कुवेत- कुवेतमा भएको निर्वाचनमा विपक्षले विजय हासिल गरेको छ।
निर्वाचन परिणामअनुसार नेसनल एसेम्ब्लीमा महिला पनि निर्वाचित भएका छन्। कुवेत खाडीको एक मात्र देश हो, जहाँ एक पूर्ण निर्वाचित संसद छ।
तथापि, त्यहाँ पछिल्लो १० वर्षमा ६ पटक चुनाव भइसकेको छ। समाचार एजेन्सी एएफपीका अनुसार ५० सिटको संसदमा विपक्षी उम्मेदवारहरूले २८ सिटमा जित हासिल गरेका छन्।
२० जना पूर्वसांसदले चुनाव हारेका छन्, जसमा तीन पूर्वमन्त्री पनि छन्। इराक, साउदी अरेबिया र इरानसँग सीमा जोडिएको कुवेत विश्वको सबैभन्दा ठूला तेल निर्यातक मुलुकमध्ये एक हो।
कुवेतले सन् १९६२ मा संसदीय शासन प्रणाली अपनाएको थियो। त्यसयता १८ पटक संसदको चुनाव भइसकेको छ। त्यसबाट कुवेतमा राजनीतिक अस्थिरता कति छ भन्ने प्रष्ट हुन्छ।
सन् २०२० मा निर्वाचित कुवेती संसदमा एक पनि महिला सदस्य निर्वाचित भएका थिएनन्। तर, यसपटक पूर्वमन्त्री बुसहरी र आलिया अल–खालेदाको जितबाट नेसनल एसेम्ब्लीमा महिलाको उपस्थिति सुनिश्चित भएको छ।
कुवेती संसदमा कहिल्यै महिला सदस्यको सहभागिता चार जनाभन्दा बढी भएको छैन। कुवेतको इतिहासमै पहिलोपटक यसपालि दुई उम्मेदवारले जेलबाटै चुनाव जितेका छन्।