिबन्दमा परेकी हुन्। तिमीले स्वीकार गर्दिन भन्न पाउँदैनौँ। पीडितलाई झन् पीडा दिनुहुँदैन। पहिला यसलाई घर लैजाउ।’

देख्दै सज्जन थिए ती प्रहरी। पत्नीलाई घर लैजान सहमत भए। लगे पनि बेलाबेलामा तिनले श्रीमतीसँग त्यो घटनाबारे कुरा गरिरहन सक्नेछन्। अब बेलाबेला मरेतुल्य भएर बाँच्नुपर्नेछ ती महिलाले। एउटा जिम्मेवार सैनिकको गैरजिम्मेवार व्यवहारले एउटा परिवारको घर तहसनहस भयो। उसको क्षणिक प्यास मेटाउन एउटी महिलालाई जीवनभर बिर्सन नसक्ने चोट पारिदियो।

सेना सबै नराम्रा थिएनन्। गाउँलेलाई पीडित बनाउने सेनाको नीति पनि होइन। एक जना गल्ती गर्थ्यो, सिङ्गो संस्था बदनाम गराउँथ्यो। त्यस्तो व्यक्तिलाई कारबाही गरे गलत प्रवृत्ति निरूत्साहित हुने थिए। फेरि त्यस्ता घटना दोहिरिन पाउँदैनथे। तर त्यस्तो भएन। यस्ता दुर्व्यवहारलाई गम्भीर प्रकृतिको अपराध मानिएन। कारवाही गर्नु साटो जोगाउन, लुकाउनतिर लागे। त्यही भएर प्रवृत्ति रोकिएन। युद्धले धेरै पीडा महिलालाई दियो।

यस्ता पीडित धेरै छन् ब्यारेक वरिपरि।

(पत्रकार तथा लेखक न्यौपानको पुस्तक एम्बुसमा ६ वर्षबाट)

आइतबार, असार २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.