बैतडी- जिल्लाको पाटनमा सम्पन्न दोस्रो संस्करणको पाटन प्रिमियिर लिग (पीपीएल–२) क्रिकेटको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालयले जितेको छ।
फाइनलमा ग्वाल्लेक क्रिकेट क्लबलाई चार विकेटले हराउँदै भीमदत्तले उपाधि हात पारेको हो। ग्वाल्लेकले दिएको २०३ रनको विजय लक्ष्य भीमदत्त शिक्षालयले १८.४ ओभरमा भेट्टायो। विजय गराउन शतकीय पारी खेल्ने क्रममा सुमित बुडालले १२८ रनको योगदान गरे।
पाटनस्थित श्रीकृष्ण माविको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०२ रन बनायो। टिमका लागि नवीन चन्दले ६२ र महेश शाहले ६० रन जोडे। भीमदत्त शिक्षालयका राहुल चन्दले दुई विकेट लिए।
उपाधिसँगै भीमदत्त शिक्षालयले एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ग्वाल्लेकले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पायो।
यसैबीच, ग्वाल्लेकका दीपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भए। बोहराले ११ हजार १११ रुपैयाँ म्यान अफ द सिरिजवापत र बेस्ट ब्याट्सम्यान घोषित भएवापत पाँच हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी ग्वाल्लेककै दीपक जोशी बेस्ट बलर घोषित भए। जोशीले पाँच हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।