काठमाडौं- घटस्थापनादेखि लिएर तीनवटा दिनहरू विशेष मानिन्छन्– महाअष्टमी, महानवमी र विजया दशमी।
दशमीका अघिल्लो दिन महानवमी। भगवती दुर्गादेवीले नौवटा स्वरुप लिएको दिनलाई महानवमी भनिन्छ। १ हजार १ देवीहरूमध्ये मूल नौ देवीहरूको स्वरुपलाई महानवमी भन्ने गरिएको किंवदन्ती रहिआएको छ।
महानवमी तिथिको विशेष दिन हो। नौ वटी भगवतीको नौ रातसम्म गरिने पूजा, आराधना नै नवमी हो। यसदिन विशेषगरी नवदुर्गा भगवतीको पूजा गरिन्छ।
यससँगै यसदिन नौ प्रकारका फूल, फल, नौ कन्यालाई पूजा गरिन्छ। हवन आदि कर्म (विर्सजनबाहेकका कर्महरू) गर्ने दिन पनि नवमी हो।
यसदिन चोखो वस्त्र फेरी नयाँ माला, नयाँ वस्त्र, खानेकुरा आदि जम्मा गरेर उत्सवका रूपमा नवमी पर्व मनाइन्छ। अनुष्ठानका रूपमा बसेकाले खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ। चोखो खाने, पवित्र भएर बस्ने र नवमीको दिन विशेष पूजाअर्चना गरेर दशमीको तयारीमा लाग्नुपर्छ।