काठमाडौ- ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर साना तीन दलबीच चुनावी सहकार्य घोषणा भएको छ।
सहकार्य गर्नेमा नेसनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी छन्। स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेसनलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनाव चिह्न लिएर चुनावी तालेमल गर्ने निर्णय भएको हो।
देशलाई सुशासन र समृद्धि प्राप्त गर्न प्रणालीगत सुधारका लागि वैकल्पिक राजनीतिक शक्तिको उदय अनिवार्य भएको उनीहरूको ठहर छ। मुलुकमा आफन्तवाद, नातावाद, कृपावाद, गृहवाद र टुटफुटवाद बढ्दै गएको उल्लेख गर्दै यसको उचित व्यवस्थापन गरी सुशासन कायम गर्न वैकल्पिक राजनीतिक शक्तिको उदय निर्विकल्प बनेको उनीहरूको भनाइ छ।
अभियानले स्वतन्त्र र वैकल्पिक अभियन्ता तथा शक्तिहरुसँग पनि एकता गर्दै नेपालको राजनीतिमा सशक्त तेस्रो ध्रुव बन्दै पहिलो संसदीय दलको रूपमा स्थापित हुने दिशामा सहकार्यको लागि आह्वान गरेको छ।